१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जसले थुप्रै महामारी झेले

‘उहिले गाउँबाट रोग पैदा हुन्थे । सहरका अस्पतालमा उपचार गरे निको हुन्थ्यो । अहिले त रोग आयो भन्दै सहरबाट गाउँ पसेको देखेर अचम्म लागेको छ’
मेनुका ढुंगाना

अछाम — आठ दशकयता उनी थुप्रै रोग र महामारीको साक्षी बनेकी छन् । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ । तर, यो त्रासले मंगलसैन नगरपालिका–५ की ८२ वर्षीया कल्धरी सुवेदीलाई पनि सशंकित बनाएको छ ।

जसले थुप्रै महामारी झेले

उनले कोरोनालाई आफूले भोगेका महामारीभन्दा बेग्लै खालको भएको बुझेकी छन् । ‘उहिले गाउँबाट रोग पैदा हुन्थे । सहरका अस्पतालमा उपचार गरे निको हुन्थ्यो । अहिले त रोग आयो भन्दै सहरबाट गाउँ पसेको देखेर अचम्म लागेको छ,’ उनले पुराना दिन स्मरण गरिन्, ‘उहिले ठूलो हल्क्या (हैजा) आउँदा मान्छेलाई छोए सथ्र्यो, मरिन्थ्यो । अहिले पनि त्यस्तै भएको छ ।’


ठूलो हल्क्या (हैजा) महामारीका रूपमा आएको साल उनी ८ वर्षकी थिइन् । ७ वर्षमै उनको बिहे भइसकेको थियो । ‘बान्ता, झाडापखाला हुने र मान्छे मरिहाल्ने हुन्थ्यो । धारा, मेलापात, खेतबारी जो जता गए उतै मर्थे । मरेकाले मलामीसमेत पाएनन्,’ उनले ती कठिन दिन सम्झिइन्, ‘गाउँमा एकै दिन ५/६ जना मर्थे । देवीदेउता पुकार्नुबाहेक अरू उपचार केही थिएन ।’


त्यति बेला पनि हैजा सर्ने डरले घरबाट बाहिर निस्कनै नदिने गरेको उनलाई सम्झना छ । ‘मलाई त अहिलेभन्दा उति बेलाको महामारी ठूलो हो जस्तो लाग्छ । हामीले धन्न ज्यान जोगायौं,’ उनले भनिन्, ‘अहिले त के रोग आयो, कति मरे सबै थाहा हुन्छ । उहिले यस्ता महामारी र रोगबारे सबैलाई जानकारी कहाँ हुन्थ्यो र !’


मंगलसैन–५ कै ८० वर्षीया कुसी सुवेदी त्यति बेलाका विपद्मा कतिले पानीसमेत खान नपाएको बताउँछिन् । ‘साठी वर्ष अगाडि होला खडेरी पर्‍यो । बालीनाली सबै सुक्यो । गाउँमा सबैका ओठमुखै सुके । वर्षभरि नै त्यस्तै भइरह्यो । त्यसताका मेरा तीन महिना र ६ महिनाको बच्चा गर्भमै मरे,’ उनले सुनाइन् ।


उनका अनुसार खेतीपाती, अन्न, पानी केही नहुँदा गाउँ नै सुनसान र सुक्खा बनेको थियो । अहिलेभन्दा त्यतिबेलाका महामारीमा बाँच्न धेरै कठिन भएको उनको अनुभव छ । ‘आपत्विपत् पर्दा जसको घरमा जे छ त्यही बाँडेर खान्थ्यौं । कति दिन भोकै बस्यौं,’ कुसीले थपिन्, ‘सुत्केरीले खान नपाएरै ज्यान गुमाए । अहिले त खान समस्या भएको छैन ।’


देउतालाई भाकल गर्नेबाहेक त्यतिबेला बाँच्ने अरू उपाय नै नभएको उनको भनाइ छ । ‘खडेरी पर्‍यो, भोकमरी भयो, हैजा आयो अरू यस्ता रोग महामारी त कति आए कति । यी सबै रोगसँग लड्यौं । आफूसँग जे छ त्यही बाँडीचुँडी खायौं,’ कुसीले उतिबेलाका दिन सम्झिइन् ।


उनीहरूका अनुसार उहिले प्रत्येक घरमा कम्तीमा चारदेखि पाँच शिशुको मृत्यु भएकै हुन्थ्यो । अछाम बारलाकी ७३ वर्षीया सरु सुनारले ११ मध्ये नौ सन्तान गुमाएको बताइन् । ‘कोही गर्भमै मरे, कोही जन्मेको एक घण्टामै । कसैलाई ज्वरो, कसैलाई हैजा, कसैलाई निमोनिया भयो,’ उनले भनिन्, ‘गाउँमा स्वास्थ्य चौकी थिएन, दैलेख लैजान बाटो थिएन । जति जन्मे पनि मरिहाल्छन् भन्ने लाग्थ्यो ।’


अहिले पनि उपचार नै गर्न नसकिने खालको महामारी फैलिएको सुनिएकाले उस्तै डर लागेको सुनाइन् पिउली विकले । ‘उहिले पनि गाउँमा रोग देखिए भगवान् सम्झेर बस्थ्यौं, अहिले पनि त्यस्तै भएको छ,’ विकले पछिल्लो अवस्थाबारे बताइन् ।

प्रकाशित : चैत्र २४, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?