कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसरी घरमै पढाइ

विद्यार्थीको वर्ग सात घेराको छ, सबै घेराकालाई फरक–फरक तरिकाले पढाउनुपर्छ ।
अब सबैले चिच्याएर भन्नुपर्छ– वैकल्पिक तरिकाले पठनपाठन गराउने काम तपाईं शिक्षककै हो । प्राध्यापककै हो । त्यसैले विकल्प सोच्नुस् । नभए हाम्रो विकल्पमा काम गर्नुस् ।
विद्यानाथ कोइराला

बहुघेराका विद्यार्थी- घेराहरूको योग हो, चक्रव्यूह हो, रणनीति हो– सिपाहीको प्रतिरक्षात्मक तरिका । महाभारतको कथाले त्यही भन्छ । अभिमन्यु तोड्न जान्छन् । कथा त्यसरी बढ्छ । तोड्छन् पनि । फर्कन जान्दैनन् । त्यहीं मारिन्छन् । कथा त्यत्ति हो ।

यसरी घरमै पढाइ

सञ्चारको भाषामा हामी त्यस्तै चक्रव्यूहमा छौं । पहिलो घेरामा विपन्न बालबालिका छौं । तिनका अभिभावक छौं । तिनका घरमा रेडियो छैन । टीभी छैन । कम्प्युटर छैन । फोन छैन । अनलाइन सुविधा छैन । दोस्रो घेरामा रेडियोवाला छौं । तेस्रो घेरामा टीभीवाला छौं । चौथो घेरामा फोनवाला छौं– ल्यान्डलाइनवाला, मोबाइलवाला । पाँचौं घेरामा नेटवर्किङ नभएका कम्प्युटरवाला छौं । छैटौं घेरामा अनलाइनवाला छौं– डाटा चलाउने, निश्चित घण्टाका लागि अनलाइन सुविधा लिने, चौबिसै घण्टा अनलाइन सुविधा पाउने । सातौं घेरामा सबै सुविधा पाउनेहरू छौं । हर घेरामा शिक्षा पुर्‍याउने कसरी ? परीक्षा लिने कसरी ? शिक्षक/प्राध्यापक, कर्मचारी, नेतृत्व, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति आदिको तयारी गर्ने कसरी ? आधुनिक सञ्चारका साधनले कक्षाकोठाको काम गर्ने कसरी ? गराउने कसरी ? यो लेखले यही कुरा गरेको छ ।


घेरैपिच्छे पढाउने तरिका

पहिलो घेराका विद्यार्थीले पढ्ने प्याकेज खोज्छन् । आजको गणितको पाठ । भाषाको पाठ । यसको अर्थ हो, अहिलेको पुस्तकलाई दैनिक पाठ योजनाका रूपमा तयार पार्नुपर्छ । भातको गाँसजस्तो । विद्यार्थीलाई रुटिन दिनुपर्छ । त्यही रुटिनअनुसार विद्यार्थीले घरमै पढ्छन् । घरमा पढ्न नसक्ने वा नपाउने बालबालिकालाई छिमेकमा आलोपालो भेला गरी पढाउनुपर्छ– विपन्नको हकमा, बाल कामदारको हकमा र सहाराहीनको हकमा । त्यसो गर्दा शिक्षक तथा विद्यार्थी बसाइको कोरोना दूरी कायम गर्नुपर्छ । यो शिक्षकको काम हो । उसैले गर्नैपर्छ । शिक्षक चाहिने समूह पनि त्यही नै हो । स्थानीय बस्तीमा शिक्षक छैन भने सम्भाव्य शिक्षक खोज्नुपर्छ । नेपाली अर्थको स्वयंसेवी । भृत्यज स्वयंसेवी । पुर्खाको शब्दमा पैसा लिएर पढाउने ‘स्वयंसेवी’ ।


