बझाङमा सयभन्दा बढी क्‍वारेन्टाइनबाट भागे

वसन्तप्रताप सिंह

बझाङ — बझाङमा पालिकाका क्वारेन्टाइनबाट सय जनाभन्दा बढी भागेका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्केका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो ।

बझाङमा सयभन्दा बढी क्‍वारेन्टाइनबाट भागे

विभिन्न ३४ क्वारेन्टाइनमा राखिएका उक्त संख्याका व्यक्ति पूरा अवधि नबसेरै भागेका हुन् । क्वारेन्टाइनबाट भाग्नेको यकिन तथ्यांक भने कुनै निकायले राखेका छैनन् ।


थलारा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट ५२ जना र दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनबाट ३५ जना भागेको स्वास्थ्य कार्यालय बझाङका कोरोना महामारी नियन्त्रण फोकल पर्सन नारायण जोशीले बताए । ‘सय जनाभन्दा बढी भागेको जानकारी आएको छ,’ उनले भने ।


धेरैजसोले क्वारेन्टाइनमा उपलब्ध सुविधा चित्त नबुझेको भन्दै भागेको र कसैले घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने भनेर गएको जोशीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिहरूले भने क्वारेन्टाइनबाट भागेकाहरूको पनि बचाउ गर्दै उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको दाबी गर्दै आएका छन् । हाल क्वारेन्टाइनबाट भागेका र त्यहाँ बसिरहेकाहरूको संख्या सरकारले लकडाउनको घोषणा गरिसकेपछि बझाङ प्रवेश गरेकाहरूको हो ।


लकडाउनअघि भारत र अन्य मुलुकबाट २० हजार हाराहारीमा आएको अनुमान गरिए पनि संख्या यकिन छैन । उनीहरूको निगरानी पनि कसैले गरेको छैन । उनीहरूको निस्फिक्री गतिविधिका कारण जोखिम झन् बढ्ने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।


उच्च जोखिम, फितलो सतर्कता

गत सोमबार जिल्लाको प्रसिद्ध मेला बान्नीकी चैतली मनाउन छविसपाथीभेरा गाउँपालिकाको बान्नीचौरमा सयौंको संख्यामा भेला भएको खबर सामाजिक सञ्जालमा भाइरल भयो । धार्मिक प्रक्रिया पूरा गर्न न्यून संख्या मात्रै भेला हुन गाउँपालिकाले गरेको आग्रहको बेवास्ता गर्दै स्थानीय चैतली मेला भर्न पुगेका थिए ।


यसअघि चैत १९ मा चैतेदसैंका दिन पनि जिल्लाका विभिन्न मन्दिरमा स्थानीय भेला भएर धुमधामसँग पूजापाठ गरेका थिए । उनीहरूले कोरोनाको जोखिमबाट बचाउन भन्दै मन्दिरमा राँगा र बोकाको बलिसमेत दिएका थिए । जयपृथ्वी नगरपालिका–१ मा मात्रै दसैंका दिन ५० भन्दा बढी पशु बलि दिएर विभिन्न १० वटा मन्दिरमा सामूहिक पूजाआजा गरिएको स्थानीय कस्मेर सिंहले बताए । उनका अनुसार कोरोनाको संक्रमण फैलिसकेपछि भारतबाट फर्केकाहरू पनि पूजाआजामा सहभागी भएका थिए ।


‘इन्डियाबाट आएकाहरूमध्ये धेरैजसोले मन्दिरमा बोका चढाए । धामी काँपेर गाउँका सबैलाई कोरोनाबाट बचाउने भनेपछि मानिसहरू ढुक्क भएका छन्,’ उनले भने, ‘मेला, पर्व र पूजाआजा रोकिएका छैनन् ।’


बिसु पर्वको तयारीमा देउडा र जमघट

सदरमुकाम चैनपुरमा व्यापक प्रहरी परिचालन गरेर लकडाउनको पालना गराइएको छ । तर गाउँ भने अहिले बिसु पर्वको रौनकले गुल्जार छन् । चैत १५ देखि नै प्रत्येक साँझ महिलाहरू जम्मा भएर झिमकेउडा (नयाँ वर्षको स्वागतस्वरूप सामूहिक रूपमा गाइने देउडा खेल) खेलिरहेका छन् । बाहिरबाट गाउँ फर्केकाहरू समूहमा बसेर भोजभतेर गर्न थालेका छन् । सबैजसो गाउँमा युवाहरू मिलेर भलिबल, फुटबल र क्रिकेटलगायत खेल र वयष्कहरू तास खेलिरहेका भेटिन्छन् ।


अधिकांश जनप्रतिनिधिहरूले स्थानीयले सतर्कता अपनाउन बेवास्ता गरेका कारण लकडाउनको पालना गराउन नसकेको बताउने गरेका छन् । ‘यस्तो बेलामा भिडभाड हुने काम नगरौं भन्दा कसैले मान्दैनन्,’ जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले भने, ‘एक–दुई जनाले मात्रै अटेर गरेको भए कारबाही गर्न हुन्थ्यो । सबै उस्तै छन् । कसरी रोक्नु ?’

प्रकाशित : चैत्र २६, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?