लकडाउनले भाडामा बस्ने विद्यार्थी मर्कामा 

विद्या राई

काठमाडौँ — ट्राफिक महाशाखाका अनुसार लकडाउनअघि एक सातामा करिब सात लाखले काठमाडौं छाडे । स्नातक परीक्षाको नतिजा कुरेर बसिरहेका निर्मल तामाङ पनि गृहजिल्ला भोजपुर फर्कने सोच बनाउँदै थिए । ‘सरकारले अचानक लकडाउन घोषणा गरिदियो, त्यसपछि त जानै पाइएन,’ उनले सुनाए, ‘खाना पकायो, खायो, सुत्यो, एकै कोठामा दिन काट्न साह्रै गाह्रो भएको छ ।’

घर जान पाएका भए सरकारको किस्ता–किस्ता लकडाउन उनलाई यति सकसपूर्ण बन्ने थिएन । तरकारीको भाउ बढेको छ । ‘स्टक’ दालचामल एक साताभन्दा पुग्दैन । खर्च सकिन लागेको छ । गाउँमा बाआमाले दुःख गरेर पठाएको पैसाले धान्दै आएका थिए । तामाङ रातोपुलमा एक साथीसँग बस्छन् । दुई कोठाको मासिक १२ हजार भाडा तिर्नुपर्छ । महिना मर्न लागेसँगै चिन्ता थपिएको छ । सरकारले एक महिनाको भाडा नलिन घरबेटीहरूलाई अनुरोध गरेको छ । तर तामाङ र उनका साथी ढुक्क छैनन् । ‘सरकारले नलिनु त भनेको छ π हामीले दिएकै भाडाले घरबेटीले गुजारा चलाउने हुन्, कसरी नलेलान् र,’ उनले भने ।

उनलाई लाग्छ, संकटको यो घडीमा विद्यार्थी संगठनले आवाज उठाइदिए हुने । ‘चुनावका बेला भोट माग्ने, भत्ता र टिसर्ट बाँड्नेहरू अहिले आइदिनु नि,’ तामाङले भने, ‘हामीलाई पनि राहत प्याकेज वितरण र घरभाडाको टुंगो लगाइदिए हुन्थ्यो ।’

खर्च धान्न हम्मे परेकैले मार्केटिङमा जागिर गर्ने तयारीमा थिए तामाङ । पक्का भइसकेको थियो । तर लकडाउनले गर्दा अफिस नै बन्द भयो । उनी संगीतका विद्यार्थी भएकाले लकडाउनमा यी सब तनाव भुलाउन गितार बजाउन थाल्छन् ।

टीकाथलीमा डेरा गरी बस्ने डीबी बानियाँको केही दिनअघि खाना पकाउने ग्यास सकियो । आधा सिलिन्डर किनेर चलाउँदै छन् । महँगी बढेको छ । लकडाउन लम्बिँदै गए विद्यार्थीलाई झनै समस्या हुने उनी बताउँछन् । बानियाँ भोजपुर क्याम्पसबाट स्नातक सकेर स्नातकोत्तर पढ्न गत मंसिरमा काठमाडौं आएका हुन् । शंकरदेव क्याम्पसमा पढाइ सुरु भइसकेकाले घर फर्केनन् । ‘लकडाउन यति लामो होला भन्ने लागेको थिएन, गोजी टाट पल्टेको छ,’ उनले भने, ‘यस्तो बेला सरकारले विद्यार्थीलाई पनि हेरिदिए राहत पुग्ने थियो ।’

बागलुङ घर भई बत्तीसपुतली बस्ने किरण रायमाझीलाई पनि लकडाउन काट्न गाह्रो भएको छ । उनी गोल्डेनगेट कलेजमा वातावरण विज्ञानमा मास्टर्स अन्तिम सेमेस्टरका विद्यार्थी हुन् । ‘फिल्ड रिसर्च गरेर पढ्नुपर्ने विषय एकै कोठामा कोचिएर पढ्दा घुस्दै घुस्दैन,’ उनले भने । साथीसित बस्दै आएका उनी यति बेला एक्लै छन् । घर जाने भन्दाभन्दै लकडाउन भएपछि जान पाएनन् । ‘बागलुङमा घरपरिवारसँग फोनमा ‘फ्रिक्वेन्ट्ली’ कुरा हुन्छ, खुल्यो भने आउनू भन्नुहुन्छ, आफूलाई पनि छटपटी हुन्छ,’ उनले भने ।

बझाङका किरेन्द्र सिंह कलंकीको काष्ठमण्डप कलेजमा कक्षा १२ मा पढ्छन् । उनलाई परीक्षा नै हुने–नहुने दोधार छ । वैशाख ८ गतेबाट हुने भनिएको परीक्षाकै कारण उनी घर जानबाट रोकिएका थिए । ‘परीक्षा आइसकेकाले पढ्नुपर्छ भनेर घर गइएन, अहिले गाह्रो भइरहेको छ, परीक्षा पनि हुने हो कि होइन,’ उनले भने । लकडाउनले महँगी बढेपछि सिंहलाई अप्ठ्यारो परेको छ । बैंक खासै नखुलेकाले घरबाट पैसा माग्न पनि सहज नभएको उनले बताए ।

सत्तारूढ नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय संयोजक ऐन महरले बाहिरबाट आई काठमाडौं पढिरहेका विद्यार्थी मर्कामा परेको स्विकारे । ‘यो बेला भूकम्प, बाढी, आगोपीडितलाई राहत बाँडेजस्तो सहज छैन, भाइरसले राहत बाँड्नेलाई चाहिँ छोड्छ भन्ने हुँदैन,’ उनले भने, ‘सरकारमार्फत अपिल गरिरहेका छौं, घरभाडा छुट कार्यान्वयन गराउन संगठनभित्र आवश्यक छलफल भइरहेको छ ।’ आवश्यक परे सडकमै उत्रेर विद्यार्थीलाई सहयोग गर्न तयार रहेको उनले बताए ।

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय संयोजक राजीव ढुंगानाले विद्यार्थीलाई राहत दिन सरकारलाई दबाब दिने र संगठनमार्फत सर्कुलर जारी गर्ने काम भइरहेको बताए । ‘काठमाडौंमा डेरा लिएर बस्ने ठूलो संख्यामा छन्, थुप्रै घर फर्कन पाएका छैनन्,’ उनले भने, ‘उनीहरूलाई विशेष प्याकेज ल्याउन दबाब दिइरहेका छौं, सरकारले कार्यान्वयन गर्नुपर्‍यो ।’

प्रकाशित : चैत्र २५, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?