१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जो मृत्यु अँगालेर गुडिरहेछन्

डाक्टर र नर्सभन्दा पहिला बिरामीको सम्पर्कमा पुग्ने एम्बुलेन्स चालकहरू सुरक्षात्मक सामग्रीबिनै गुडिरहेका छन् । आफूलाई भन्दा पनि परिवारका सदस्यलाई रोग सर्ला कि भनेर डर लाग्ने उनीहरू बताउँछन् ।
फातिमा बानु

काठमाडौँ — १० वर्षदेखि एम्बुलेन्समा बिरामी ओसार्ने रमेश कटुवाल हिजोआज ज्यानको बाजी थापेर काम गरिरहेका छन् । उनी सिन्धुपाल्चोकका हुन् । गर्भवती, सुत्केरी, कडा रोगी या कोभिड शंकास्पद जस्तोसुकै बिरामी बोकेर उनी दैनिक कुदिरहन्छन् । सुरक्षात्मक सामग्री (पीपीई) त परको कुरा, मास्क र पन्जासमेत नभएको उनले बताए । ‘कपडाको मास्क छ तर एकैछिन लगाएपछि पसिनाले ओसिन्छ,’ उनले भने, ‘सर्जिकल मास्क बजारमा पाइँदैन, अरूले दिँदैनन् ।’ बिरामीबाट गाडीमा टाँसिएको भाइरस जान्छ कि भनेर दिनको दुई पटक उनी साबुन पानीले एम्बुलेन्स पखालेर चित्त बुझाइरहेका छन् ।

जो मृत्यु अँगालेर गुडिरहेछन्

उनलाई आफ्नो भन्दा पनि घरका सदस्यलाई संक्रमण सारिएला कि भन्ने डर छ । उनको घरमा बालबालिका र वृद्धवृद्धा छन् । हिजोआज उनी परिवारको नजिकै पर्दैनन् । ‘मलाई जेसुकै होस्, घरका मान्छेलाई कसरी बचाऊँ भनेर डर लाग्छ,’ उनले भने, ‘यस्तो बेला आफ्नो घर नगएर कहाँ जाऊँ, रोग सरे पनि सरोस् किस्मत यस्तै रैछ भनेर हिँडिराछु ।’ सक्दो सुरक्षा अपनाउन उनी ड्युटी सकेर घर फर्केपछि नुहाउँछन्, बाहिर लगाएको कपडा घर बस्दा लगाउँदैनन् । सुरक्षा सामग्री भए ढुक्कसाथ एम्बुलेन्स चलाउँथें भन्ने उनलाई लाग्छ, नत्र दिनभरि कस्तो बिरामी बोक्नुपर्ने हो भनेर तनाव भइरहने उनले सुनाए ।


नवलपरासीका राजु चौधरी १२ वर्षदेखि ओम अस्पतालको एम्बुलेन्स चलाउँछन् । दिनै एउटा सामान्य मास्क लगाउँछन् । १२ वर्ष एम्बुलेन्स चलाएको अनुभवमा कहिल्यै डर नलागेको तर आजभोलि डर लाग्ने उनी बताउँछन् । ‘वर्षौंदेखि बिरामी बोकेको छु, अहिले डरलाग्दो रोग आयो भन्दैमा पन्छिन मनले मान्दैन,’ उनले भने, ‘हुन त अस्पतालले आवश्यक परे सुरक्षा दिने खालको लुगा दिन्छु भनेको छ तैपनि दिनैभर बिरामी बोक्दा मन डराइरहन्छ ।’ उनको घरमा छोरी र मृगौला रोगी आमा छिन् ।


कोभिड संक्रमण भइहाले कडारोगीको ज्यानै जोखिममा पर्छ भन्ने सुनेदेखि उनको मन अझै आत्तिएको छ । सकभर परिवारको नजिक पर्दैनन् । कोठामा एक्लै सुत्छन्, खाना खाएर आफ्नो थाल आफैं माझ्छन् । सेनिटाइजर लगाइरहन्छन् । अघिपछिभन्दा सरसफाइमा बढी ध्यान दिन्छन् । ‘घरबाट भित्र छिर्नुभन्दा पहिल्यै बाहिर नुहाइहाल्छु,’ उनले भने, ‘एम्बुलेन्समा बिरामीले खोकेको दिन बढी डर लाग्छ । हुन त अहिलेसम्म शंकास्पद बिरामी बोक्नुपरेको छैन ।’ जोखिम मोलेर काम गर्नुभन्दा यो पेसा छोड्न घरबाट दबाब आइरहन्छ, उनको मन मान्दैन । सोच्छन्, ‘मैले जस्तै सबैले एम्बुलेन्स ड्राइभरले यस्तै गरे भने बिरामी घरमै मर्नुपर्ने अवस्था आउँछ ।’


