नेविसंघ स्थापना दिवस : किन छ भद्रगोल ?

हरेक जनआन्दोलनको अग्रपंक्तिमा देखिएको नेविसंघले स्थापनाको ५० वर्षपछि आफ्नै संगठनको निर्वाचनसमेत गर्न सकिरहेको छैन ।
मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शनिबार ५१औं स्थापना दिवस मनाइरहँदा विधानतः गर्नुपर्ने महाधिवेशनको समय घर्केको एक वर्ष ९ महिना भएको छ।

नेविसंघ स्थापना दिवस : किन छ भद्रगोल ?

हरेक २ वर्षमा गर्नुपर्ने भए पनि नेविसंघको महाधिवेशन नभएको ३ वर्ष ९ महिना लागेको छ। २०७३ भदौ २ गते ११औं महाधिवेशनबाट नैनसिंह महर अध्यक्षमा निर्वाचित भएपछि अर्को महाधिवेशन हुन सकेको छैन।

२०२७ वैशाख ६ गते कांग्रेसका तत्कालीन कार्याबाहक सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघको पहिलो महाधिवेशनको काठमाडौंको स्वयम्भूमा विधिवत् उद्घाटन गरेका थिए। व्यवस्था परिवर्तनका लागि भएका सबै आन्दोलनको अग्रपंक्तिमा देखिएको नेविसंघ अहिले आफैं कमजोर अवस्थामा छ। संयोग नै भन्नुपर्छ संगठन यो अवस्थामा पुग्दा माउपार्टी कांग्रेसका सभापति नै नेविसंघको नेतृत्व गर्दै पार्टी राजनीति सुरु गरेका व्यक्ति छन्। नेविसंघका दोस्रो अध्यक्ष शेरबहादुर देउवा कांग्रेसको तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। उनीमात्रै होइन, अहिले कांग्रेसको केन्द्रीय समितिमा नेविसंघका १३ पूर्वअध्यक्ष अटाएका छन्। नेविसंघका पूर्वपदाधिकारी र केन्द्रीय सदस्य गरी ३२ जनाले कांग्रेस केन्द्रीय समितिमा स्थान बनाएका छन्।

तर, गर्विलो इतिहास भएको नेविसंघलाई चुस्तदुरुस्त बनाउन र पार्टीको नर्सरीलाई उर्वर बनाउन नेताहरुले ध्यान दिएका छैनन्।

कांग्रेसको ७ सदस्यीय पदाधिकारीमा नेविसंघका तीन पूर्वअध्यक्ष छन्। सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मा। महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत पनि नेविसंघबाटै कांग्रेसको राजनीतिमा आएका हुन्। खड्का र महत नेविसंघको महामन्त्रीसम्म भए। देउवा दोस्रो, निधि तेस्रो र शर्मा आठौं महाधिवेशनबाट नेविसंघको अध्यक्ष बनेका थिए। ७ सदस्यीय पदाधिकारीमा ५ जना नेविसंघको नर्सरीबाटै हुर्किएका भए पनि उनीहरुलाई आफूले राजनीति सुरु गरेको संगठनको कत्ति पनि चिन्ता देखिन्न। कांग्रेसको सभापतिपछिको वरीयताका बरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघका संस्थापक हुन्। तर, नेविसंघ यही बेला सबैभन्दा कमजोर भएको छ।

नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे लोकतन्त्रको सिद्धान्तको रट लगाउने तर व्यवहार र आचरण त्यसअनुरुपको नदेखाउँदा नेविसंघ यो अवस्थामा पुगेको बताउँछन्। ‘लोकतन्त्र भनेको सिद्धान्त होइन, व्यवहारले सिद्ध गर्ने व्यवस्था हो। हाम्रोमा सिद्धान्तको रट लगाएपछि पुगिहाल्छ,’ घिमिरेले कान्तिपुरसित भने, ‘व्यवहार र आचरण त्यो अनुरुपको हुनुपर्छ भन्नेमा हाम्रो ध्यान छैन। विधानको पालनामा सबैभन्दा ठूलो हाम्रो उदासीनता हो। सिद्धान्तले लोकतन्त्रवादी भयौं, व्यवहार र आचरणले लोकतन्त्रवादी भएनौं। विधानमा एउटा व्यवस्था गर्छौं, त्यसको पालनै गर्दैनौं। यही समस्यामा नेविसंघ गुज्रिएको छ।’

