२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आउजाउ रोक्न आ–आफ्नै तरिका

कोरोना संक्रमण फैलिन नदिन भन्दै आउजाउमा रोक लगाउन गाउँ र टोलटोलमा दिनरात निगरानी गर्ने, पुल र गोरेटासमेत अवरुद्ध गर्ने तथा नाकानाकामा स्वयंसेवक खटाइने गरिएको छ । लकडाउन उल्लंघन गरेमा एक सय रुपैयाँ जरिवानासमेत लगाउन थालिएको छ ।
प्रदेश ब्युरो

पोखरा — कोरोना संक्रमणलाई रोक्न सरकारले देशभर लकडाउन गरेको तीन साता बित्यो । अहिले एक पालिकाबाट अर्को पालिकामा, प्रदेशबाट प्रदेशमा र अन्तर्राष्ट्रिय आवागमनसमेत ठप्प छ । लकडाउनलाई प्रभावकारी बनाउन तिनै तहका सरकार आ–आफ्नै ढंगले लागेका छन् । तर, लकडाउनलाई जतिसुकै कडाइ गर्दा पनि लुकिछिपी भित्रिने क्रम भने रोकिएको छैन ।

आउजाउ रोक्न आ–आफ्नै तरिका

यस्तो क्रम नरोकिएपछि पर्वतको फलेबास नगरपालिकाले ११ वटै वडामा वडाध्यक्ष, टोल सुधार समिति तथा स्थानीयबाटै निगरानी बढाएको छ । युवा क्लब, राजनीतिक दलका भ्रातृ संगठन, आमा समूहलगायतलाई सक्रिय गराएर बाहिरबाट भित्रिन नदिन कडाइ गरिएको हो । नगरका एक वडा र टोलबाट अर्कोमा जानसमेत रोक लगाइएको छ । ‘हामी चौबिसै घण्टा नसुतेर खटिएका छौं,’ नगर प्रमुख पदमपाणि शर्माले भने, ‘फाट्टफुट्ट छिरे पनि कडाइ गरेसँगै धेरै आएका छैनन् ।’ नगरपालिकामा मुडिकुवा तथा कार्किनेटाका विभिन्न नाका हुँदै केही भित्रिएको पाइएपछि जबर्जस्ती क्वारेन्टाइनमा राखिएको उनले बताए ।

फलेबासका कतिपय वडाध्यक्ष आफैं विभिन्न चोकमा खटिएर बाहिरबाट आउनेको निगरानी गरिरहेका छन् । फलेबास–१ का अध्यक्ष बाबुराम शर्माका अनुसार कास्की र स्याङ्जा हुँदै भित्रिने स्थान कार्कीनेटामा सबैभन्दा बढी जोखिम छ । ‘हामीले रातदिन मुख्य चोक छोडेकै छैन,’ उनले भने, ‘त्यसरी आउनेलाई क्वारेन्टाइनमा राखिएको छ । कतिपयले घरमै बस्छौं भन्छन् । त्यस्तालाई आएकै ठाउँमा फिर्ता पठाएका छौं ।’ कार्कीनेटाका विभिन्न ६ नाकामा रातभर बत्ती बालेर आलोपालो गर्दै युवा बस्ने गरेका अध्यक्ष शर्माले बताए । यसबीचमा कार्कीनेटाको बाटो हुँदै फलेबास छिर्न लागेका ४० जनालाई फिर्ता पठाइएको र सात जनालाई क्वारेन्टाइनमा राखेको उनले बताए । कार्कीनेटामा ३५ जना बस्न मिल्ने क्वारेन्टाइन छ ।

