हावाहुरी र चट्याङको सम्भावना, सचेत रहन महाशाखाको आग्रह

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन हावाहुरी र चट्याङको सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

हावाहुरी र चट्याङको सम्भावना, सचेत रहन महाशाखाको आग्रह

महाशाखाले बुधबार विशेष बुलेटिन निकालेर उच्च वेगमा हावाहुरी र चट्याङसहित असिना पर्ने सम्भावना देखिएको उल्लेख गरेको छ । ‘६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।’

भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ । उक्त प्रणाली कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ ।


चितवन, मकवानपुर, धादिङ, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरका क्षेत्रमा ६२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा उच्च गतिमा हावाहुरी र चट्याङसहित असिना पानीसमेत पर्न सक्ने महाशाखाले बताएको छ । प्रि–मनुसन (मनसुन अवधिअघि) का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ ।

गृह मन्त्रालयको विपद् प्रतिवेदनका अनुसार अघिल्ला दुई वर्षमा हावाहुरी र चट्याङबाट २ सय ५४ जनाको ज्यान गएको थियो भने ६ सय ५४ जना घाइते भएका थिए । दुई वर्षमा हावाहुरी र चट्याङका ४ सय ३२ वटा घटना भएका थिए । केही वर्षयता हावाहुरी र चट्याङले विपदको ठूलो रूप लिन थालेको छ ।


महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार चट्याङ अनुगमन गर्न जल तथा मौसम विज्ञान विभागले देशका ९ स्थानमा लाइटिङ नेटवर्क स्थापना गरेको छ ।

‘ती स्टेसनले चट्याङ पार्न मद्दत गर्ने बादल कसरी विकसित भइरहेको छ र कतातिर गइरहेको भनेर पूर्वानुमान गर्न सहयोग गर्छन्,’ पौडेलले कान्तिपुरसित भने, ‘जसले गर्दा सम्भावित चट्याङबारे पनि हामीले फरकास्ट गर्न सक्छौं ।’ त्यस्ता स्टेसन काठमाडौंसहित नेपालगन्ज, भैरहवा, सुर्खेत, विराटनगर, ओखलढुंगालगायत स्थानमा छन् ।


जोगिन के गर्ने ?

– रुखमुनि नबस्ने

– घरमा झ्याल तथा ढोका बन्द गरेर बस्ने

– विद्युतीय सामग्री तथा विद्युत् प्रवाह बन्द गर्ने

– मोबाइल र टेलिफोनको सकभर न्यूनतम प्रयोग गर्ने ।

– फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिने

प्रकाशित : चैत्र २६, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?