संकटले जन्माएको नयाँ सोच

कोभिड–१९ ले सिर्जित समस्या सुल्झाउन यहीँ उपलब्ध सामग्री प्रयोग गरेर भेन्टिलेटर, पीसीआर मेसिन, रोबोट, बुथ, फेससिल्डलगायतका टुल बनाउने प्रयास भइरहेका छन्
विजय तिमल्सिना

काठमाडौँ — थापाथली इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी कपालिक खनाल आफूले बनाएको भेन्टिलेटरलाई अन्तिम रूप दिने तयारीमा छन् । कोभिड–१९ को उपचारका लागि अस्पतालमा भेन्टिलेटर अभाव भएको थाहा पाएपछि उनले अनुसन्धान गरेर त्यसको प्रोटोटाइप तयार पारेका हुन् ।

संकटले जन्माएको नयाँ सोच

यो ‘लो कस्ट’ भेन्टिलेटर हो । बिरामीलाई बढीमा एक दिनसम्म राख्न सकिने गरी यसको डिजाइन गरिएको छ । खनालले यसको नाम ‘नोभल भेन्ट’ राखेका छन् ।

खनालले प्रोटोटाइप राष्ट्रिय ट्रमा सेन्टरका दुई जना चिकित्सकलाई देखाएका छन् । उनीहरुको सुझावअनुसार त्यसलाई सुधार्नमा उनको ध्यान अहिले केन्द्रित छ । उनले मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई पनि आफ्नो प्रोटोटाइप भेन्टिलेटर देखाइसकेका छन् । डा. कोइरालाले पनि भेन्टिलेटर सुधार्न सुझाव दिएको खनालले सुनाए ।

खनालले आफ्नो घरमा रहेका सामान जोरजाम गरी भेन्टिलेटर तयार गरेका हुन् । भेन्टिलेटरलाई काम गर्न सक्ने बनाउन आवश्यक सामान जोहो गर्नका लागि सघाउने सरकारी वचन उनले पाएका छन् । ‘स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेन्टिलेटर निर्माणका लागि आवश्यक सामान ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने । नेपाल भित्रिने जहाजमार्फत सामान ल्याएपछि भेन्टिलेटरलाई काम गर्न सक्ने बनाउने खनालले बताए ।

भेन्टिलेटर निर्माणमा खनाललाई सफ्टवेयर इन्जिनियर सुशान्त दाहालले सघाइरहेका छन् । एमआईटीले सार्वजनिक गरेको सन्दर्भ सामग्री अध्ययन गरी सोहीअनुरूप भेन्टिलेटर तयार पारेको खनालले जानकारी दिए । यसलाई विज्ञ चिकित्सकको सल्लाहबमोजिम सुधार गरी अभावको पूर्ति गर्न सकिने उनले बताए । यसको निर्माण लागत ३२ हजार रुपैयाँ जति परेको उनले जनाए ।

कोभिड–१९ को संक्रमणको भयले अधिकतर देशजस्तै नेपाल पनि तीन सातादेखि ठप्प छ । यही बेला स्थानीय स्तरको समस्या सम्बोधनका लागि नयाँनयाँ सोचसहित ‘टुल’ बनाउने प्रयास भइरहेका छन्, खनाल त्यसैका उदाहरण हुन् ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले पनि कोभिड–१९ को संकटमा स्थिति सहज बनाउन केही प्रयास गरिरहेको छ । र्‍यानका अध्यक्ष विकास गुरुङले संस्थाले ५ वटा काममा ध्यान केन्द्रित गरिरहेको जानकारी दिए । जसमध्ये पहिलो काम ड्रोन र्‍यापिङ रेस्पोन्स टिम गठन हो । यसको उद्देश्य ड्रोनसँग सम्बन्धित काम गरिरहेका संस्था र ड्रोन पाइलटलाई एकीकृत गरी ड्रोनमार्फत लकडाउन निगरानी गर्न नेपाल प्रहरीलाई सघाउनु हो ।

ड्रोनमार्फत अनुगमनका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले टेक एन्ड इन्नोभेसन समिति गठन गरेको र यसले नेपाल प्रहरीलाई ड्रोनमार्फत निगरानीका लागि सघाउन पहल गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

