कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

थर्मल गनमा कालोबजारी गर्ने शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ 

मातृका दाहाल

काठमाडौँ — ज्वरो नाप्‍ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो । 

थर्मल गनमा कालोबजारी गर्ने शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ 

उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ । नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्‍म लिएर बिक्री गरेका थिए । गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ ।


अपराध महाशाखाका एसएसपी सहकुल थापाले अग्रवाललाई कालोबजारीको कसुरमा पक्राउ गरिएको बताए । अहिले प्रहरी नक्सालस्थित अग्रवालको घरमा खानतलासीका लागि पुगेको छ ।


अग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी अनुसन्धान गर्न ग्राहक बनेर गएको थियो । 'हामी आफैं ग्राहक बनेर अग्रवालसँग डिल गरेका थियौं । आवश्यक प्रमाण जुटेपछि उनलाई पक्राउ गरिएको हो, ' एसएसपी थापाले भने ।


ग्राहक बनेको प्रहरीलाई सामान पुर्‍याउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए । यस विषयमा अनुसन्धान भइरहेको थापाले बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?