हिँडेरै १६३ किलोमिटर

राजकुमार कार्की

सिन्धुली — सप्तरीको हनुमान नगरका कमलेश मण्डल सिन्धुली सदरमुकाममा आइपुग्दा फतक्कै गलेका थिए । खुट्टा सुन्निएको थियो, जसोतसो ज्यानलाई घर पुग्ने आशमा धकेलिरहेका थिए । काठमाडौबाट चार दिन लगातार हिँडेर सिन्धुली आइपुगेका उनले कान्तिपुरका राजकुमार कार्कीलाई यात्राको व्यथा यसरी सुनाए :

हिँडेरै १६३ किलोमिटर

बालाजुमा घर निर्माणको काम गर्दै थियौं । मिस्त्री र लेबर गरी हाम्रो टोलीमा १७ जना थियौं । कोरोनाका कारण यातायात बन्द हुने भन्ने हल्ला त चलेको थियो, तर सिरहा, उदयपुर र सप्तरीका हामी कामदारलाई सबै बन्द हुने थाहै भएन । पहिलोपटक लकडाउन भनेको साता मेसमा रहेको दालचामलबाट काम चलाइयो, भएको रासन सकिँदै थियो । त्यही बीचमा हामीलाई काम लगाउने ठेकेदार पनि हराए । मोबाइल स्विच अफ रहेछ ।


सबैको साथमा एक हजारदेखि तीन हजारसम्म पैसा भएको जानकारी भयो । १२ दिन बितेपछि अब हुँदैन, जे जसरी भए पनि घर पुग्नुपर्छ भनेर सबैले झोलामा आआफ्ना पुराना कपडा हालेर निस्कियौं, पहिलो दिन बनेपामा बास बस्यौं । सबै होटलपसल बन्द थिए । दिउँसो हिँड्दा नै खुलेको पसलमा एकएक पोका चाउचाउ किनेकाले काम दियो । धुलिखेल नपुग्दै वरपिपलको रुख भएको चौतारामा रात काटियो । धेरैले हाम्रो टोलीको हुल देखेर सोधखोज गरे, हामीले समस्या दर्सायौं ।


गाँस छोड्नु साथ नछोड्नु भन्छन्, त्यसैले कोही हिँड्न नसके आराम गर्दै हिँड्यौं । बिहान झिसमिसेमा धुलिखेल हुँदै कालोपत्रे सडकबाट ओरालो झरियो । भकुण्डेबेंसी आइपुग्दा मध्य दिन भएको थियो । पानीबाहेक केही खाएका थिएनौं । खान पाउने छाँट नै थिएन । एउटा सानो पसल खुलेको रहेछ । बिस्कुट किनेर खायौं, नजिकै धारा रहेछ, त्यसैबाट प्यास मेट्यौं ।


जसोतसो एकैदिन काभ्रेको मंगलटार आइपुग्यौं, त्यहाँ भने चौकी नजिकै एउटा होटल रहेछ । खाना बनाइदिन अनुरोध गर्‍यौं तर सुत्ने ठाउँ रहेनछ । नजिकै चौताराको चिसो भुइँमा नै सुत्यौं । बिहान उठ्दा चिसोमा सुतेकाले धेरै साथी हिँड्न नसक्ने भए, तैपनि बाटो ततायौं । सिन्धुलीको नेपालथोक, झाँगाझोली, रातमाटा हुँदै खुर्कोट आएर बास बसियो । त्यहाँ पनि उही त हो समस्या । खाना त जसोतसो, भररात चौतारामा काट्यौं । चौथो दिन बल्ल यहाँ आइपुगेका छौं । अब हिँड्न सक्ने तागत छैन । गाडी पाइएला कि भन्ने आशा छ ।


सिन्धुली आइपुगेकालाई यातायातको व्यवस्था

सिन्धुली आइपुगेका उनीहरूलाई प्रहरीको सहमतिमा सप्तरीसम्म यातायातको व्यवस्था गरिएको छ । मण्डलसँगै रहेका उदयपुर गाईघाटका आशाराम दनुवारले गाडी पाइन्छ कि भन्ने आशमा बीपी राजमार्गको कालोपत्र सडक नछोडेको सुनाए । धेरै स्थानीयले उनीहरूलाई छोटो पैदल बाटो हिँड्न सुझाएका थिए । उनले भने, ‘भुलिने र सडकमा गाडी चढ्न पाइन्छ कि भन्ने झिनो आशाले गर्दा लामो हिँडाइ हिँडियो ।’ उनीहरूले कोटेश्वरदेखि सिन्धुलीसम्मको १६३ किलोमिटर सडक हिँडेरै पार गरेका थिए ।


पछिल्ला केही दिन पैदल हिँड्नेको उद्धार गर्नमै बितेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले सुनाइन् । ‘पैदल हिँडेर लखतरान भई आइपुग्छन्, मानवीयताका नाताले सकेको सहयोग गर्नै पर्‍यो,’ उनले भनिन्, ‘सवारी साधन भेटे प्रशासनसँग समन्वय गरेर पठाउने गरेका छौं, नभए खानाखाजाको व्यवस्था गरेर पठाउने गरेका छौं ।’


दोस्रो पटक लकडाउन सुरु भएपछि पैदल हिँड्नेले मुस्किलले सवारी साधनमा यात्रा गर्न पाएका छन् तर बिहीबार सिन्धुलीको नेपालथोक टेकेकाले नि:शुल्क सिन्धुलीको सीमा चुरेसम्म यात्रा गर्न पाए । मोरङका र पूर्वी तराई घर हिँडेकालाई सिन्धुली प्रशासन, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी मिलेर नेपालथोकदेखि–धनुषाको चुरे क्षेत्रसम्मको सवारी मिलाइदिएका थिए । पहाडी जिल्लामा खाद्यान्न पुर्‍याएर फर्किएका ट्रक, सदरमुकामको भगवती आवासीय विद्यालयका दुईवटा बस र अन्य साना सवारीमा पठाइएको हो ।

प्रकाशित : चैत्र २७, २०७६ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?