हेलिकप्टर कम्पनीहरुले कर्मचारीहरुको ६५ प्रतिशत आधारभूत तलब कटौती गरे 

सुरज कुँवर

काठमाडौँ — नेपालमा रहेका १० निजी हेलिकप्टर कम्पनीले पाइलट, इन्जिनियरलगायत कर्मचारीहरुका आधारभूत तलबको ६५ प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् ।

हेलिकप्टर कम्पनीहरुले कर्मचारीहरुको ६५ प्रतिशत आधारभूत तलब कटौती गरे 

हेलिकप्टर कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बुधबार बसेको हेलिकप्टर कम्पनीहरुले बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । ‘बुधबार ५ वटा निर्णय गर्‍यौै,’ हेलि एभरेस्टका सीइओसमेत रहेका संघका प्रवक्ता कँडेलले कान्तिपुरसॅग भने, ‘पाइलटलाई ७५ हजारदेखि १ लाख २५ हजार, इन्जिनियरलाई ३५ देखि ७५ हजार, महत्वपूर्ण अहोदामा रहेका कर्मचारीलाई २५ देखि ५० हजार र अन्य कर्मचारीहरुको हकमा सरकारले तोकेको न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ मात्रै आधारभूत तलब दिने निर्णय भएको छ ।’


उनका अनुसार, अन्य भत्ता भने कटौती गरिएको छैन । ‘बेसिक स्यालरीमात्रै घटाउने निर्णय भएको हो अन्य भत्ता यथावत नै छन्,’ कँडेलले भने । यो निर्णय २०७७ वैशाखदेखि लागू हुने छ । हेलिकप्टर कम्पनीमा पाइलटले सबभन्दा बढी मासिक १० लाखसम्म बुझ्ने गर्छन् ।


उनले १० वटा हेलिकप्टर कम्पनीमा रहेका ३३ हेलिकप्टरमध्ये कोरोना भाइरसको प्रभावका कारण २६ वटा अहिले ग्राउन्डेड गरिएका जानकारी दिए । यी कम्पनीमा ७ सय २३ जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् । नेपाली हेलिकप्टर कम्पनीले वार्षिक कम्तीमा ३५ करोडदेखि १ अर्ब रुपैयाॅसम्मको कारोबार गर्छन् । यी सबैले गत वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको प्रवक्ता कँडेलले बताए ।

यसैबीच संघले ग्राउन्डेड गरिएका हेलिकप्टरको बिमावाफत बुझाउनुपर्ने प्रिमियम छुट दिलाइदिन बिमा समितिमार्फत दबाब दिने निर्णयसहित ५ वटा निर्णय गरेको हो ।


प्रवक्ता कँडेलले यो निर्णयबारे नागरिक उड्डयन प्राधिकरण, श्रम कार्यालय र कर कार्यालयलाई पनि जानकारी दिइने बताए । संघले गरेको निर्णयप्रति सन्तुष्ट नहुने पाइलट, इन्जिनियर लगायतका कामदारका लागि कानुनी बाटो खुल्ला भएको पनि बताए । तलब कटौती गर्ने निर्णय फिक्स्ड विङ (हवाई जहाज) तर्फ भने भएको छैन ।

प्रकाशित : चैत्र २६, २०७६ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?