र्‍यान सदस्यहरुले अस्पतालमा खाना र स्वाब संकलन गर्ने रोबोट निर्माण गरिरहेका छन् । यो रोबोटले कम्प्युटरबाट दिइएको निर्देशनका आधारमा अस्पतालमा कोभिड–१९ का संक्रमित बिरामीलाई खाना पुर्‍याउने र संक्रमित वा आशंका गरिएको व्यक्तिबाट संकलित नमुना एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने काम गर्न सक्नेछ । अहिले यसको प्रोटोटाइपको काम भइरहेको र केही दिनमै पूरा भएपछि परीक्षण गर्न केही अस्पताल र चिकित्सकसँग छलफल भइरहेको गुरुङले जानकारी दिए । र्‍यानले आयोजना गर्ने यन्त्र रोबोटिक्स प्रतिस्पर्धामा कान्तिवीर नामसहित सहभागी हुन आएको समूहले यो रोबोट तयार पारिरहेको छ ।

नेपाल इन्नोभेसन म्यापिङ टुल नाम दिएर अहिले भइरहेका इन्नोभेसनलाई एकीकृत गर्ने प्लेटफर्म बनाउने काम पनि भइरहेको गुरुङले जानकारी दिए । यो वेब प्रणालीमा कोभिड–१९ संक्रमणलाई कम गर्न, उपचारमा सघाउन वा अन्य काम सहज बनाउन निर्माण गर्न लागिएको टुलबारे जानकारी दिन सकिनेछ । यसमा राख्न ७० वटा नयाँ आइडिया संकलन गरिएको उनले बताए ।

यो प्रणालीमा कुन अस्पताल, स्वास्थ्यकर्मी वा कोभिड–१९ विरुद्ध काम गरिरहेकाहरुलाई कस्तो खालको टुल आवश्यक छ भनेर पनि माग राख्न सकिने र यसमा आबद्ध भएकाहरुले मिलेर समस्या समाधानका उपाय निकाल्ने यसको अवधारणा हो । यसलाई निर्माण गरी सरकारी निकायलाई हस्तान्तरण गर्ने गुरुङले बताए ।

कोभिड–१९ र संक्रमणको विबषयमा सामाजिक सञ्जालमा फैलिने गलत जानकारी (फेक न्युज) लाई रोक्न अनलाइन टुल बनाउने काममा पनि एउटा समूह सक्रिय रहेको उनले बताए ।

र्‍यानको सुदूरपश्चिम च्याप्टरले धनगढी अस्पतालमा उपचारका लागि सुरक्षित बुथ पनि निर्माण गरेको छ । धनगढी अस्पतालको आवश्यकता सम्बोधन गर्न बुथ निर्माण गरी हस्तान्तरण गरिएको हो । दक्षिण कोरियामा चिकित्सक सुरक्षित रहेर कोभिड–१९ संक्रमित वा आशंकित बिरामी जाँच्न यस्तो सुरक्षित बुथ निर्माण गरिएको थियो । त्यही डिजाइन हेरी यहाँ बुथ निर्माण थालिएको हो ।

‘अहिले सुरु गरिएका कतिपय योजना तत्काल पूरा नहोलान् तर संकटको घडीमा नयाँनयाँ उपायका लागि भइरहेको प्रयासले राम्रो आविष्कारका लागि हामीलाई प्रेरित गर्न सक्छ, भविष्यमा हाम्रो समस्या समाधानका लागि विभिन्न विकल्प निर्माण गर्न सक्षम बनाउँछ,’ र्‍यान अध्यक्ष गुरुङले भने ।

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोगमा धनगढी अस्पतालका लागि बुथ निर्माण गरिएको हो । केन्द्रका अध्यक्ष पुनले फेसबुकमा

काठमाडौं, ललितपुर, भक्तपुर, विराटनगर, इटहरी, धरान, उर्लाबारी, बुटवल, वीरगन्ज, महेन्द्रनगर, धनगढी, पोखरा र बाग्लुङका अस्पतालमा पनि यस्तै किसिमका बुथ निर्माणका लागि विभिन्न समूहले काम गरिरहेको जानकारी गराएका छन् । ‘यो बुथ आविष्कार केन्द्रका इन्जिनियरहरुले वीर अस्पताल र सैनिक अस्पताल छाउनीका चिकित्सकसँग छलफल गरेर कोरियन डिजाइनलाई थप सुधार गरी नयाँ डिजाइन गरेका छन्,’ पुनले फेसबुकमा लेखेका छन्, ‘अन्य ठाउँमा बुथ बनाइरहेकाहरुका लागि गाइडलाइन पनि बनाइएको छ ।’

