लकडाउन अवज्ञा गरी मेला सञ्‍चालन गरेको आरोपमा चार वडाध्यक्षसहित ९ जना प्रहरीको नियन्त्रणमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन अवज्ञा गरी मेला सञ्‍चालन गरेको आरोपमा चार वडाध्यक्षसहित ९ जना प्रहरीको नियन्त्रणमा

वसन्तप्रताप सिंह

बझाङ — लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्‍चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा छविसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराले बताए । पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए ।


पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वत:स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ । ‘मेलामा उपस्थित नहुनका लागि हामीले जिल्लाका सबै रेडियोबाट सूचना प्रसारण गरेका थियौं । गाउँगाउँमा सूचना टाँसेका थियौं’ वडा नं २ का अध्यक्ष विकास अयडीले भने ‘त्यति गर्दा गर्दै पनि स्थानीयहरु उर्लेर आए । प्रहरी प्रशासनको पनि उपस्थिति नभएपछि हामीले कसरी रोक्ने ?’ उनले आफूहरुलाई बिनाकारण पक्राउ गरिएको र यसमा जनप्रतिनिधिहरुको दोष नरहेको बताए ।


यता लकडाउन उल्लंघनको अभियोगमा छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला लगायत केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।


पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रजिअ पाण्डेले बताए ।


प्रकाशित : चैत्र २६, २०७६ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

एकै व्यक्तिद्वारा सबै वडावासीलाई निःशुल्क मास्क, गाउँपालिकालाई स्वास्थ्य सामग्री 

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–१० का सबै बासिन्दालाई सोही ठाउँका हरि चन्दले निःशुल्क सर्जिकल मास्क वितरण गरेका छन्। कोरोना भाइरसको संक्रमणको रोकथाम र स्वास्थ्य सुरक्षाका लागि भन्दै वडाभरका एक हजार ७ सय जनालाई चन्दले मास्क वितरण गरेका हुन्।

पहिलो चरणमा एक हजार ३ सय र दोस्रो चरणमा ५ सय मास्क वडा कार्यालयमार्फत वितरण गरिएको चन्दले बताए। काठमाडौंबाट मास्क किनेर पठाइदिएपछि वडा कार्यालयमार्फत वितरण गरिएको वडाध्यक्ष अर्जुन चन्दले बताए।

मास्क वितरण गर्ने चन्दले नै बाँफिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री पनि सहयोग गरेका छन्। उनले ७२ हजार मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य शाखाका अहेब सुनिल केसीका अनुसार चन्दले ४ वटा इन्फ्रारेड थर्मोमिटर र ३० थान एन९५ मास्क सहयोग गरेका हुन्। मंगलबार गाउँपालिकामा सांसद जनार्दन शर्मामार्फत तीन वटा इन्फ्रारेड थर्मोमिटर प्राप्त भएको थियो। गाउँपालिकाका १० वटै वडा स्वास्थ्य संस्था तथा गाउँपालिका प्रवेश गर्ने नाकामा हेल्थ डेस्क राखिएको छ।

प्रकाशित : चैत्र २६, २०७६ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×