कुकुरको टोकाइबाट एकको मृत्यु भएपछि ५० जनालाई रेविज विरुद्धको खोप लगाइयो

हरिराम उप्रेती

गोरखा — सिरानचोक गाउँपालिका–२ उपल्लो पामका ४५ वर्षीय रामबहादुर गुरुङको कुकुरको टोकाइबाट मृत्यु भएपछि ५० जना स्थानीयलाई रेविज विरुद्घको खोप लगाइएको छ । 

माघ २ गते कुकुरले टोकेपछि रामबहादुरलाई रेविजको लक्षण देखिएको र चैत १३ गते मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

‘मृतक रामबहादुरको संसर्गमा रहेका २७ जनालाई रेविज विरुद्घको भ्याक्सिन लगाउनै पर्ने देखियो,’ उनले भने,‘स्वास्थ्यकर्मी स्थलगत गएर बुझ्दा ५० जनालाई खोप लगाउनुपर्ने रहेछ ।’


कुकुरको टोकाइबाट छिमेकीको मृत्यु भएपछि त्रसिद १६ जना स्थानीयलाई पहिलो र दोस्रो चरणको खोप लगाइसकिएको र मंगलबार थप ३४ जनालाई पहिलो चरणको खोप लगाइएको अध्यक्ष गुरुङले बताए ।


गोरखा अस्पतालसँग समन्वय गरेर घरमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्यकर्मी रामचन्द्र पाण्डेले बताए । रेविज विरुद्घको खोप तीन पटक दिनुपर्ने र सोही अनुसार व्यवस्था मिलाइएको उनले बताए ।


माघ १० गते ८३ वर्षीया कलावती गुरुङ र माघ १६ गते हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको पाण्डेले बताए ।


‘स्थलगत रुपमा गएर बुझ्दा तिनै जनालाई फरक–फरक कुकुरले टोकेको छ,’ उनले भने । रेविजको लक्षण एक देखि तीन महिनामा देखिने उनले बताए । गाउँमा रहेका कुकुर र पशु चौपायाको विषयमा पनि पशु शाखाबाट खटिएको टोलीले अध्ययन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रमेशचन्द्र अधिकारी

धनकुटा — सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना भाइरस नियन्त्रणका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

प्रतिष्ठानबाट औद्योगिकग्राममा रहेको आइसोलेसन तथा क्वारेन्टाइन, जिल्ला अस्पताल सहित जिल्लाका ११ स्वास्थ्य संस्थाका लागि ७४ थान पीपीई, एम्बुलेन्स चालकका लागि २२ सेट पञ्जा, सेनिटाईजर, साबुन, मास्क लगायतका सामाग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए ।

सामाग्री प्रतिष्ठानका निर्देशक मदन घिमिरेले प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीलाई हस्तान्तरण गरेका थिए । विपत् व्यवस्थापन समितिमार्फत सामग्री सम्बन्धित संस्थामा वितरण गरिने प्रजिअ विमलीले बताए ।

यसैगरी, प्रतिष्ठानका अध्यक्ष थापा र नेपाल उद्योग वाणिज्य महासंघका राष्ट्रिय उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य संघलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा खोलिएको प्रतिष्ठानले वितरित सामग्री हेलिकप्टरबाट ढुवानी गरि धनकुटा पुर्याइएको थियो ।

प्रकाशित : चैत्र २५, २०७६ १९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×