‘हाम्रो स्वास्थ्यको पनि ख्याल गरे कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन तयार छौं’

काठमाडौँ — आइतबार सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । यसै सम्बन्धमा नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ३ इन्चार्ज सावित्री मैनालीसँग इकान्तिपुरकी बुनु थारुले गरेको कुराकानी :

‘हाम्रो स्वास्थ्यको पनि ख्याल गरे कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन तयार छौं’

कोरोना भाइरसका बारेमा स्वास्थ्य स्वयंसेविकाहरू कत्तिको जानकार छन् ?
अहिले त विश्वभर नै यसको महामारी फैलिराखेको छ । देशका विभिन्न ठाउँमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरू यसबारे जानकार हुनुहुन्छ भन्ने मलाई लाग्छ । किनकि जताततै यसकै चर्चा छ, स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले पनि यसबारे जानकार हुन जरुरी छ ।

सरकारले यससम्बन्धी केही तालिमको व्यवस्था गरेको छ ?
तालिम त दिएको छैन । तर गाउँपालिका तथा नगरपालिकाले यो विषयमा स्वास्थ्य स्वयंसेविकाहरूलाई सचेत गराएका छन् । नगरपालिकाहरूले बाहिरबाट आएका मानिसहरू र अन्य तथ्यांक वेबसाइट तथा फेसबुक पेजमार्फत राखिरहेका छन् । स्वंयसेविकाहरू पनि यसबारे चासो दिन्छन् । सरकारको निर्णय लगभग धेरैलाई थाहा भइसकेको छ । दुर्गममा कसैले समाचार सुन्नुभएको छैन भने स्थानीय तहले जानकारी गराउँछन् । धेरैले अहिले फेसबुक चलाउँछन्, सबै जना सचेत छन् जस्तो लाग्छ ।

हाल नेपालभरि कति स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ?
गत मंसिरमा स्वास्थ्य स्वयंसेवी दिवस मनाउँदा देशभरिकाे संख्या ५२ हजार ४ सय थियो । अहिले कतिपयले छोडे होलान्, काम गर्न नसक्ने भएका होलान् । अहिले त्यस्तो तथ्यांक त आएको छैन । यसकै हाराहारीमा हामी छौँ ।

सरकारले तपाईंहरूलाई पनि कोरोनाविरुद्धको अभियानमा खटाउन गरेको निर्णय कस्तो छ ?
हामी त सेवा गर्न जहिल्यै तयार हुन्छौँ । समाचार थाहा पाउनेबित्तिकै धेरैले यसबारे सोधखोज गरेका छन् । कुरा बुझ्दा धेरैले राम्रो प्रतिक्रिया पनि जनाएका छन् । काम गर्न तयार छौँ भनेका छन् । केहीले यस्तो अवस्थामा पनि जाने र भनेर डर मानिराखेको अवस्था पनि छ । तर समग्रमा सरकारको निर्णयको समर्थनमै छौं । देशका लागि केही न केही योगदान गर्न सकिन्छ भनेर उत्साहित छौँ ।

अरूको सेवा गर्दा आफ्नो सुरक्षा कसरी गर्ने ? यसबारे सरकारले केही भनेको छ ?
हालसम्म सरकारले हामीलाई सुरक्षा तथा तालिमको व्यवस्था गरेको छैन । निर्णय गरेको पनि धेरै भएको छैन । जनचेतना फैलाउने, गतिविधि रेखदेख गर्ने, घरमा गएर शंकास्पद मान्छे छ वा छैन भनेर सोध्ने काममा खटिन्छौँ होला । चिकित्सक तथा नर्सहरूलाई जोखिम हुन्छ, पीपीई लगाएर खटिनुहुन्छ । हामीलाई पनि बिरामी नै छुनुपरे त्यो आवश्यकता हुन्छ होला । नत्र मास्क, पञ्जा अनि स्यानिटाइजरले पनि हुन्छ ।

आफ्नो सुरक्षा कसरी गर्ने भन्ने आफू त सचेत हुनैपर्छ । सरकारले पनि केही आधारभूत व्यवस्था गर्नुपर्छ । सरकारले हाम्रो पनि सुरक्षाको ख्याल गर्नुपर्छ किनकि हाम्रा पनि बालबच्चा, परिवार छन् । धेरै ठाउँमा खटिएर घरमै आउनुपर्छ । त्यसैले यससम्बन्धमा सरकराले निगरानी गर्नुपर्छ ।

कोरोनाविरुद्ध अभियानमा स्वास्थ्य स्वयंसेविकाहरू कति महत्त्वपूर्ण छन् ?

अरू क्षेत्रका मान्छेभन्दा स्वास्थ्य स्वयंसेविकालाई आफ्नो गाउँठाउँबारे राम्ररी जानकारी हुन्छ । आफ्नो क्षेत्रमा को नयाँ तथा पुरानो मान्छे आएको छ भन्ने थाहा हुन्छ । अहिले समाचारमा बाहिरबाट आएका धेरै जना क्वारेन्टाइनमा बस्न नमान्ने, लुकेर बस्ने, फोन नम्बर गलत दिने गरेकाे कुरा आएको छ । त्यस्ता मानिसलाई खोज्न हामी मद्दत पुर्‍याउन सक्छौं होला । किनकि त्यही ठाउँ हिंडिराख्ने भएकाले हामीलाई मानिसले खुलस्त जानकारी दिन्छन् । सम्झाउने, बुझाउने तथा खोज्ने कुरामा हामी सहयोगी हुन्छौं जस्तो लाग्छ । आफ्नो स्तरमा मान्छेलाई यसबारे राम्ररी जनचेतना जगाउन सक्छौं ।

जोखिमपूर्ण कार्यमा खट्ने कुरा भएको छ । सरकारले अरू के गर्नुपर्छ जस्तो लाग्छ?
सरकारले स्वयंसेविकाको पारिश्रमिक र बिमाकाे व्यवस्था गरिदिने जानकारी पाएका छौँ । भत्ताभन्दा पनि हामीले गर्नुपर्ने काम कत्तिको जोखिमपूर्ण छ त्यसमा भर पर्छ । भत्तामा गुनासो छैन किनकि राज्य नै संकटमा छ, हामीले यति चाहिन्छ भन्न पनि मिल्दैन । हामीले गरेको काममा सरकार खुसी र सन्तुष्ट हुन्छ भने जति दिए पनि ठिकै छ ।

पारिश्रमिकको घोषणा हिजो गर्‍यो । हामीले उठाउँदै आएको कुरा बिमा हो । हामी धेरै ठाउँमा हिँड्न पर्‍यो भने यसको व्यवस्था हुनुपर्छ । किनकि घरनजिक त खट्दैनौं, टाढाटाढा जानुपर्छ, जोखिम हुनसक्छ । बिमाको व्यवस्था गर्नुपर्ने काम दीर्घकालीन भयो भने राम्रो हुन्छ भन्ने हो ।

प्रकाशित : चैत्र २५, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?