१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लकडाउनमा घट्यो आत्महत्या

विज्ञ भन्छन् : ‘महामारीपछि बढ्न सक्छ, सर्तक र सचेत हुनु जरुरी छ’

काठमाडौँ — कोभिड–१९ को महामारीका कारण सरकारले लकडाउन गरेपछि आत्महत्याका घटनामा उल्लेख्य कमी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन ११ देखि वैशाख २ गतेसम्म देशभर दुई सय ५३ ले आत्महत्या गरेका छन् ।

लकडाउनमा घट्यो आत्महत्या

झुन्डिएर २ सय १३ र विष खाएर ३४ ले आत्महत्या गरेका हुन् । जबकि फागुन महिनामा मात्र ४ सय ११ ले आत्महत्या गरेका थिए । झुन्डिएर मर्नेको संख्या ३ सय ९ थियो । विष खाएर ९६ ले मृत्युवरण गरेका थिए ।

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार लकडाउनमा पारिवारिक स्नेह बढेकाले आत्महत्या घटेको हो । ‘यतिबेला सबैको साझा शत्रु कोरोना हो । कोरोनाबाट बच्न सबै एकजुट भएका छन्, घरमा एकअर्काको साथ मिलेको छ, त्यसैले आत्महत्याको सोच नआएको हुनसक्छ,’ जोशीले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वर्षेनी ८ लाख मानिसले आत्महत्या गर्छन् । यो संख्या सन् २०२२ सम्म १५ लाख पुग्ने आँकलन गरिएको छ । अहिले नै प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्छन् । १५ देखि २९ वर्ष उमेर समूहमा मृत्यु हुने दोस्रो ठूलो कारण हो, आत्महत्या । नेपालमाचाहिँ दैनिक औसत १६ जनाले आत्महत्या गर्छन् । जुन वर्षेनी ८ प्रतिशतले बढिरहेको प्रहरी तथ्यांकले देखाउँछ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७ सय ५४ ले आत्महत्या गरेका थिए । मानसिक बेचैनीको सबैभन्दा डरलाग्दो परिणाम आत्महत्या हो, जुन विभिन्न महामारी वा प्रकोपपछि बढ्ने गरेको देखिन्छ । नेपालमा २०७२ को भूकम्पपछि मनो–सामाजिक रोगीहरुको उल्लेख्य वृद्धि भएको विज्ञहरु बताउँछन् तर कोरोनाको प्रकोप जारी भएकाले अहिले नै मानसिक समस्या देखिसकेको छैन ।

लकडाउनले परिवारलाई एकै ठाउँमा ल्याएको छ । एकअर्कासँग सुखदुख बाँड्ने वातावरण मिलेको छ, आफू र आफन्तको महत्वबोध भएको छ । यसले मान्छेभित्रको बेचैनीलाई हटाउन भूमिका खेलेको मनोविज्ञ मधुविलास खनालको बुझाई छ । ‘बाध्यकारी ढंगले भए पनि यो बेला पारिवारिक एकता र मायाप्रेम चाहिएको छ, जसले मान्छेलाई म एक्लै छु भन्ने मानसिक पीडाबाट तत्कालका लागि मुक्त बनाएको छ,’ खनालले भने । कोरोनबाट बच्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएकाले अन्य समस्यालाई मान्छेले भुलेका छन् । यसलाई सुखद नै मान्नुपर्ने खनालको भनाई छ ।

त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक सरोजप्रसाद वझाका अनुसार लकडाउनले बाहिर हिँड्डुल गर्ने अवस्था छैन, घरमा सबै हुन्छन्, त्यसैले आत्महत्या गर्ने सोच आए पनि त्यो हराउने गर्छ । आफूसँग कोही हुँदा मनको भडास, पीडा, कुन्ठा पोख्न पाइन्छ । जसले क्षणिक भए पनि राहत दिन्छ । प्रा. वझा भन्छन्, ‘कोरोनाको चौतर्फी त्रासले मनोपीडालाई ओझेलमा पारेको पनि हुनसक्छ । परिवारभित्र बढेको आत्मीयताले पनि सकारात्मक भूमिका खेलेको छ ।’ भागदौडले आक्रान्त मानिसलाई लकडाउनले सुस्ताउने अवसर दिएको छ, यसलाई लकडाउनपछि पनि सन्तुलन मिलाउने हो भने मानसिक उल्झन हराउने मनोविज्ञ खनाल बताउँछन् ।

हाल आत्महत्यामात्र होइन, अन्य किसिमका मनो–सामाजिक समस्याका पीडित पनि घटेको प्रा. वझाले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभाग आउनेको संख्या असाध्यै न्यून छ भने दैनिक औसत पाँचजनाले फोनबाट परामर्श लिएका छन् । ‘अहिले कोरोनाबाट ज्यान जोगाउनमै सबैको ध्यान छ, त्यसैले मनमा केही डर र चिन्ता भए पनि मान्छेले सहेर बसेका हुनसक्छन्,’ वझाले भने, ‘अस्पतालसम्म आउने साधनको पहुँच नभएकाले बिरामीको संख्या घटेको हुनसक्छ ।’ तर, प्रकोपको अन्त्यपछि भने मानसिक रोगी बढ्नेमा उनी सचेत गराउँछन् । त्यसैले अहिल्यैबाट सर्तक र सचेत हुनु जरुरी छ । आत्महत्या रोक्नका लागि नेपाल प्रहरीले देशभर विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको र महामारी रोकिएपछि अझ तीव्रता दिने एसएसपी जोशीले बताए ।

अहिले घरभित्रै बसेकाले व्यावहारिक कठिनाईले पिरोलेको छैन । भोलि कतिको रोजगारी जानसक्छ, व्यापार डामाडोल हुनसक्छ, चाहेको काम नबन्न सक्छ, त्यस्तो बेला मान्छेलाई डिप्रेसनले पिरोल्छ । तर, मानवीय क्षति कम भयो भने मानसिक समस्या पनि कम हुने वझाको भनाई छ । ‘आफन्त गुमाइएन भने आर्थिक हानीमात्र हुन्छ, आम्दानीको स्रोतको विकास गर्दा मान्छे सामान्य अवस्थामा पुगिहाल्छ,’ वझाले भने, ‘तर, आफन्त गुम्यो भने त्यसको असरले सदैव पिरोल्छ । त्यसैले अहिलेको आवश्यकता जसरी हुन्छ, सुरक्षित भएर बस्ने हो ।’

प्रकाशित : वैशाख ५, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?