१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रसुवागढीबाट सामान आयात-निर्यात नहुने

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट तत्कालका लागि सामान आयात-निर्यात नहुने भएको छ। चीन सरकारले अहिलेलाई तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने जानकारी नेपाल सरकारलाई गराइसकेको छ। 

रसुवागढीबाट सामान आयात-निर्यात नहुने

केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आवतजावत तथा आयात-निर्यात ठप्प भएको छ। कोरोना संक्रमण तथा ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदा लगायतका कारण सो नाका सुनसान छ।


कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मालसामान आयात तथा निर्यातका लागि रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो। समितिको निर्णयपश्चात् चैत १२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई तातोपानी र रसुवागढी नाकाबाट सामान आयात गर्न आग्रह गर्दै पत्राचार गरेको थियो।


चीन सरकारले चैत २० गते परराष्ट्र मन्त्रालयलाई पत्रको जवाफ पठाउँदै अहिलेलाई तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने सकिने जानकारी दिएको मन्त्रालय स्रोतले बताएको छ।


परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रको जवाफमा अत्यावश्यक स्वास्थ्य सामग्री मात्र तातोपानी नाकाबाट निर्यात हुने उल्लेख छ। तातोपानी नाकाबाट मात्रै अत्यावश्यक वस्तु चीनबाट आयात गर्ने सर्त पत्रको जवाफमा रहेको एक अधिकारीले बताए। चीन सरकारले नेपालबाट सामान आयात गर्ने विषयमा चासो नदेखाएको स्रोतको भनाइ छ।


नेपालतर्फको रसुवागढी र तातोपानी भन्सार दुवै खुल्ला रहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए। 'सामान आयातका दुवै नाकामा सबै पूर्वाधारको तयारी पूरा भइसकेको छ,' उनले भने, 'कर्मचारीहरु पनि भन्सार कार्यालय खोलेर बसेका छन्।'

प्रकाशित : चैत्र २७, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?