१७ वर्षदेखि काठमाडौंमा एम्बुलेन्स चालक छन्– उमेश खरेल । एम्बुलेन्स चलाउने काम छोड्न घरबाट दबाब आइरहँदा आफ्नो कर्तव्य भुल्न नसकेको उनी बताउँछन् । सुरक्षा सामग्रीबिना एम्बुलेन्स चलाउँदा डर लाग्ने उनले बताए । ‘आफूलाई जेसुकै होस् भनेर परिवारलाई हेटौंडा घर पठाएँ,’ उनले भने, ‘एम्बुलेन्स चलाउनै पर्दैन भनेर घर बोलाइरहन्छन्, म जाँदिनँ ।’ राति जतिखेर फोन आउँछ, उनी उठेर बिरामी लिन पुग्छन् । बिरामी के रोगी हो, के समस्या हो सोध्दै नसोधी अस्पतालमा पुर्‍याउँछन् । उनी भन्छन्, ‘सुरक्षामा ढुक्क हुन सके पो काम गर्न पनि जाँगर चल्छ, त्रास नै त्रासमा काम गर्नुपरेको छ ।’


रामचन्द्र भण्डारी एप्रोन लगाएर एम्बुलेन्स चलाउँछन् । १७ वर्षदेखि एम्बुलेन्स चलाइरहेका उनी धेरै जोखिममा काम गर्नुपरेको बताउँछन् । घरमा बच्चा र बूढाबूढी भएकाले घरै नजाने गरेको उनले बताए । ‘वडाले जम्मा एउटा मास्क दिएको थियो, उही दिन फालेँ,’ उनले भने, ‘बिरामीले रुँदै फोन गर्छन्, जानैपर्‍यो तर एक थोपा सुरक्षा छैन हामीलाई, के गर्ने ?’


नेपाल एम्बुलेन्स चालक संघका अनुसार नेपालभर ६ सय ६२ चालक संघमा दर्ता छन् । सबैले जोखिम मोलेर बिरामी बोक्नुपरेको संघका काठमाडौं जिल्ला अध्यक्ष गणेश सापकोटाले बताए । एम्बुलेन्स चालकलाई सुरक्षा सामग्री दिनुपर्‍यो भन्दै जिल्ला प्रशासन, वडा कार्यालय सबैतिर भौतारिँदा पनि कसैले नसुनेको उनले बताए । ‘९ हजार तलब लिएर काम गर्नुपर्छ, न सुरक्षा छ न बिमा,’ उनले भने, ‘अझ बिरामी बोक्न मानेन भनेर एम्बुलेन्सलाई गाली गर्छन्, हामीलाई बद्नाम गर्छन् ।’


सापकोटा १३ वर्षदेखि काठमाडौंमा एम्बुलेन्स चलाउँछन् । कोभिड लक्षणका बिरामी बोक्न डर लाग्ने उनले बताए । कोरोना लक्षण देखिएका बिरामी बोक्नुभन्दा पहिले प्रहरीलाई खबर गर्ने गरेको तर प्रहरीले प्रतिक्रिया नदिने उनले गुनासो गरे । ‘बिरामी जस्तोसुकै भए पनि अस्पताल पुर्‍याउने जिम्मेवारी एम्बुलेन्सको हो भन्छन्,’ उनले भने, ‘बिरामी बोकौं आफूलाई खतरा, नबोकौं बिरामी रुन्छ, माया लाग्छ, जेसुकै होस् भनेर लैजान्छु ।’


शंकास्पद बिरामी बोक्दा मृत्युलाई अँगालो हालेजस्तो लाग्ने उनले बताए । रोग सार्छन् भनेर कति एम्बुलेन्स चालकलाई घरबेटीले घरबाट निस्किन दबाब दिने गरेको उनले बताए । उनको घरमा ८० वर्षकी उच्च रक्तचापको बिरामी आमा र सात वर्षीया छोरी छन् । आफ्नो भन्दा परिवारको चिन्ताले सताउँछ उनलाई । शंकास्पद र संक्रमित बिरामी बोक्ने चालकको स्वास्थ्य सुरक्षा गर्नुपर्ने संयुक्त एम्बुलेन्स चालक समितिका सदस्य हिमायल लामाले बताए । ‘डाक्टर र नर्सलेभन्दा पहिले हामी बिरामी भेट्छौं,’ उनले भने, ‘यस्तो अवस्थामा न हामीलाई सुरक्षा छ न भोलि केही भइहाले कसैले उपचार गरिदिन्छ, हाम्रा पनि जहान छोराछोरी छन्, हाम्रोबारे कसैले केही बोल्दैन ।’ बीचमा काठमाडौं महानगरपालिका वडा १० ले ३० वटा मास्क दिए पनि कसलाई दिने, कसलाई नदिने भनेर अन्योल भएको उनले बताए ।

प्रकाशित : चैत्र २४, २०७६ २२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?