यस्ता शिक्षकले चार तरिका अपनाउन सक्छन् । पहिलो कोरोना दूरी कायम गरेर नियमित तरिकाले पाठ पढाउने । दोस्रो विशेष प्याकेज पढाउने । तेस्रो पढाइसँग सम्बन्धित हुने गरी दैनन्दिनसँग जोडिएका कुरा पढाउने । चौथो जिम्मा लिएका विद्यार्थीलाई घरायसी शोध गरी पाठमा जोड्ने । कुन तरिका अपनाउने भन्ने कुरा शिक्षकको तागतमा भर पर्छ । प्राध्यापकको तागतमा भर पर्छ । प्याकेज भने सम्बन्धित शिक्षक तथा प्राध्यापकले नै बनाउनुपर्छ ।

दोस्रो घेराका विद्यार्थीलाई रेडियोले पढाउनुपर्छ । रेडियोका पाठहरू पहिलो घेराकै हुन सक्छन् । शिक्षकको कामचाहिँ रेडियोले गर्छ । गर्नुपर्छ । एकोहोरो रेडियो हुन सक्छ । दोहोरो रेडियो हुन सक्छ । एकोहोरो रेडियोले विद्यार्थीको प्रश्न जम्मा गरेर पछि उत्तर दिन्छ । दोहोरो रेडियोले तत्कालै उत्तर दिन्छ । यसका निम्ति शिक्षक महासंघ तथा प्राध्यापक महासंघ जिम्मेवार हुनुपर्छ । पहल उनीहरूकै हुनुपर्छ । रेडियो नेटवर्कवालाहरूसँग सहकार्य गर्न । लगानी आवश्यक भए सरकार गुहार्नुपर्छ– स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार । यो घेराको शिक्षक सहजकर्ता हो, परिचालक हो । यो नयाँ भूमिकामा शिक्षक तयार पार्ने काम शिक्षक महासंघकै हो । प्राध्यापक महासंघकै हो । स्थानीय सरकारको तहमा स्थानीय शिक्षक महासंघको हो । क्याम्पस तहमा प्राध्यापक संघको हो । प्रदेश सरकारको तहमा प्रदेश शिक्षक महासंघको हो । संघीय सरकारको तहमा संघीय महासंघको हो । शिक्षकको हो र प्राध्यापकको हो ।


तेस्रो घेराका विद्यार्थीलाई टेलिभिजनले पढाउनुपर्छ । यसका सामग्री मिदासमा छन् । कुल्यावमा छन् । शिक्षा मन्त्रालयकै पाठ्यक्रम विकास केन्द्रमा छन् । गैसस तथा अगैससमा छन । ती सामग्री बटुल्ने काम शिक्षक महासंघको हो । प्याब्सन तथा एनप्याब्सनको हो । टेलिभिजनको नेटवर्कसँग सहकार्य गर्ने काम पनि तिनैको हो । लाग्ने खर्चचाहिँ सरकारसँग माग्नुपर्छ । तीनै तहको सरकारसँग । यो घेराका विद्यार्थीलाई बेलाबखत संवाद गर्ने केही शिक्षक भए हुन्छ । यसका लागि टेलिभिजन नेटवर्कले कम्युनिटी टेलिभिजनको पहल गर्नुपर्छ । आलोपालो गरी हेर्न पाउने टेलिभिजन । कोराना दूरी कायम गर्ने टेलिभिजन । पाठ्यसामग्री उत्पादन गर्न बजारलाई लगाउनुपर्छ । पेसेवार तथा स्वेच्छाले काम गर्ने सिकारु (अमेचर) युवालाई यो काममा लगाउनुपर्छ । अहिले पनि टेलिभिजनहरूले यो काम गरेकै छन् । गराइरहेकै छन् । केवल विषयान्तर गर्नुपर्छ । लगानी स्थानीय, प्रदेश तथा संघीय सरकारसँग लिनुपर्ने हुन्छ ।

