कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

ड्रोनबाट लकडाउन अनुगमन

माधव अर्याल

पाल्पा — जिल्ला प्रशासन कार्यालय पाल्पाले ड्रोनबाट लकडाउनको अनुगमन गर्ने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा उपचारमा सहयोग र अनुगमनलगायत कार्य गर्न प्रशासनबाट गठित समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

ड्रोनबाट लकडाउन अनुगमन

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले लकडाउनलाई प्रभावकारी बनाउन अत्यावश्यक सेवा (औषधि, खाद्यान्न, दूध र स्वास्थ्य उपचार) लिनेबाहेकका व्यक्तिलाई हिँडडुलमा कडाइका साथ रोक लगाउने निर्णय गरेको बताए । बैठकले चैत १ पछि भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिको कोभिड–१९ परीक्षण गर्न आवश्यक आरडीटी किट उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । पालिकाहरूले आफ्नो वडाभित्रका व्यक्तिबाहेक अन्यत्रबाट आउने जो कोहीलाई जहाँ भेटिन्छ, त्यहीको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत समितिले अनुरोध दिएको छ ।

विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई आरडीटी किटमार्फत कोभिड–१९ परीक्षण गरी नेगेटिभ देखिएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएकाले उनीहरू बसेको र स्वास्थ्य अवस्थाबारे नियमित रूपमा निगरानी गर्न पालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । चैत १ गतेपछि भारतलगायत तेस्रो मुलुकबाट जिल्लामा आएका व्यक्तिको विवरण संकलन गरी पठाउन र निजहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर अनुगमन र निगरानी गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै स्थानीय प्रशासनले अन्य जिल्लाबाट हरियो तरकारी आयातमा हाललाई रोक लगाएको छ । स्थानीयस्तरमा उत्पादित तरकारीलाई बजारसम्म पुर्‍याउने कार्यलाई सहजीकरण गर्ने जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए । उनका अनुसार अन्यत्रबाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने सम्भावना बढी देखिएकाले हाललाई आयातमा रोक लगाउने निर्णय भएको हो । अबदेखि खाद्यान्न पसल पनि सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ९ देखि ११ बजेसम्म मात्र खुल्ने निर्णय भएको उनले बताए ।

प्रकाशित : वैशाख ४, २०७७ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?