लकडाउन उल्लंघन गर्दै बझाङमा भव्य मेला - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन उल्लंघन गर्दै बझाङमा भव्य मेला 

तृप्ति शाही

बैतडी — कोरोनाको प्रभावले देश लकडाउनमा रहेको अवस्थामा पनि बझाङको छविसपाथीभेरा गाउँपालिका—३ को बान्‍नीकोटमा धुमधामसंग मेला लागेको छ । वर्षेनी लाग्ने बान्‍नीकी चैतली मेला लकडाउनको समयमा पनि लागेको हो । 

स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेलाको समापन भव्य रुपमा गरेका हुन् । काकर सेलाउने भनेर मेलाको समापन गर्ने परम्परा अनुसार नागरिक जम्मा भएर मेला लगाएका जयपृथ्वी नगरपालिकाका स्थानीय रिदम सिंहले बताए । मेलामा भकुन्डो प्रतियोगीता पनि गरिने चलन रहेको र त्यो पनि भएको उनले सुनाए ।


११ गते घर बाट सबैले लिंगो बनाएर मेला लगाउने प्रशासनलाई जानकारी भएको र स्थानीयले मनाउने तयारी गरेपनि आफूले रोक्न आदेश दिएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए ।


‘हामीलाई त पहिले मेला सकिसकेको हो । त्यहाँ कुनै किसिमको मेला पर्वहरु छैनन् भन्ने हिसाबले पनि सुरक्षा केही पठाइएन । थाहा नै भएन,’ पाण्डेयले भने,‘पालिकाका अध्यक्षसंग पनि दैनिक कुराकानी भइरहन्छ । केहि हैन सर खाली परम्परा मात्र धान्ने हो । दुई/चार जनाले मात्र लिंगो चढाएर सेलाउने हो । ठूलो मेलाको कार्यक्रम केहि हैन भन्नुभएको थियो ।’


बझाङको छवीसपाथीभेरा ३ को बान्नीकोटमा लागेको चैतली मेला । तस्बिरः सौजन्य/रिदम सिंह


करिब ३ सय मानिस मेलामा जम्मा भएको खबर आफूलाई आएको पनि उनले सुनाए । विकट पालिका भएकोले घण्टौं हिँडाएर प्रहरी पठाए पनि प्रहरी जाने बेलासम्म मेला सकिसकेको उनले बताए ।


मेला लागेको वडाका नागरिकको मात्र मेलामा सहभागिता भएको प्रजिअ पाण्डेयले दाबी गरे । अन्य वडाका सीमानाकामा प्रहरी भएकोले छिर्न नपाएका उनले बताए ।

लकडाउनको बेलामा मेला आयोजना हुँदा संकट निम्तन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले बताए ।


मेलाको भीडमा जम्मा भएका मध्ये एकजनालाई संक्रमण भएको भए मात्रै गुणात्मक तरिकाले धेरेलाई हुन सक्ने सम्भावना रहेको उनले बताए । यस्ता भेलाले महामारीको रुप लिन सक्ने उनको भनाइ थियो ।


यो महिना सुदूरपश्चिमका बैतडी सहित अन्य पहाडी जिल्लामा मानिसहरु जम्मा भएर विभिन्न मन्दिरमा पूजाआजा र बलिसहित भव्य मेला लाग्ने भएपनि यो वर्ष शक्तिपीठहरु सुनसान बनेका छन् ।

प्रकाशित : चैत्र २५, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना उपचार कोषमा सांसद र कर्मचारीको तर्फबाट १ करोड १ लाख रुपैयाँ जम्मा

कांग्रेस, समाजवादी र राजपाले घोषणा गरेको रकम आउन बाँकी
जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लड्‍नका लागि सरकारले स्थापना गरेको 'कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष'मा संघीय संसद्का सांसद र कर्मचारीहरुका तर्फबाट १ करोड १ लाख ३२ हजार ८ सय रकम जम्मा गरिएको छ । 

उक्त कोषमा सभामुख अग्‍निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक-एक महिनाको पारिश्रमिक बराबरको ६७ हजार ३२० रुपैयाँका दरले जम्मा गरेका छन् । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दहालले भने उक्त कोषमा ७० हजार ७३० रुपैयाँ जम्मा गराएकी छिन् ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार उक्त कोषमा नेकपाका १९५ सांसदले रकम जम्मा गराएका छन् । नेकपाका सांसदहरूको तर्फबाट ६३ लाख २ हजार ५९० रुपैयाँ जम्मा गरिएको छ । नेकपाले सबै सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम जम्मा गराउने निर्णय गराएको थियो ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोना कोषमा ६४ हजार ७० रुपैयाँ र जनमोर्चाकी सांसद दुर्गा पौडेलले ३२ हजार ३५ रुपैयाँ जम्मा गराएकी छन् ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा सांसदका निजी सचिवालयका तर्फबाट २१ लाख ४६ हजार ८५६ रुपैयाँ जम्मा गरिएको छ भने संसद् सचिवालयका स्थायी कर्मचारीहरूले ११ लाख १७ हजार ९७९ रुपैयाँ जम्मा गराएका छन् ।

संसद् सचिवालयमा करारमा कार्यरत कर्मचारीहरूले २ लाख ६३ हजार ९ सय रुपैयाँ जम्मा गराएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी लगायतका दलहरूले उक्त कोषमा रकम जम्मा गर्ने घोषणा गरेका थिए । यी दलहरूले सबै सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका थिए । त्यस्तै, केही सांसदहरूले एक महिना भन्दा बढीको पारिश्रमिक कोषमा राख्‍ने घोषणा गरेका थिए । तर, सार्वजनिक रूपमा भएको घोषणाले औपचारिकता पाएको छैन ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पहिलो चरणमा उक्त रकम जम्मा गरिएको र बाँकीको अर्को चरणमा गरिने जानकारी दिए । 'यो पहिलो चरणको रकम हो । केही घोषणा गरेका छन् तर लिखित रूपमा आइसकेको छैन,' पाण्डेले भने, 'अरु दलहरू र माननीयहरूले मिडियामा घोषणा गर्नुभएको छ । लिखित पत्र आएपछि प्रक्रिया अगाडि बढ्छ र दोस्रो चरणमा जम्मा गर्छौं ।'

चैत ९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि उक्त कोष स्थापना गरेको थियो । उक्त कोषमा संघीय सरकारका मन्त्रीहरूको एक-एक महिनाको पारिश्रमिक राख्ने निर्णय भएको थियो । उक्क कोषमा सरकारले सुरुमा ५० करोड राखेको थियो । सरकारले स्थापना गरेको कोषमा विभिन्‍न निकाय र व्यक्तिले रकम जम्मा गर्ने क्रम जारी रहेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×