१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वीरगन्‍जमा तीनजना भारतीयलाई कोरोना संक्रमणको आशंकापछि नारायणी अस्पतालको आइसोलेसनमा राखियो

वीरगन्‍ज आसपासका मस्जिदमा बसिरहेका उनीहरु नमुना हेटौंडामा परिक्षण गर्दा शंकास्पद देखिएपछि थप परिक्षणका लागि काठमाडौं पठाइएको छ

हेटौंडा — कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

वीरगन्‍जमा तीनजना भारतीयलाई कोरोना संक्रमणको आशंकापछि नारायणी अस्पतालको आइसोलेसनमा राखियो

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालले यस विषयमा आधिकारिक धारणा तत्काल नदिने प्रतिक्रिया दिए । स्रोतका अनुसार पर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याइएको थियो ।

हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परीक्षण भइरहेका छन् । संघीय सरकारको सहयोगमा हेटौंडामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको थियो ।

अस्पताल सारियो

कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरुको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए । २४ जना मध्ये ३ जनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो । हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए । ‘हेटौंडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार दिउँसोसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ ।’

स्थानीयका अनुसार विगत ९/१० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भन्छन्, ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ ।’

तीनजनालाई आइसोलेसनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अप्नाएका छन् ।

प्रकाशित : चैत्र २९, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?