यो चिकित्सक बस्ने बुथ हो । ३ मिटर भन्दा परबाट बुथमा स्वच्छ हावा भित्र्याउने र चिकित्सकले पन्जासहितको हात बाहिर निकालेर बिरामी जाँच गर्ने गरी यो बुथ निर्माण गरिएको हो ।

केन्द्रले स्थानीयस्तरमै उपलब्ध स्रोतसाधन प्रयोग गरी तयार पारेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १ सय १८ जना एम्बुलेन्स चालकहरुलाई वितरण गरिसकेको छ । केन्द्रले तयार पारेको पीपीईको सुरक्षाको विषयमा चिकित्सकहरुले शंका व्यक्त गरे पनि पुनले भने आफ्नो फेसबुकमार्फत ‘केही खान नपाएर मर्नुभन्दा कन्दमूल खाएरै भए पनि बाँच्नु उपयुक्त’ हुने भन्दै जवाफ फर्काएका छन् ।

केन्द्रले अस्पतालमा बिग्रिएका भेन्टिलेटरहरु बनाउन पहल थाल्नुका साथै उपचारमा सघाउने कुनै किसिमका आइडिया भएका वा सामग्री निर्माण गर्न सक्नेहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

केन्द्रका अध्यक्ष पुनले फेसबुकमार्फत दिएको जानकारीअनुसार हालसम्म ४८ जिल्लाका १ सय ४५ वटा सरकारी अस्पताल, निजी अस्पताल, प्राथमिक उपचार केन्द्र, क्वारेन्टाइन सेन्टरलाई गरी २२ सय ५० वटा पीपीई हस्तान्तरण गरिएको छ । ठूला अस्पताललाई १५ देखि २५ वटासम्म, मझौला अस्पताललाई १० देखि १५ वटा र हेल्थपोस्टहरुलाई ५ वटासम्म पीपीई इिएको उनले जानकारी गराएका छन् ।

केन्द्रले ट्रमा सेन्टरको ८ वटा र वीर अस्पतालको ३ वटा भेन्टिलेटर मर्मत गरेको जनाएको छ । साथै, एक पटक प्रयोग भइसकेको मास्क र पीपीई गाउनलाई कीटाणुरहित बनाएर फेरि प्रयोगका लागि यूभी ट्रिटमेन्ट प्रणाली बनाउने प्रयास भइरहेको केन्द्रले जनाएको छ ।

फुटुङ इन्स्टिच्युट अफ टेक्नोलोजीले भने बिरामी जाँच्न आवश्यक पीसीआर मेसिनको डिजाइन गरिरहेको यसका प्रमुख वैज्ञानिक असीम ढकालले बताए ।

उनका अनुसार डिजाइन तयार भएको मेसिनलाई अटोमेसनमा लैजान अनुसन्धान भइरहेको छ । ‘स्वाब संकलन गरेर मेसिनमा राखेपछि सबै परीक्षणपश्चात् पोजेटिभ र नेगेटिभ नतिजा बताउने गरी स्वचालित बनाउने काममा लागेका छौं,’ उनले भने, ‘सरकारले सहयोग गर्ने हो भने केही समयमै यो तयार पार्न सकिन्छ ।’

अहिले भने मेसिनलाई स्वाबबाट आनुवंशिक गुण परीक्षण गर्ने काममा केन्द्रित गराइएको उनले जानकारी दिए । ‘अहिले आरएनए एक्स्ट्र्याक्ट गर्न खोजिरहेका छौं,’ उनले भने, ‘यो काम डेढ महिनाजतिमा सकिन्छ ।’ नेपालमै पीसीआर मेसिन उत्पादन गर्न र स्वचालित बनाउन सरकारको सहयोग अपेक्षा गरेको उनले बताए ।

संस्थाले यसअघि पानीमा झाडापखालाको कीटाणु परीक्षण गर्ने र फोक्सोमा श्वासप्रश्वाससम्बन्धी समस्या जाँच गर्ने टुलको अनुसन्धान गरिरहेको थियो । हाललाई भने पीसीआर डिजाइनमा ध्यान केन्द्रित गरेको ढकालले जानकारी दिए ।