पञ्चायतकालमा कांग्रेसका नेताहरुलाई जोगाउने, २०३६ सालमा जनमत संग्रहको पक्षमा माहोल सिर्जना गर्ने, २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा अग्रपंक्तिमा देखिएको नेविसंघ अहिले आफैंभित्र लोकतन्त्रको खोजीमा छ । संगठनलाई यो अवस्थामा पुर्‍याउनुमा नेविसंघबाट राजनीति सुरु गरी अहिले कांग्रेसको नेतृत्वमा पुगेका नेताहरु जिम्मेवार रहेको विश्लेषकहरु बताउँछन्। नेविसंघमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन नदिएर आफ्नो 'यस म्यान' खोज्दा नेविसंघले आफ्नो साख गुमाएको छ। एक नेता भन्छन्, ‘प्रतिस्पर्धाबाट नेतृत्वमा जो आउँछ आउँछ भनेर छोडिदिएको भए संगठन बलियो बन्थ्यो। तर, नेताहरुले कुन बेला महाधिवेशन गर्दा आफ्नो यस म्यान नेतृत्वमा पुग्छ भनेर जोखाना हेर्न थाले। त्यही कारण संगठनको यो हाल भएको छ।’

वर्तमान कांग्रेस केन्द्रीय समितिमा नेविसंघका पूर्वअध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठोर, कल्याण गुरुङ र प्रदीप पौडेल छन्। नेविसंघको पदाधिकारी र केन्द्रीय सदस्य बनेर कांग्रेस राजनीतिमा प्रवेश गरेका डा. रामशरण महत, उमा रेग्मी, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, नवीन्द्रराज जोशी, हृदयराम थानी, महेन्द्र यादव, चन्द्र भण्डारी, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, गगन थापा, बद्री पाण्डे पनि केन्द्रीय समितिमै छन्।

नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालासहित अन्य पूर्वअध्यक्ष महेन्द्र शर्मा, केशव सिंह, रञ्जित कर्ण, नैनसिंह महरमात्रै कांग्रेस समितिमा अटाउन सकेका छैनन्। तर, कोइरालाबाहेक अन्य नेता भने कांग्रेसको राजनीतिमै सक्रिय छन्। सिंगो कांग्रेसभित्र नेविसंघमै सक्रिय राजनीति गरेर आएका नेताको बोलबाला हुँदा पनि नेविसंघ किन यो अवस्थामा पुग्यो त?

‘विद्यार्थी संगठनहरुले आफ्नो वर्गीय मुद्दा, क्रान्तिकारिता बिर्सिए। पछिल्लो चरणमा सत्ताको पिछलग्गु भएर मातृपार्टीले जसरी चलाए पनि चल्न तयार भए,' नेविसंघका पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, 'यो विद्यार्थी आन्दोलनको हविगत हो। यसको प्रभाव नेविसंघमा पनि पर्‍यो।’

२०७५ माघ २८ गते महरले राजीनामा दिएपछि नेतृत्वविहीन बनेको नेविसंघको तदर्थ समितिमा गत माघ १६ गते राजीव ढुंगानालाई संयोजक बनाइएको छ। ढुंगानालाई ६ महिनामा महाधिवेशन गरेर निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने कार्यादेश दिइएको छ। तर, साढे २ महिना बितिसक्दासम्म महाधिवेशनको प्रक्रिया सुरु गर्ने त परको कुरा, समितिले पनि पूर्णता पाउन सकेको छैन। तदर्थ समितिका महामन्त्री दीपक भट्टराई पार्टीले तोकेको समयमा महाधिवेशन गर्न विश्वभर फैलिएको कोरोना महामारीले गर्दा सम्भव नहुने बताउँछन्। उनी भन्छन्, ‘महामारीका कारण पार्टीले दिएको समयसीमाभित्र महाधिवेशन हुन असम्भव भयो। यद्यपि संकट चाँडै टर्‍यो भने अझै पनि हामी प्रयासरत रहन्छौं।’

