मूलबाटो हिँड्न नपाएपछि...

प्रहरीले मूलबाटोमा हिँड्न नदिएपछि गाउँको भित्री बाटो, जंगल हुँदै लुकेर मानिस गाउँ फर्किरहेका छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — गोविन्द उप्रेती बुधबार बिहान बिरामी छोरालाई अघि लगाउँदै २ सय २१ किलोमिटर टाढाको सर्लाहीस्थित घर ताकेर भक्तपुरबाट हिँडेका थिए । साढे ७ किलोमिटर पार गरेपछि नलिन्चोकमा सशस्त्र प्रहरीले उनीहरूलाई रोके । अस्पतालले दिएको डिस्चार्ज कागज देखाए ।

मूलबाटो हिँड्न नपाएपछि...

प्रहरीले उनको कुरा सुन्दै सुनेनन् । निन्याउरो अनुहार लगाएर फर्किए । ‘आफन्तकामा जाऔं, खानेकुरा छैन । आफूसँग पनि पैसा छैन,’ बाटामा बिहान ८ बजे भेटिएका गोविन्दले भने ।

कोभिड १९ को शंका गरेर २१ दिनअघि छोरा रविनलाई एम्बुलेन्समा राखेर गोविन्द काठमाडौं आएका थिए । ज्वरो र खोकी लागेको भन्नेबित्तिकै सर्लाही हरिवनको स्वाभिमान अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो । उनीहरु सिधै वीर अस्पतल पुगेका थिए । वीरमा भित्रै नछिराई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पताल पठाइदियो । स्वाब परीक्षण भयो । नतिजा नेगेटिभ आयो । ‘त्यसपछि बल्ल छोराको उपचार सुरु भयो । अस्पतालले १४ गते डिस्चार्ज गरिदियो,’ गोविन्दले सुनाए, ‘कोरोना नभएकामा खुसी लागेको थियो तर त्यसपछि कहाँ जाने भन्ने चिन्ता भयो । दुई दिन अस्पतालकै पेटीमा सुत्यौं ।’

टेकुबाट हिँडेरै उनीहरु भक्तपुरको सल्लाघारीनजिकै सृजना नगरस्थित गाउँलेको कोठामा आश्रय लिन पुगे । बुधबारदेखि लकडाउन खुल्नेमा उनीहरू आशावादी थिए । तर सरकारले मंगलबार वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गर्‍यो । ज्यामी काम गर्ने आफन्तको कोठामा खानेकुरा र पैसा नभएर आपत् परेको उनीहरुले देखेका थिए । गोविन्दले टाइफाइड र जन्डिस भएका छोरालाई हिँडाउँदै घर लैजाने आँट कसे ।

काभ्रेमा मंगलबार आरडीटी किटबाट गरिएको परीक्षणमा दुई जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय पैदलयात्रीलाई समेत जिल्ला प्रवेश निषेध गरेको छ । भोलिपल्ट गरिएको पीसीआर परीक्षणमा भने ती दुवैमा नेगेटिभ देखिएको छ ।

काभ्रे प्रशासनको निर्णयका कारण कञ्चन तामाङले फर्किनुपर्‍यो । पाँचमहिने दुधेबालक च्यापेर गाउँको बाटो हुँदै काभ्रेको तिमालसम्म पुग्ने भनेर उनी निस्किएकी थिइन् । चर्को घाममा पसिना पुच्छै कहिले बारीको डिलैडिल, कहिले खेतको गोरेटो बाटोको हुँदै जब नाला पुगिन्, प्रहरी भेटिए । उनले अगाडि बढ्नै पाइनन् । प्रहरीले रोक्नुअघि नै उनीहरुलाई भक्तपुर ताथली सौडोलका बासिन्दाले ह्युमपाइप तेस्र्याएर बाटो अवरुद्ध गरेका छन् । प्रहरी मूलसडकमा तैनाथ छन् । त्यसैले काठमाडौंमा बेर्खची भएकाहरु भित्री बाटो हुँदै अघि बढ्न खोज्छन् । तर नाका–नाकामा प्रहरी हुनाले बीचैबाट फर्कनुपरेको छ ।

उदयपुर घर जान खोज्दा मंगलबार जगाती प्रहरीले फर्काएपछि शान्तिमान सुनुवारले बुधबार भित्री बाटोबाट घर खोजेका थिए । तर सफल भएनन् । ‘होटलमा काम गर्दै भाषा पढ्दै थिएँ । लकडाउन लामो नहोला भनेर बसेँ । लम्बिएपछि घर जानुको विकल्प छैन,’ उनले भने ।

नुवाकोटबाट सोमबार हिँडेका उदयपुर गाईघाटका ८ जनाको समूह बुधबार ९ बजे भित्री बाटो हुँदै भक्तपुरको ताथली आइपुगेको थियो । ‘प्रहरीको चेकिङ छल्दै यहाँसम्म त आइपुग्यौं,’ बलराम राईले भने, ‘कुन बेला रोकिने हो, थाहा छैन ।’ बुधबार अपराह्न भकुण्डेबेंसी पुगेका उनले २५ जनाको समूहमा हिँडिरहेको सुनाए ।

भक्तपुरको सिपोडलबाट बर्दियाको राजापुर जान युवाहरु ठेकेदारलाई पैसा मागेर लुगाफाटासहित निस्केका थिए । तर प्रहरीले उनीहरुलाई सल्लाघारीमा रोके । उनीहरुलाई बुधबार बिहान साढे ७ बजे सल्लाघारीमा सडक पेटीमा लस्करै राखिएको थियो । ‘यहाँ बस्न पैसा छैन, घर जान पनि पाइँदैन,’ राजापुरका तीर्थ थारूले भने, ‘अब के गरौं ?’

अरनिको राजमार्ग हुँदै साँगातर्फ गइरहेकालाई प्रहरीले चोकचोकबाट काठमाडौं फिर्ता गरिरहेका छन् । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले लकडाउनलाई कडाइ गर्न हिँडडुलमा समेत रोक लगाइएको बताए । ‘आउजाउ गर्दा जोखिम बढ्ने भएकाले कडाइ गरेका हौं,’ प्रधानले भने । हिँडेर जानेलाई रोक्न साँगामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मन्त्रालयको निर्देशनअनुसार नै पैदल यात्रीलाई समेत जिल्ला प्रवेशमा रोक लगाइएको बताए ।

प्रकाशित : वैशाख ४, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?