फलेबासकै अर्को मुख्य नाका हो मुडिकुवा र शंकरपोखरी । कुश्मा–मुडिकुवा अग्लो पुल हुँदै नयाँ मान्छे आउने क्रम नरोकिएपछि युवाले स्वयंसेवककै रूपमा गस्ती गर्दै आएको वडाध्यक्ष टीकाराम गौंडेलले बताए । ‘सुरुसुरुमा मान्छे भित्रिएर समस्या भयो,’ उनले भने, ‘अहिले यहाँका युवाले चौबिसै घण्टा पालो लगाएर पहरा दिइरहेका छन् । आउने सबै नयाँ मान्छेलाई फिर्ता पठाइएको छ ।’ गत साता मुडिकुवा हुँदै फलेबास भित्रिएका पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ । फलेबास नगर प्रमुख शर्माका अनुसार नगरका ११ वडामा ८७ वटा टोल सुधार समिति सक्रिय छन् । त्यसबाहेक करिब दुई दर्जनभन्दा धेरै युवा क्लब लकडाउनलाई कडाइ गर्न सक्रिय छन् ।

‘लकडाउनको सहर/बजार क्षेत्रमा भन्दा ग्रामीण बस्तीमा अनुशासित र व्यवस्थित पालना भएको छ । पालिकाका सबै बस्तीमा समुदायले स्वस्फूर्त संक्रमण रोक्न सक्रिय भएको पाइयो,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने । स्थानीय प्रशासनले निषेधाज्ञासहित जिल्ला प्रवेशमा रोक लगाएको छ । पालिकाले आआफ्ना सीमा सिल गरेका छन् भने वडा/बस्ती तहमा समुदायले आवतजावतमा रोक लगाएका छन् । पारिश्रमिक दिएर स्थानीय युवालाई लकडाउन कार्यान्वयन गर्न परिचालनसमेत गरिएको छ ।

‘हामीले विदेशबाट फर्केको १५ दिन नपुगेकालाई अनिवार्य तोकिएको क्वारेन्टाइनमा राख्यौं, चैतयता विदेशबाट फर्केकालाई खोजीखोजी र्‍यापिड टेस्ट गराएका छौं,’ मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले भनिन्, ‘क्वारेन्टाइन, विपत् कोषसमेतका आन्तरिक तयारीसँगै स्वयंसेवक परिचालन गरी गाउँपालिका छोड्न/प्रवेशमा रोक लगाएका छौं ।’ ग्रामीण कृषि अर्थतन्त्रलाई चलायमान राख्न आन्तरिक लकडाउन गरेको उनको भनाइ छ । कृषकलाई कामको सिजनमा घरबाहिर ननिस्कन भन्न नसकिने हुँदा गाउँपालिका पूरै सिल गर्ने, वल्लो–पल्लो बस्ती आवतजावत रोक्ने र कृषि कार्यलाई निरन्तरता दिनु उत्तम विकल्प ठानेको उनको भनाइ छ ।

सहरी क्षेत्रमा लकडाउन उल्लंघन गर्ने बढेपछि प्रशासनले सडकमा निक्लनेलाई संक्रमण रोग निवारण ऐन, २०२० अन्तर्गत एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।

बागलुङबाट पर्वतको खनियाघाट जाने कालीगण्डकी नदीमाथिको झोलुंगे पुलमा बार लगाइएको छ । बागलुङकै कुँडुलेदेखि म्याग्दी जाने सडकको पक्की पुलमा रूख ढालेर अवरुद्ध पारिएको छ । बागलुङमा दुई जना कोरोना संक्रमित भेटिएपछि छिमेकी जिल्लातर्फ जाने सबै सडक अवरुद्ध पारिएको हो । अनावश्यक र बाहिरी व्यक्ति आउन सक्ने भन्दै रोक्नलाई स्थानीयले यस्तो उपाय अवलम्बन गरेका हुन् ।