चौथो घेराका विद्यार्थीलाई टेलिफोनले पढाउनुपर्छ । अहिले एकोहोरो कोरोना पढाइरहेछ, अब पाठ पढाउनुपर्छ । पढाउने पाठ सहज छ । फलानो सिनेमा हलमा यो सिनेमा छ भनेजस्तो । फलानो कक्षाको फलानो विषयको फलानो पाठ भने हुन्छ । पाठ बनाउने काम विद्यालयको हकमा शिक्षक महासंघको हो । क्याम्पसको हकमा प्राध्यापक महासंघको । निजी विद्यालय तथा क्याम्पसको हकमा तिनकै व्यवस्थापन समितिको र लगानीकर्ताको । उनीहरूले नै शिक्षक तथा प्राध्यापकलाई परिचालन गर्नुपर्छ । किनकि विषयगत विज्ञ तिनै हुन् । हुनु पनि पर्छ । फेसबुक चलाउने शिक्षक तथा प्राध्यापकले अर्काे तरिका गर्नुपर्छ । अहिले पनि उनीहरूले फेसबुक चलाएकै छन् । कसैले डाटाबाट । कसैले नेटवर्कबाट । त्यस्ता शिक्षक तथा प्राध्यापकले विद्यार्थीको फेसबुक समूह बनाउनुपर्छ । अहिले पनि केही शिक्षक तथा प्राध्यापकले त्यो काम गरिरहेका छन् । विद्यार्थीले पनि त्यस्तो पढाइमा मज्जा मान्न थालेका छन् । स्कुल, कलेज जानेभन्दा यस्तो पढाइ पो रमाइलो रहेछ भन्ने महसुस गर्न थालेका छन् । यसैले अब शिक्षक तथा प्राध्यापकले यो कामलाई संस्थागत गर्नुपर्छ । त्यो उनैको जिम्मेवारी हो । बरु टेलिफोन प्रयोग गरेबापत लाग्ने रकम पालिकाहरूसँग मागे हुन्छ । प्रदेश तथा संघीय सरकारसँग मागे हुन्छ ।


पाँचौं घेराका विद्यार्थीलाई अफलाइन सामग्रीमार्फत पढाउनुपर्छ । त्यसको सीडी/डीभीडी वा पेनड्राइभ चाहिन्छ । अहिले उपलब्ध सामग्रीबाटै यो काम थाल्नुपर्छ । यो कामको जिम्मा विषय शिक्षकको हो । उसलाई परिचालन गर्ने काम शिक्षक महासंघको हो । प्राध्यापक महासंघको हो । प्याब्सन, एनप्याब्सनको हो । लगानीकर्ता भने फरक–फरक हुन सक्छन्– स्थानीय सरकार, प्रादेशिक सरकार, संघीय सरकार, विद्यार्थी शुल्क, अभिभावकको सहयोग ।

छैटौं घेराका विद्यार्थीलाई अनलाइनमा पढाउनुपर्छ । ती सुविधाभोगी हुन् । एक त सहरका, नभए पनि सहरकै रसास्वादन गर्न पाएकाहरू । तिनलाई नियमित कक्षा चलाउनुपर्छ । तिनका लागि अहिलेकै पाठ्यसामग्री भए हुन्छ । कक्षा मात्रै भर्चुअल हो– भाइबरमा हो, म्यासेन्जरमा हो, स्काइपमा हो । बजारमा अनेकौं सफटवेयर छन् । नि:शुल्क पाइने, थोरै पैसाले पाइने– तिनलाई उपयोग गर्नुपर्छ । तिनका निम्ति स्कुल, कलेज धाउनै पर्दैन । स्कुल, कलेज तिनकै घरमा छन् । आउँछन् । त्यस्ता स्कुल, कलेजमा रेकर्ड गरेर पछि पढे पनि हुन्छ । तत्काल पढे पनि हुन्छ ।


