कोरोना उपचार केन्द्रमा यस्तो छ तयारी, संक्रमित १२ जनालाई विराटनगर ल्याइँदै

मोरङ — उदयपुरको एक मस्जिदमा भेटिएका कोरोना भाइरस संक्रमित १२ जनालाई उपचार र रेखदेख गर्ने सबै तयारी पूरा भएको छ । कोरोना संक्रमितकै उपचार गर्न भनेर विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रमा चिकित्सक र अरु जनशक्ति तयार अवस्थामा छन् ।

कोरोना उपचार केन्द्रमा यस्तो छ तयारी, संक्रमित १२ जनालाई विराटनगर ल्याइँदै

प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीका अनुसार संक्रमितको उपचारको सबै तयारी पूरा भएको छ । संक्रमितहरुलाई उदयपुरबाट एम्बुलेन्समा राखेर ल्याइँदै गरेको उनले बताए । कोरोना उपचार केन्द्रमा आइसकेपछि थप केही परीक्षणका प्रक्रिया हुने जनाइएको छ ।

संक्रमित व्यक्तिहरुको लक्षणअनुसार उपचार गरिने केन्द्रका चिकित्सकले बताएका छन् । जनरल वार्ड, आईसीयु, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने जनाइएको छ । संक्रमितको अवस्था कस्तो छ र कुन चरणबाट उपचार थालिने भन्ने उनीहरु आएपछि हुने थप परीक्षणबाट थाहा हुने चिकित्सकको भनाइ छ ।

उक्त केन्द्रका डा. डिन आचार्यका अनुसार प्रारम्भिक अवस्थाकालाई त्यहीअनुसार उपचार प्रक्रिया सुरु गरिने छ । अलि सिकिस्त अवस्था भए अक्सिजन दिएर उपचार गरिने अनि अझ समस्या भए भेन्टिलेटरसहितको आईसीयु कक्षमा राखेर उपचार र रेखदेख गरिने छ ।

कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. संगीता मिश्राले ६/६ घण्टाको डियूटी बनाएर २४ सै घण्टा चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था गरेको बताइन् । प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा अघिल्लो शुक्रबारदेखि विराटनगरमा कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनमा आएको हो । विराटनगर १० स्थित नेशनल ट्रेडिङको भवनलाई मर्मत सम्भार गरी तयार पारिएको हो ।

अस्पताल सय शय्याको छ । १० वटा आईसीयु र १० वटा भेन्टिलेटरसहितको शय्यासमेत छ । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको छ । सीसी क्योराको मद्दतले कन्ट्रोल रुमबाट बिरामीको निगरानी गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ । मुख्यमन्त्री शेरधन राईले उक्त अस्पतालमा कोरोना संक्रमितलाई मात्रै उपचार गरिने बताए ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालमा स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारी खटाएर सञ्चालन गर्ने जिम्मेबारी कोसी अस्पताललाई दिइएको बताए । ‘अस्पतालभित्र कोरोना संक्रमित बिरामी र स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीमात्रै प्रवेश गर्न पाउने छन्,’ उनले भने ।


विराटनगर १० स्थित नेशनल ट्रेड्रिङ भवनमा स्थापना गरिएको कोरोना अस्पताल उपचार केन्द्र । तस्बिर : देवनारायण साह/कान्तिपुर


प्रकाशित : वैशाख ५, २०७७ २३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?