'विधानको पालना हुन सकेन'

गुरुराज घिमिरे, पूर्वअध्यक्ष, नेविसंघ

पञ्चायती कालरात्रि र निरंकुशताको बर्बर कालखण्डमा नेविसंघ जन्मियो। यसका मुख्य तीन उद्देश्य- देशभरका प्रजातन्त्रवादी विद्यार्थीलाई संगठित गर्ने, नेपालमा प्रजातन्त्रको पुनःस्थापना गर्ने र सामुदायिक हितका लागि आफ्नो आन्दोलन अगाडि बढाउने थिए। यीमध्ये हामीले प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनलाई प्राथमिकता दियौं। त्यो एजेन्डामा हामी सफल भयौं। २०४६ सालको आन्दोलन सफल भएपछि प्रजातन्त्र आयो। पार्टी शासनमा पुग्यो। त्यसपछि नेविसंघ अलमलियो। त्यो कालखण्डमा वर्गीय र सामुदायिक कुरालाई बढाउनमा केन्द्रित गर्नुपर्ने भए पनि हामी चुक्यौं। राजनीतिक लडाइँमा अग्रणी भूमिका हामीले निभायौं। तर, राजनीतिक परिवर्तनपछि आफ्नो भूमिकामा प्रभावकारी प्रदर्शन गर्न सकेनौं। अन्तिमपटक नेविसंघले ०५९ देखि ०६२ सम्म अग्रणी र प्रभावकारी भूमिका निभायो। राजनीतिक दलहरुलाई हामीले एकैठाउँ ल्याउन सक्यौं। एक प्रकारले राजनीतिक आन्दोलन उठ्नै नसकेको अवस्थामा नेविसंघकै कारण आन्दोलन अगाडि बढ्यो र गणतन्त्रसम्म पुग्यो।

त्यसपछिको हाम्रो दायित्व लोकतन्त्रवादी विद्यार्थीहरुलाई आफ्नो संस्थामा संगठित गर्ने थियो। तर, त्यो मुद्दालाई अगाडि बढाउने विषयमा सशक्त हुन सकेका छैनौं। मुलुकको राजनीति पनि सही दिशातर्फ अगाडि बढ्न सकिरहेको छैन। यी विषयमा चित्त बुझाउने खालको सशक्त भूमिका विद्यार्थी संगठनले निभाउन सकेका छैनन्। उनीहरु यी विषयमा ज्यादै नै कमजोर छन्। त्यसमा नेविसंघ पनि अपवाद छैन।

नेविसंघ र कांग्रेसको मुख्य समस्या विधानको पालना गर्न नसक्नु हो। लोकतन्त्र भनेको सिद्धान्त होइन, व्यवहारले सिद्ध गर्ने व्यवस्था हो। हाम्रोमा सिद्धान्तको रट लगाएपछि पुगिहाल्छ। व्यवहार र आचारण त्यो अनुरुपको हुनुपर्छ भन्नेमा ध्यान छैन। विधानको पालनामा सबैभन्दा ठूलो उदासीनता नेविसंघमा छ। हामी सिद्धान्तले लोकतन्त्रवादी भयौं, व्यवहार र आचरणले त्यसो हुन सकेनौं। विधानमा एउटा व्यवस्था गर्छौं, त्यसको पालनै गर्दैनौं। मुख्य समस्या यही हो।

यो कमजोरी पुरानो पुस्तामा मात्र होइन, नयँ पुस्ताका विद्यार्थीमा पनि देखिन्छ। पार्टीको पाठशालाले पनि जे गरे पनि हुन्छ भन्ने सिकाइरहेको छ। हामीमा निष्ठाको कमी छ। नेविसंघ नेतृत्व उत्पादन गर्ने थलो हो। नेविसंघको हरेक अधिवेशनबाट नयाँ नेता उत्पादन हुन्छन्। ती नेता पार्टीलाई हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी नेविसंघको हो। यो कार्यमा कांग्रेस त चुकेको थियो नै, नेविसंघमा रहेको नयाँ पुस्ता पनि चुकेको छ।

प्रकाशित : वैशाख ६, २०७७ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?