कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाबारे नेकपा सचिवालयको निष्कर्ष– सरकारका नीति ठीक, कार्यान्वयन कमजोर

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ । 

कोरोनाबारे नेकपा सचिवालयको निष्कर्ष– सरकारका नीति ठीक, कार्यान्वयन कमजोर

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार करिब पाँच घण्टा बसेको सचिवालय बैठकमा कोरोनाविरुद्ध सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव सदस्यहरुले दिएका थिए । बैठकको सुरुमै प्रधानमन्त्री एव‌ं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को नियन्त्रण र उपचारका सन्दर्भमा सरकारले लिएका निर्णयहरुबारे जानकारी गराएका थिए ।


बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक ईश्वर पोखरेलले अहिलेसम्म समितिहरुले गरेका निर्णय र कामबारे बैठकमा जानकारी गराएका थिए । ‘कोभिड–१९ विरुद्ध लड्न सरकारले अहिलेसम्म लिएका नीति निर्णयहरु सही छन् । तर, अझै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव सचिवालयका अधिकांश सदस्यहरुले दिनुभएको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।


पार्टीलाई एकताबद्ध बनाउने, कोभिड–१९ को विरुद्ध सरकारले ल्याएका कार्यक्रमलाई प्रभावकारी बनाउने र सिंगो देशलाई एकताबद्ध गराएर अगाडि बढाउने निष्कर्ष बैठकको रहेको प्रवक्ता श्रेष्ठले बताए ।


यस्तै सरकारका नीति कार्यान्वयनका लागि पार्टी एकताबद्ध हुनुपर्ने, पार्टीभित्र अन्तरविरोध पैदा गर्ने वा कमजोर बनाउने काम कसैले गर्न नहुने बैठकको निष्कर्ष छ ।


पार्टी र सरकारका नीति कमजोर बनाउन पार्टीभित्रै कोही संलग्न भएको पाइएमा कडा कारबाही गर्नुपर्ने सुझाव पनि बैठकमा सदस्यहरुले राखेका थिए ।


‘सबै सदस्यहरुले राखेको सुझावअनुसार पार्टी र सरकारका नीति, कार्यक्रम कमजोर बनाउन नेतृत्व होस् वा अरु जो कोही संलग्न भएको पाइएमा कडा कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।


पार्टीले दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने आश्वासन प्रधानमन्त्रीले बैठकमा दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका थिए ।


कोभिड–१९ विरुद्ध सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने तर पार्टीमा छलफल भएर सरकारले सुझाव लिनुपर्ने अध्यक्ष दाहालले राखेका थिए ।


प्रकाशित : चैत्र २५, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?