कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उदयपुरकै अर्को मस्जिदमा पनि बसेका थिए संक्रमित

संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रस्त
डिल्लीराम खतिवडा

उदयपुर — भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ जना कोराना संक्रमित यसअघि सिवाईस्थित मस्जिदमा बसेर आएको पाइएको छ । उनीहरू सिवाईमा ५ दिन बसेका हुन् ।

भुल्केमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोना पुष्टि भएको थियो । चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित मुस्लिम बस्तीमा अहिले पनि ६ जना भारतीय छन् । उनीहरू स्थानीय मस्तकिम मियाँकोमा पाहुना आएका हुन् । उनीहरू भारतको कुनौली आसपासका रहेको स्थानीयले बताए ।

संक्रमितहरूसँग उनीहरूको पनि हेलमेल रहेको भन्दै स्थानीयले संक्रमणको जोखिम बढेको औंल्याएका छन् ।

पोजिटिभ देखिएका १२ सहित १५ जना लकडाउन हुनुअगावै सिवाईमा बसेर भुल्के गएको वडाध्यक्ष देवनारायण चौधरीले बताए । उनका अनुसार पाहुना आएका ६ जनासँग उनीहरूको सम्पर्क भएको छैन । तर, मस्जिदमा रहेका एक मौलाना र अर्का एक सहयोगीसँग भने उनीहरूको हेलमेल भएको थियो ।

नगरपालिकाले पाहुना लागेका भारतीयलाई पनि राहत दिएको चौधरीले बताए । राहतपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा राखिएको उनको दाबी छ ।

सिवाईस्थित मस्जिद गाउँको बीचमा छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरसँगै पश्चिमतर्फ जोडिएको मस्जिदमा मुस्लिमसहित अन्य समुदायको बस्ती छ । त्यसैले त्यो क्षेत्र पनि कोरोना संक्रमणको जोखिममा रहेको स्थानीयले बताए । गाउँमा बाहिरबाट मानिसहरू आउँदा पनि प्रहरी र स्थानीय प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ ।

प्रकाशित : वैशाख ६, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?