सातौं घेराका विद्यार्थीलाई जुनसुकै माध्यमबाट पनि पढ्न पाउने प्रबन्ध गर्नुपर्छ । रुचि विद्यार्थीको । उसका निम्ति माथिका कुनै पनि माध्यमका सामग्रीहरू उपयोगी हुन्छन् । विधि उपयोगी हुन्छन् । खालि ऊ जानकार भए हुन्छ । सुविधा तथा रहरअनुसार विद्यार्थीले ती सामग्री प्रयोग गर्न पाउँछन् । शिक्षक र प्रविधिको प्रयोग गर्न पाउँछन् ।

सामना गर्नुपर्ने चुनौती

शिक्षक तथा प्राध्यापकको प्रवृत्ति कार्यगत तहको चुनौती हो । पेसाकर्मी बन्न/बनाउन नसकिएका तिनीहरूका संघ/संगठनको रबैया दोस्रो चुनौती हो । तिनलाई परिचालन गर्न नसक्ने वा नखोज्ने स्थानीय सरकार, प्रदेश सरकार तथा स्वायत्त भनिएका तर ‘माथिको इसारा’ कुर्न बानी लागेका विश्वविद्यालयका पदाधिकारीको आसे नेतृत्व तेस्रो चुनौती हो । मैले नै गर्नु/गराउनुपर्छ भन्ने संघीय कर्मचारी तथा मन्त्रीहरूको बुद्धि चौथो चुनौती हो । सडकमा ओराल्न आ–आफ्ना दलका अरिंगाल तथा छौंडा (प्रधानमन्त्रीको शब्दमा) बनेका शिक्षक, कर्मचारी तथा प्राध्यापकहरूलाई पठनपाठन त तिम्रो जिम्मा हो नि भन्न/भनाउन नसक्ने दलका नेताहरूको हविगत पाँचौं चुनौती हो ।

चुनौती स्विकार्न चाहनेहरूका लागि समाधान

अहिले विकल्प भनिएका सातवटै घेरा भोलिका पूरक कार्यक्रम हुन् । नभए पनि बनाउनैपर्छ । त्यसको कारण हो– विद्यार्थी प्रविधिमैत्री हुँदै छ । परिणामत: ऊ शिक्षक/प्राध्यापकभन्दा बढी सुसूचित छ । नभए पनि पक्का हुन्छ । शिक्षक वा प्राध्यापक त्यो मानेमा पछाडि छौं । यसले अनेकन समाधान जन्मिन्छन् ।

क) सबैले चिच्याएर भन्नुपर्छ वैकल्पिक तरिकाले पठनपाठन गराउने काम तपाईं शिक्षककै हो । प्राध्यापककै हो । त्यसैले विकल्प सोच्नुस् । नभए हाम्रो विकल्पमा काम गर्नुस् ।


ख) शिक्षक तथा प्राध्यापक प्रविधिमैत्री हुनैपर्छ । नभए बनाइनुपर्छ । प्रविधिमैत्री बन्न नसक्नेलाई ससम्मान जागिर छोड भन्नुपर्छ– स्कुल तहको हकमा स्थानीय सरकारले । क्याम्पसको हकमा क्याम्पस प्रमुखले । उसको तागतले नपुगे विश्वविद्यालयका पदाधिकारीले ।

ग) पेसाकर्मीका संगठन हौं भन्ने शिक्षक तथा प्राध्यापकका स्थानीय/क्याम्पस तहदेखि प्रदेश एवं संघीय तहका नेतृत्वहरूले शिक्षकलाई अहिलेको वैकल्पिक शिक्षाको प्रबन्धमा होम्नै पर्छ । यही शिक्षा भोलि पूरक शिक्षा बन्छ । पर्सि मूलधार बन्छ । त्यसका लागि तयार बनौं । नत्र खैरियत छैन भन्नैपर्छ ।


