कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा एकै परिवारका आठ नेपाली संक्रमित

संक्रमित नेपालीको संख्या १२ पुग्यो, सबैको अवस्था सुधार हुँदै
सुरेशराज न्यौपाने

नयाँदिल्ली — मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो ।

भारतमा एकै परिवारका आठ नेपाली संक्रमित

उक्त नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोभिड–१९ संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका सबैभन्दा जेठा सदस्यले कान्तिपुरलाई बताए । उनका अनुसार सुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भयो । ‘भाइलाई अस्पताल लैजाने र ल्याउने गरेकाले शंका लागेर परीक्षण गराउँदा ममा पनि संक्रमण देखियो,’ उनले भने ।


पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो । नभन्दै अन्य ६ जनामा पनि संक्रमण देखियो । ‘परिवारका तीन जनामा मात्र रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।


४३ वर्षीय ती व्यक्तिले परिवारका अधिकतर सदस्यमा संक्रमण देखिँदा सुरुमा त सबै जना निराश भएको बताए । ‘तर पछि सबैको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि मनोबल बढ्दै गयो,’ उनले भने । उनी र अर्का एक जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा आइसोलेसनमा राखिएको छ । अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । बेलाबखत हल्का ज्वरो आए पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘बेलाबखत हल्का ज्वरो आउँछ । त्यो पनि बिस्तारै कम हुँदै गएको छ, अरू कुनै समस्या छैन,’ उनले भने ।


यसअघि दक्षिण भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीमा पनि संक्रमण देखिएको थियो । नेपालको सुदूरपश्चिम बझाङ घर भएका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो । उनीहरूमध्ये पहिले श्रीमतीमा दुई साताअघि संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदार थिइन् । त्यस परिवारकी एक महिला गत १२ मार्चमा लन्डनबाट आएकी थिइन् ।


यसैगरी दिल्लीको इस्लामिक भेलामा सहभागी भएका दुई नेपालीमा पनि कोभिड–१९ देखिएको थियो । भेलामा सहभागी भएर हरियाणाको अम्बाला र उत्तरप्रदेशको बागवात जिल्लाको खेखडा पुगेका उनीहरूमा संक्रमण देखिएको हो । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित : चैत्र २८, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?