कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसिन थन्किँदा वीरगन्जमा पीसीआर परीक्षण भएन

सरकारले मेसिन पठाए पनि आवश्‍यक उपकरण नहुँदा चलाउन सकिएन : अस्पताल
भूषण यादव

वीरगन्ज — सरकारले वीरगन्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुई दिनदेखि नारायणी अस्पतालमा थन्‍किएको छ । आवश्‍यक उपकरण नहुँदा मेसिन चलाउन नसकिएको अस्पतालले जनाएको छ ।

मेसिन थन्किँदा वीरगन्जमा पीसीआर परीक्षण भएन

गत आइतबार वीरगन्जमा ३ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम कम गर्न यहीँ कोरोना परीक्षणको सुविधा हुनुपर्ने चौतर्फी आवाज उठेको थियो । यससँगै प्रदेश सरकारले बुधबार राति अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको हो । तर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय एउटा पीसीआर मेसिन आउँदैमा कोभिड–१९ परीक्षण गर्ने ल्‍याब सञ्चालनमा आउन नसक्ने बताउँछन् । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काम गरेको पीसीआर मेसिन पठाएको हो,’ उनले भने, ‘पीसीआर मेसिन मात्र आएर भएन, यसलाई सञ्चालन गर्ने थुप्रै उपकरण आएका छैनन् ।’

कतिपय उपकरण नेपालमा समेत उपलब्ध नरहेको उपाध्‍यायले बताए । ‘बायो सेफ्टी क्‍याबिनेटजस्ता ४/५ वटा मुख्य उपकरणविना पीसीआरमा परीक्षण गर्न सकिँदैन, त्यो नेपालमा पनि उत्पादन हुँदैन,’ उनले भने ।

अहिले वीरगन्जमा संक्रमित देखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको सम्पर्कमा आएका व्‍यक्तिहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । शंकास्पदहरूको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाउने गरिएको छ । मेसु डा. उपाध्‍यायका अनुसार हेटौँडाको ल्‍याबले पनि थेग्न नसकेपछि ४४ वटा नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्‍य प्रयोगशाला पठाइएको छ ।

स्रोतका अनुसार प्रदेश सरकारले नारायणी अस्पताललाई उपलब्ध गराएको पीसीआर मेसिन राष्ट्रिय प्रयोगशालामा जगेडा राखिएको थियो । ‘जनस्वास्थ्‍य प्रयोगशालामा फुल सेटअपमा राखिएको यो पीसीआर मेसिन जगेडामा थियो,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘दबाब थेग्न नसकेपछि प्रयोगशालाले त्यही मेसिन वीरगन्ज पठाएको हो । तर यसलाई चलाउन चाहिने बायो सेफ्टी क्‍याबिनेट, २४ वटा प्वाल भएको सेन्ट्रीफ्युग मेसिन, भोटेक्स मेसिन, पिपेट सेट, माइनस २० डिग्री सेन्टिग्रेडसम्म केमिकल राख्ने फ्रिजरलगायतका अत्‍यावश्‍यक उपकरण पठाएको छैन ।’

आवश्‍यकता बुझेरभन्दा पनि दबाबका भरमा मेसिन पठाउँदा यस्तो अवस्था निम्तिएको अस्पतालकै एक फिजिसियनको धारणा छ । ‘पीसीआर सञ्चालनका लागि पोजिटिभ र नेगेटिभ प्रेसर थेग्न सक्ने ३ वटा विशेष कोठा आवश्‍यक पर्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा एक हप्तामा पनि यो मेसिन सञ्चालन गर्न सम्भव देखिँदैन ।’ भरतपुर, हेटौँडा र जनकपुरको प्रयोगशालामा रहेकै स्तरको पीसीआर पठाउनुपर्नेमा सस्तो लोकप्रियता कमाउने काम मात्र गरिएको उनले आरोप लगाए ।

उक्त पीसीआर मेसिन चलाउन समान्‍य तयारीले नपुग्ने भन्दै नारायणीका स्वास्थ्‍यकर्मीले त्‍यसको आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने जनाए ।

प्रकाशित : वैशाख ५, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?