कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्युयोर्क र मेरिल्यान्डमै शव व्यवस्थापन कठीन

दिनेशजंग शाह

न्यूयोर्क — झण्डै दशकयता न्यूयोर्क बस्दै आएका ४० वर्षिय छिरिङ लामा (नाम परिवर्तन) चैत तेस्रो साता आफ्नै कोठामा मृत भेटिए । प्रहरीले उनको शव जमैंका हस्पिटल सेन्टरमा लग्यो । परीक्षणपछि शवलाई ‘क्रोवीई’ नामको शव घरमा पुर्‍याइयो ।

न्युयोर्क र मेरिल्यान्डमै शव व्यवस्थापन कठीन

पुर्खौली घर मुस्ताङ भएका लामाबारे सोधपुछ गर्न वा चासो राख्न कोही पनि नआएकाले शव व्यवस्थापन हुन सकेको छैन ।

‘सोधखोज जारी छ । अहिलेसम्म परिवार वा आफन्तबारे केही पत्ता लागेको छैन’, नेपाली वाणिज्य दूतावासका कार्यवाहक कन्सुलेट पुष्प भट्टराईले कान्तिपुरसँग भने, ‘मृतकबारे नेपालबाट पनि केही खबर आको छैन ।’ अबको केही दिनभित्र सम्बन्धित कसैले सम्पर्क नगरे, न्यूयोर्क सहरको स्थानीय सरकारले लामाको शवको व्यवस्थापन गर्नेछ ।

डेढ शताब्दीयताको चलनमा, आर्थिक रुपमा विपन्न एवं दाबी नगरिएका शवहरु दफन गर्नुपर्ने अवस्थामा न्यूयोर्क नजिकै ‘हार्ड आईल्याण्ड’को पोर्टस फिल्डमा गाडिनेछ । कोभिड–१९ को संक्रमणले आक्रान्त न्यूयोर्कको सोही स्थानमा दैनिक दर्जनौं शव गाडिँदै आएको छ । भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै शवलाई परिवार वा आफन्तलाई हस्तान्तरण गर्न सरकारले निषेध गरेको छ । तोकिएको शुल्क ११ सय डलर तिरेपछि परिवारले भनेअनुरुप शवको व्यवस्थापन एवं भिडियो प्रविधीमार्फत शव व्यवस्थापनलाई प्रत्यक्ष देखाउने गरिन्छ ।

साताअघि घरबारबिहीनका लागि व्यवस्था गरिएको ‘सेल्टर’ मा बस्दै आएका राई थरका एक अर्का नेपालीको स्थानीय अस्पतालमा निधन भयो । उनको अमेरिकी अध्यागमनको कार्डमा जन्म देश नेपाल भनेर उल्लेख छ । तर, नेपाली पासपोर्ट भने भेटिएको छैन । न परिवारको अत्तोपत्तो छ, न कसैको दाबी नै छ । यसबारेमा परिवार पहिचान गर्न पहल भईरहेको र पछिल्लो समय भारतको सिलिगुढीबाट मृतक परिवार सम्पर्कमा आएको जानकारी वाणिज्य दूतावासले दिएको छ ।

त्यसैगरि, १० दिनअघि ५० वर्षिय एक उबर चालकको कोभिड संक्रमणका कारण निधन भयो । दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका र काठमाडौं मूलघर भएका उनको शव अन्तिम संस्कार गर्न पनि परिवारको अनुमतिको पखाईमा छ । परिवारले डिसीस्थिती नेपाली दूतावासलाई शव व्यवस्थापन गर्न मन्जुरी पत्र लेखेको छ । तर, दूतावासले त्यसो गर्न नमिल्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणले हरेक दिन सयौंको मृत्यु भईरहदा अस्पतालबाट शवगृहसम्मै अत्यधिक चाप छन् ।

मेरिल्याण्ड राज्यका नेपाली मूलका हाउस डेलिगेट ह्यारी भण्डारीले भने, ‘शवको व्यवस्था गर्न परिवारको अनुमति नितान्त जरुरी छ । त्योबेगर केही गर्न सकिने अवस्था छैन । केही खबर नभए मात्र सरकारले आफनै हिसाबले व्यवस्थापन गर्छ ।’

सरकारी व्यवस्थापन पनि तथ्यांकमा राखिने र सम्बन्धित परिवारले चाहेको अवस्थामा सरकारी अनुमति लिएर शव उत्खनन गर्न पाउने अमेरिकी कानुनी व्यवस्थासमेत रहेको छ । नेपालबाट परिवारले शव व्यवस्थापनको खर्च बेहोर्न गाह्रो रहेको बताउने डेलिगेट भण्डारीका अनुसार अनुमति चाँडै आएमा अमेरिकी सामाजिक संस्थाको चन्दा सहयोगमा पनि शव व्यवस्थापन गर्न सकिन्छ ।

प्रकाशित : वैशाख ६, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?