नेपाल एप्लाइड म्याथम्याटिक एन्ड इन्फर्मेसन इन्स्टिच्युट फर रिसर्च (नामी) ले पनि तीनवटा आइडियामा काम गरिरहेका यसका अध्यक्ष तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले जानकारी दिए ।

नामीले विशेषगरी फेसबुकमार्फत बाँडिने जानकारी सत्य हुन् वा होइनन् छुट्याउन हेलोगोलु नामक च्याटबट बनाएको छ । यो च्याटबटले कोभिड–१९ सम्बन्धी आधिकारिक जानकारी दिन सघाउँछ ।

यस्तै, नेपालमा रहेका अस्पताल, स्वास्थ्य संस्था, त्यहाँ रहेका शय्या संख्याको सिमुलेट गर्ने टुल विकास गरिरहेको खनालले जानकारी दिए । यो टुलले कहाँ कति शय्या आवश्यक छ, कोभिड–१९ संक्रमणको जोखिम कस्तो छ भनेर जानकारी दिनेछ । यसमा नामीका वैज्ञानिकसहित विदेशमा बस्ने नेपाली मूलका वैज्ञानिकहरुले पनि सघाइरहेको उनले बताए ।

नामीले कन्ट्र्याक्ट ट्रेसिङबाट आएको तथ्यांक एकीकृत गर्न नपरोस् र दुरुपयोग पनि नहोस् भनेर सिंगापुरमा अपनाइएको जस्ता मोडल विकास गर्न लागेको उनले बताए । यो कन्ट्र्याक्ट ट्रेसिङ एपले ब्लुतुथ र जीपीएसका आधारमा कुन ठाउँ कोभिड–१९ संक्रमणको सम्भावनाले कत्ति सुरक्षित छ, लक्षण भएको व्यक्तिसग भेट भएको छ कि छैन भनेर जानकारी दिनेछ । यसमा प्रयोगकर्ताले आफूमा भएको लक्षण अपडेट गर्न सक्छन् जसको तथ्यांक मोबाइलमै रहन्छ र नजिक आएका व्यक्तिहरुलाई मात्रै जानकारी दिइन्छ । यस्तो प्रणालीले तथ्यांक एकीकृत नहुने र दुरुपयोग नहुने उनले बताए ।

कोभिड–१९ संक्रमितको पहिचानमा सघाउन युथ इन्नोभेसन ल्याबले पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सघाइरहेको छ । ल्याबले तयार पारेको कन्ट्याक्ट ट्रेसिङ एप र वेबसाइटमा सबै जिल्लाको प्रशासन कार्यालयबाट तथ्यांक संकलन भइरहेको ल्याबका संस्थापक तथा सीईओ प्रदीप खतिवडाले जानकारी दिए ।

यो प्रणालीमा विदेशबाट नेपाल भित्रिएका सबै व्यक्ति तथा उनीहरुको सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्ने र आइसोलेसनमा राख्नुपर्ने मानिसको सूची तयार पार्ने काम हुन्छ । यो प्रणालीबाट कोही व्यक्ति आइसोलेसनमा बस्नुपर्ने भनेर पहिचान भए अर्को निकायलाई जानकारी दिएर आइसोलेसनमा राख्न लगाउने गरी काम भइरहेको छ ।

संस्थागत रूपमा मात्रै नभई व्यक्तिगत रूपमा पनि आफूले जानेको सीप प्रयोग गरी उपचार सामग्री निर्माणमा सहयोग गर्ने क्रम पनि जारी छ । अवकाशप्राप्त सरकारी कर्मचारी मिङ्मार शेर्पाले घरमै बनाएको फेससिल्ड पाटन, वीर, धुलिखेल र टेकु अस्पताललाई हस्तान्तरण गरेको ट्वीटरमार्फत जानकारी गराएका छन् । उनले ट्वीटरमा फेससिल्ड बनाउने तरिकाको भिडियो बनाएर राखेका छन् । स्टेसनरी पसलमा किन्न पाइने क्लियर सिट, फर्निचर पसलमा पाइने प्लास्टिकको टेप र इलास्टिक प्रयोग गरी फेससिल्ड बनाएको उनले बताएका छन् ।

प्रकाशित : चैत्र २९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?