१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चीनका लागि नवनियुक्त राजदूत पाण्डे भन्छन् - 'राष्ट्रियहितलाई केन्द्रविन्‍दुमा राखेर काम गर्छु'

जगदीश्वर पण्डे

काठमाडौँ — राष्ट्रपति विद्यादेवि भण्डारीले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेकी छन् ।

चीनका लागि नवनियुक्त राजदूत पाण्डे भन्छन् - 'राष्ट्रियहितलाई केन्द्रविन्‍दुमा राखेर काम गर्छु'

सरकारको सिरफारिसमा संसदीय सुनुवाई गरी अनुमोदित भएका पूर्व परराष्ट्रमन्त्री पाण्डेलाई राष्ट्रपति भण्डारीले शुक्रबार नियुक्त गरेकी हुन् ।

सरकारले गत फागुन १८ मा तत्कालिन राजदूत लीलामणी पौडेललाई फिर्ता गरी पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९ )को संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री खरिद देखि चिनको सहयोग लिनुपर्ने बेलामा नेपाली राजदूत पद भने खाली थियो ।

नवनियुक्त चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेसँगको कुराकानीः

राजदूत भएर जिम्मेवारी सम्हाल्न जाँदै हुनुहुन्छ, अहिलेसम्मको नेपाल–चीन सम्बन्धलाई कसरी हेर्नु भएको छ?

हामी दुई घनिष्ठ छिमेकी हौं । हामी बीचमा कुनै समस्या छैन । यही समस्यारहित सम्बन्धलाई निरन्तरता दिने हो । यस्तोमा एकले अर्कोलाई अझै बुझ्ने । विभिन्‍न विषयहरुमा साझा धारणा बनाउने । एकले अर्कोलाई आदर गर्ने । अन्तर्राष्ट्रिय क्षेत्रमा समान धारणाहरु बनाउने । त्यहि हिसाबले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हामी (दुई मुलुक) अगाडि बढ्ने हो । यी सबै काम गर्दा मुलुकको राष्ट्रियहितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने ।

चीन अहिले आर्थिक र भूराजनीतिक रुपमा संसारकै पहिलो शक्तिको रुपमा पुग्‍न लागेको छ, तपाईंको कार्यकालमा चीनबाट नेपालले अझ के आशा गर्न सक्छ ?

नेपालको अहिले परराष्ट्र नीतिमा सबैसँग मित्रता रहने र कोहिसँग पनि शत्रुता नरहने भन्ने छ । हाम्रो सबै मुलुकसँग मित्रतालाई कायम दिने हो । त्यसमा पनि चीनसग हाम्रो सम्बन्ध भनेको ऐतिहासिक कालदेखि रहदै आएको छ । हामीले इतिहासलाई जहिले पनि ध्यानमा राख्नु पर्छ । शान्ति र समृद्धिलाई चाहि हामीले अगाडि बढाउनको निम्ति काम गर्नु पर्छ ।

चीनले गरेको आर्थिक विकासको कथा हालेर होइन, हामीले हाम्रो परिस्थिती अनुसार अनुकरण गर्नु पर्छ । आपसी बुझाई र सहकार्यमा जोड दिने । हामी (नेपाल) ले लिन सक्ने सहयोग जति लिने । हामीले सहयोगमात्र लिने होइन, चीनलाई पनि आवश्यक पर्दा सहयोग गर्नु पर्छ । हामीले सहयोग लिदा र दिदा हाम्रो आफ्नो मुलुकको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गर्नु पर्छ । काममा जाने हो, कथामा जाने होइन ।

तपाई उच्च राजनीतिक तहबाट राजदूत बनेर जाँदै हुनुहुन्छ, त्यसो भए बेइजिङमा उच्च राजनीतिक सहकार्यको पनि बढी अपेक्षा गर्न सक्छौ ?

जो राजदूत गए पनि त्यसको राजनीतिक, आर्थिक, सांस्कृतिक काम हुन्छ । त्यहाँको सामाजिक सम्बन्धको कुरा हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा गर्नु पर्ने कामहरुका सम्बन्धका कुरा हुन्छन् । त्यसमा चाहि अलि बढी राजनीतिकस्तरमा बुझ्नको लागि सजिलो होला भन्ने मात्र कुरा हो ।

चीनमा रहेका नेपालीले तपाईंबाट के आशा गर्न सक्छन् ?

त्यहाँ बसेर पढ्ने, व्यापार व्यवसाय गर्ने र नेपाल चीन बीचको सम्बन्धमा सहयोग गर्नेलाई जुनसुकै समयमा समस्या परे पनि राजदूतावास सहयोग गर्न तयार हुन्छ । तर त्यहाँ गएर पनि गलत काममा लागेका छन् भने हामी सहयोग गर्दैनौं ।

प्रकाशित : वैशाख ५, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?