घ) स्थानीय, प्रदेश तथा संघीय सरकारको तहमा स्रोतकेन्द्रसहितको क्लियरिङ हाउस बनाउनैपर्छ । सम्बन्धित पालिकाले यो काम गर्नैपर्छ । प्रदेश तहमा प्रादेशिक सरकारले, संघीय तहमा संघीय सरकारले, क्याम्पस तहमा क्याम्पस प्रमुखले, विश्वविद्यालय तहमा विश्वविद्यालयका पदाधिकारीले यो काम गर्नैपर्छ । कसैले पनि किन्तु, परन्तु तर भन्न पाउँदैन । मिल्दैन । जसले भन्छ, त्यसले ससम्मान पेसा छोड्नुपर्छ ।

ङ) देशका चिन्तक, सर्जक, उद्यमी आदिलाई देशले विचार माग्यो, देऊ भन्नुपर्छ । ताली बजाऊ हैन । राष्ट्रिय धुन बजाऊ हैन । मानव साङ्लो बनाऊ हैन । थाल ठटाऊ हैन । यसरी संकलित विचारहरूलाई सबै तहका स्रोतकेन्द्रसहितका क्लियरिङ हाउसहरूमा पठाउनुपर्छ । संकलन गर्नुपर्छ । वितरण गर्नुपर्छ ।

च) बजारमा अभ्यास पुस्तिकाहरू उपलब्ध छन् । श्रव्य सामग्रीहरू छन् । दृश्य सामग्रीहरू छन् । श्रव्यदृश्य सामग्रीहरू छन् । अनलाइन सामग्रीहरू छन् । अफलाइन सामग्रीहरू छन् । नि:शुल्क उपलब्ध हुने विदेशी सामग्रीहरू छन् । थोरै लगानीमा पाइने सामग्री छन् । तिनको डबिङ गर्न सकिन्छ । अनुवाद गर्न सकिन्छ । तीनै तहका सरकार तथा क्याम्पसहरूले ती सामग्री भण्डारण गर्नुपर्छ । वितरण गर्नुपर्छ ।

छ) विद्यार्थी तथा अभिभावकको पुनर्अभिमुखीकरण गर्नुपर्छ । तिनैका नेतृत्वलाई यो कामको जिम्मा लगाउनुपर्छ । तिनलाई भन्नुपर्छ— अब विद्यार्थीले घरैमा पढ्छ । मुडलमा । अन्य सफ्टवेयरमा । अभ्यास पुस्तिकामा । सञ्चारका उपलब्ध साधनमा । स्कुल, कलेजमा त छलफल गर्न जान्छ । स्कुल, कलेज बन्द हुँदा जुममा छलफल गर्छ । मीटमा छलफल गर्छ । सञ्चारको जुन साधन छ, त्यसैमा छलफल गर्छ ।


ज) व्यवस्थापन समितिलाई भन्नुपर्छ— तिमीले शिक्षक तथा प्राध्यापक खोज्ने दिन गए । शिक्षक तथा प्राध्यापक सञ्चारका साधनमा छन् । नभए हुन्छन् । नभए तपाईंहरूले त्यस्ता शिक्षक वा प्रधानाध्यापकको रोस्टर बनाउनुपर्छ । एक दिन एउटा देशको शिक्षकले पढाउने । परदेशिएको नेपालीले । सम्बन्धित देशकोले । त्यो देशको शिक्षकले । प्राध्यापकले ।

झ) गैसस/अगैससलाई भन्नुपर्छ— तिम्रो लगानी, हाम्रो योजना । तिम्रा योजना थन्क्याऊ । एजेन्डा थन्क्याऊ । अन्यथा हाम्रो बस्तीमा नआऊ ।


ञ) संघीय सरकारलाई सचेत बनाउनुपर्छ, तिम्रो हुटिट्याउँको बुद्धि काम छैन । संविधान पढ । स्थानीय सरकारलाई विश्वास गर । प्रदेश सरकार तथा क्याम्पसलाई विश्वास गर । तिनैलाई परिचालन गर । तिनको तागत छैन भने तागत भर । अहिले बेला भएको छैन भन्ने स्यालको हुइयाँ छोड । पराशर ऋषिले तर्दै गरेको डुंगामा वातावरण बनाए । मत्स्यगन्धाबाट महर्षि व्यास जन्माए । वातावरण हुने हैन । बनाउने हो । सक्छौ वातावरण बनाऊ भन्ने चिन्तन बोक । अन्यथा ससम्मान आआफ्नो पेसा छोड ।

