पौडेलद्वारा कोरोनापछिको अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेका छन् । पौडेलले बिहीबार भिडियो कन्फरेन्समार्फत विज्ञहरुसँग कोरोना संक्रमणपछिको अर्थतन्त्रबारे छलफल गरेका हुन् । 

छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु गोविन्द पोखरेल, स्वर्णिम वाग्ले तथा विज्ञहरु कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाॅई सहभागी थिए ।


छलफलमा सहभागी विज्ञहरुले अब अर्थतन्त्र उकास्न कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिएका थिए । छलफल कोरोनापछिको कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेले बताए ।


विज्ञहरुले स्थिति सामान्य भएपछि कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा वृद्धि गर्नुपर्ने बताएका थिए । वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने सुझाएको बताए ।


छलफलमा पौडेलले आजको युग अनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरुसँग मागेका थिए ।

प्रकाशित : चैत्र २७, २०७६ १९:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'डायलसिस गर्न रगत चाहिन्छ रे, मसँग चुल्हो बाल्न पनि पैसा छैन'

फातिमा बानु

काठमाडौँ — बुधबार साँझदेखि ललितपुरको इमाडोलका ४० वर्षीय पूर्ण बलामीलाई पिसाब पोल्ने समस्या भयो। खान मन गरेनन्। तारन्तार बान्ता हुन थाल्यो। श्रीमती गीता के गर्ने कसो गर्ने भन्दै अत्तालिइन्। उनले कान्तिपुरसित रुँदै फोनमा भनिन्, 'बूढालाई अस्पताल लैजाने पैसा थिएन। म गुहार माग्न गाउँतिर निस्केँ।' उनी एक फन्को गाउँ पुगेर आउँदा बलामीको मुन्टो बांगो भइसकेको थियो, बोल्न छाडेर अर्धचेत अवस्थामा थिए।

छिमेकीले १०२ मा फोन गरेर एम्बुलेन्स बोलाइदिए र चार हजार चन्दा उठाएर वीर अस्पताल पठाए। अक्सिजन जोडेर गीताले श्रीमान्‌लाई राति ११ बजे वीरको आकस्मिक कक्ष पुर्‍याइन्। बलामीको दुई महिनाअघि नै मिर्गौला फेल भएको डाक्टरहरुले बताएका थिए।

यसअघि उनको वीरबाटै आकस्मिक रुपमा पाँचपटक मिर्गौला डायलसिस भएको थियो। विपन्नको सिफारिसपत्र चाहिन्छ भन्दै अस्पतालले पाँचपटकभन्दा बढी निःशुल्क डायलसिस गर्ने नमिल्ने भन्दै उनलाई फिर्ता गरेको बताइन्।

सिफरिसपत्रबिना डायलसिस नहुने भएपछि गीताले १८ दिनअघि १४ वर्षको छोरालाई सिफारिसपत्र बनाउन स्थायी घर मकवानपुरको कुलेखानी पठाइन्। गाउँ पठाएको भोलिपल्ट सरकारले लकडाउन घोषणा गरेपछि छोरा उतै अड्किए।

यता अस्पतालले सिफारिसबिना डायलसिस गर्दै नगर्ने अड्डी कस्यो। बुधबार राति श्रीमान्‌को ज्यानै जाने अवस्था आएपछि उनले अस्पताल पुर्‍याइन्। अस्पताललाई आफ्नो समस्या बताएपछि अन्ततः डायलसिस हुने भयो।

तर, 'अभागीलाई खानेबेला आँधी हुरी' भनेजस्तै उनको डायलसिस तत्काल गर्न नमिल्ने भयो। शरीरमा रगतको मात्रा निकै कम देखियो।
'डाक्टरले उहाँलाई जाँचेर शरीरमा रगतै छैन यस्तो अवस्थामा डायलसिस गर्न मिल्दैन भने,' गीताले भनिन्, 'तीन पोका रगत चढाउनुपर्छ भने। तर मसँग रगत किन्ने पैसा नै छैन।'

चन्दाबाट उठेको चार हजारमध्ये उनले दुई हजार एम्बुलेन्सलाई बुझाइसकेकी थिइन्, एक्सरे र अन्य परीक्षणमा बाँकी दुई हजार सिध्याएकी थिइन्।

रगतबिना डायलसिस मिल्दैमिल्दैन भनेर बलामीलाई अस्पतालले डिस्चार्ज गरेर घर पठायो। 'पैसा छैन भनेर अस्पतालमा गुहार मागेँ कसैले सुनेन,' उनले भनिन्, 'मरे पनि घरमै मरुन् भनेर ल्याएँ। उहाँ बोल्न पनि सक्नुहुन्न। म के गरुँ?'बलामी दम्पतीले १७ वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका थिए। त्यसैले परिवारले उनीहरुलाई अझै स्विकारेका छैनन्। उपचार खर्चमा सघाउनुपर्‍यो भनेर घरमा फोन गर्दा, 'जात फालेर हिँडेको मान्छे हाम्रो लागि मरिसक्यो, मतबल छैन' भन्ने जवाफ पाएको उनले सुनाइन्।

गीता र पूर्णका चार सन्तान छन्। दुई छोरीले आफूखुसी विवाह गरिसके। त्यसपछि उनीहरु फर्केर आएका छैनन्। श्रीमान् डकर्मी र श्रीमती ज्यामी काम गर्थिन्। दिनभरि कमाएको खर्चले उनीरूलाई बिहानबेलुका हातमुख जोर्न मात्रै पुग्थ्यो। लकडाउनपछि काम रोकियो। अहिले घरमा एक माना चामल पनि नभएको उनले सुनाइन्।

'छिमेकीले दया गरेर एक मुठी चामल दिन्छन्,' उनले भनिन्, 'आँगनमा दाउरा बालेर पकाउँछु।'
मासिक तीन हजार भाडा तिरेर बलामी दम्पती इमाडोलमा कोठा लिएर बस्थे। बलामीको खुट्टा सुन्निँदै गएपछि 'यस्तो मान्छे त छिट्टै मर्छ, हामीलाई अप्ठेरो पर्छ' भनेर घरबेटीले कोठाबाट निकालिदिए। उनीहरूको बिजोग देख्न नसकेर छिमेकी मिलेर गाउँको खाली जग्गामा टहरा बनाइदिए। अहिले उनीहरू त्यहीँ बस्छन्।

अस्पतालबाट फर्किएपछि बलामी बोल्न र खान छोडेका छन्। श्रीमान् बचाउन कुनै कसर नछोडेकी गीता प्रार्थनाबाहेक केही गर्न सक्ने अवस्थामा छैनन्।

'छोराछोरी पाएँ, आज मर्ने बेलामा छाडेर गए, बरु म बाँझी भएकी भए यति दुःख लाग्थेन होला,' उनका आँखा रसाए।

प्रकाशित : चैत्र २७, २०७६ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×