पछिल्लो सातादेखि एउटा पालिकाबाट अर्को पालिकामा पैदल यात्रा गर्न पनि नदिने भन्दै कतिपय गोरेटा बाटामा पनि रूख ढालेर अवरुद्ध गरिएको छ । लकडाउन भए पनि सरकारी संयन्त्र तथा केही व्यापारिक प्रतिष्ठानले दैनिक उपभोग्य सामग्री विभिन्न बजार र गाउँ पठाएका छन् । तर, सडक अवरुद्ध गरेको थाहा पाएपछि कतिपयले सामान पठाउन नमानेको उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले बताए । र्‍यापिड टेस्टका लागि स्वास्थ्य कार्यालयको टोलीले ढुंगामुढा पन्छाएर जानुपरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘हामीले तीन–चार ठाउँमा बाटो पन्छाएर मात्र गयौं,’ क्षयकुष्ट सुपरभाइजर देवप्रकाश घिमिरेले भने, ‘मुख्य राजमार्गमा भने प्रहरीकै टोली बसेर चेक गर्ने गर्छ ।’

संघीय सरकारले चैत २२ मा एक स्थानीय तहबाट अर्कोमा प्रवेश गर्न रोक लगायो । कास्कीको रूपा गाउँपालिकाले भने चैत १९ मै आफ्ना सबै नाका बन्द गरिसकेको थियो । गाउँपालिकाले नौ वटा नाकामा ‘लकडाउन’ प्रभावकारी बनाउन स्वयंसेवक खटायो । स्वयंसेवकसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नाकामा खटिए । अर्को स्थानीय तहबाट रूपामा प्रवेश गर्नेलाई गाउँपालिकाले स्वास्थ्य जाँच गर्‍यो । मास्क र सेनिटाइजर दिएर पठायो । होम क्वारेन्टाइनमा बस्न भन्यो । गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार लकडाउनमा गाउँपालिका प्रवेश गर्नेको निगरानी गर्न थालियो । स्वास्थ्य संस्था २४ सै घण्टा खुल्ने बनाइए । ‘गाउँगाउँमा युवा क्लब, आमा समूह, टोल विकास संस्था पनि लकडाउन कार्यान्वयन गर्न खटिएका छन्,’ ओझाले भने, ‘एक गाउँदेखि अर्को गाउँ प्रवेशमा पनि रोक लगाइएको छ ।’ दीर्घरोगीलाई चाहिने आवश्यक औषधि गाउँपालिका आफैंले घरघर पुर्‍याउने गरेको छ । औषधिको रकम भने बिरामीले बेहोर्छन् । अति विपन्न र दैनिक ज्यालादारीबाट जीवन गुजारा गर्नेलाई गाउँपालिकाले घरघरमै राहत पुर्‍याएको छ ।

मादी गाउँपालिकाले सबै वडामा संयन्त्र बनाएर लकडाउनको निगरानी गरेको छ । गाउँपालिकामा नौलो मानिस देख्नेबित्तिकै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संयन्त्रले खबर गर्ने अध्यक्ष वेदबहादुर गुरुङ बताउँछन् । माछापुच्छ्रे गाउँपालिकाको मुख्य ६ वटा नाकामा १८ जना स्वयंसेवक परिचालित भएका छन् । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीका अनुसार एक वडाबाट अर्को वडामा प्रवेश गर्न रोक लगाइएको छ । स्थानीय युवा क्लब, आमा समूह लकडाउनलाई प्रभावकारी बनाउन खटिएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा पनि मुख्य ६ नाका छन् । गाउँपालिकामा बाहिरका मानिस प्रवेश गर्न नदिन टोल विकास संस्थाका स्वयंसेवक खटिन्छन् । गाउँपालिका अध्यक्ष युवराज कुँवरले पदयात्रा मार्गसमेत बन्द गरेको बताए । उनले भने, ‘कोही घरबाहिर निस्किए छिमेकीले सचेत गराउँछन् ।’

अगन्धर तिवारी (पर्वत), घनश्याम खड्का (म्याग्दी), प्रकाश बराल (बागलुङ) र दीपक परियार (पोखरा)

प्रकाशित : वैशाख ५, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?