ट) राजनीतिक दलका नेताहरूलाई भन्नुपर्छ— तिमीहरू आआफ्ना अरिंगाल वा छौंडाहरूलाई आदेश देऊ कि हिजो अरूलाई टोक्यौं, अब आफूले आफंैलाई टोक । अरूको दु:ख थाहा हुन्छ । अर्थात् आफ्नै रगतमा बाँच्न सिक ।


ठ) परीक्षा सञ्चालकहरूलाई भन्नुपर्छ— जबर्जस्ती करणी गर्ने/गराउने परीक्षा प्रणाली बन्द गर । चोर्न चोराउन सिपालुहरूको ठूलो जमात शिक्षा क्षेत्रमा प्रवेश गरिसक्यो । त्यो जमातले पढाउँदैन । पढाए पनि उसको इतिहास जानेको विद्यार्थीले उसलाई पत्याउँदैन । त्यसैले अब खोज्ने प्रश्न बनाऊ । सोध्ने प्रश्न बनाऊ । सारेर लेख्नेहरूलाई कोट गर्ने तथा प्याराफेज गर्ने तरिका सिकाऊ । सीए पढ्नेको जस्तो । विद्यावारिधि गर्नेहरूको जस्तो । त्यसरी लेख्ने तथा लेखाउने उपाय सिकाऊ । स्कुल तहमा, क्याम्पस तहमा । गुगल निर्माताको उपाय सिकाऊ । तथ्य खोज । विश्लेषण गर । विचार देऊ । कार्यान्वयनको ढाँचा देऊ । अहिलेको जाँच लिने पुरानो बुद्धि भत्काऊ । त्यसो गरेमा शैक्षिक क्यालेन्डर बिग्रँदैन । विद्यार्थीलाई समस्या हुँदैन । उल्टै पढाइ व्यावहारिक, जनमुखी, वैज्ञानिक तथा उत्पादनसँग जोडिन सक्छ । स्वरोजगारको समूह बन्न सक्छ । उद्यमीहरूको समूह बन्न सक्छ ।

निचोड

कोरोनाले प्रविधिमा शिक्षा लाने अवसर दियो । सन् १९७० को दशकमा पश्चिमी देशहरूमा यो चिन्तन बनेको थियो । ५० वर्षपछि हामी कार्यान्वयनको तहमा आइपुग्यौं । यो पुगाइले विद्यालयको स्वरूप फेर्न लाग्यो । थोरै तर विज्ञ शिक्षक वा प्राध्यापकले पुग्ने दिन आए । साना स्कुल तथा कलेज भए पुग्ने दिन आए । संवाद स्थलका रूपमा चल्ने । देखाउन चाहिने । अर्थात् अहिले वैकल्पिक ढंगले चलाउन खोजिएको शिक्षा भोलि परिपूरक शिक्षा प्रणाली बन्छ । भोलि परिपूरक हुने शिक्षा प्रणाली पर्सि मूलधारको शैक्षिक प्रणाली बन्छ । अहिलेको मूलधारको शैक्षिक प्रणाली भोलिको शास्त्रीय प्रणाली बन्छ ।

अहिलेको केन्द्रीय सोच र सरकार भोलि विकेन्द्रित सोच र सरकारमा रूपान्तरित हुन्छ । प्रश्न हो— विगतमा टेकेर अघि बढ्ने कि शास्त्रीय बन्दै फोसिलाइज्ड हुने ? समयअनुसार चल्ने कि समयलाई चलाउने ? निर्णायकहरूको मर्जी ।

प्रकाशित : वैशाख २, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?