कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साता दिनदेखि उठेन बाबुरामको शव

कोरोना संक्रमणको आशंकामा उपचार नहुँदा चैत १६ मा मृत्यु भएका बाबुरामको शव उठाउने वातावरण बनाइदिन श्रीमतीको हारगुहार
घनश्याम गौतम

बुटवल — उच्च ज्वरो र खोकी बढ्दै गएपछि पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापा चैत १३ मा बुटवलस्थित कोरोना (अस्थायी) अस्पतालमा भर्ना भएका थिए । चैत ६ मा दुबईबाट फर्किएका उनको चैत १६ गते उपचारकै क्रममा मृत्यु भयो । चिकित्सकले सुरुमा कोरोना भाइरस (कोभिड–१९)को आशंका गरे पनि परीक्षणपछि रिपोर्ट नेगेटिभ आयो ।

साता दिनदेखि उठेन बाबुरामको शव

रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडामा भाडामा बस्दै आएका थापा दुबईमा ट्याक्सी ड्राइभर थिए । उनलाई दुबईमै ज्वरो आउन थालेको थियो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रिएपछि पनि परीक्षण गर्दा ज्वरो देखियो । सुरक्षाकर्मीले केहीबेर त्यहीं आराम गराए । पछि घरमै गएर आराम गर्न र बाहिर हिँडडुल नगर्न सुझाएर पठाए ।


काठमाडौंबाट सार्वजनिक बसमार्फत चैत ७ मा उनी सैनामैनामा रहेका परिवारको सम्पर्कमा आएका थिए । कोठामा परिवारसँगै आराम गरे । ज्वरो नरोकिएपछि चैत १० गते स्थानीय अस्पतालमा गएर रगत परीक्षण गराए । त्यसमा टाइफाइड देखियो । टाइफाइडको औषधिले ज्वरो कम नभएपछि परिवार र छिमेकीकै सल्लाहमा चैत १३ मा कोरोना अस्थायी अस्पतालमा पुगेका थिए ।

आइतबारसम्म उनको शव उठेको छैन । श्रीमती रीता शव उठाउन हारगुहार गर्दै छिन् । थापा चैत १३ गते आइसोलेसनमा भर्ना भए पनि थ्रोट स्वाब संकलन १६ गते गरिनु र त्यही दिनमात्र काठमाडौं पठाउनु अस्पतालको लापरबाही भएको परिवारको आरोप छ । चिकित्सकबाट लापरबाही भएको भन्दै थापाका दाजुभाइ र आफन्तले क्षतिपूर्तिको माग गर्दै शव उठाएका छैनन् । परिवार र आफन्तमा कोरोनाको त्रास पनि कायमै छ । सामान्य परिवारका थापाका ६ र ७ वर्षका दुई छोरा छन् ।


‘हामी शव बुझ्न तयार छौं तर अस्पतालले गरेको लापरबाहीको क्षतिपूर्ति दिनुपर्छ,’ थापाका जेठान कमल टण्डनले भने, ‘मृतककी श्रीमतीलाई रोजगारी, छोराछोरीको पढाइको ग्यारेन्टी र २५ लाख नगद हाम्रो माग हो ।’ उपचारमा संलग्न डाक्टरले राजीनामा दिनुपर्ने र शवको दाहसंस्कारका लागि सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

लामो समयसम्म शव उठाउनै समस्या परेपछि बुटवलमा रहेका पूर्वसांसद विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका अध्यक्ष समुन्द्र जीसी, मानव अधिकारवादी गोविन्द खनालसहितका सरोकारवालाले शनिबारदेखि समाधानको पहल गरेका छन् । उनीहरूको टोलीले शनिबार मृतकका दाजु विमल, वडाध्यक्ष कृष्णबहादुर थापा, मृतकका जेठान कमलसहितका आफन्तसँग छलफल गरेका थिए । छलफलमा मृत्युको छानबिन गर्ने, छोराको शिक्षाको ग्यारेन्टी गर्ने र श्रीमतीको योग्यताअनुसारको रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भए पनि परिवारबाट त्यो स्वीकार्य नभएकाले निष्कर्षमा पुग्न नसकेको पहाडीले बताए । ‘उहाँहरूले २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्नुभयो,’ उनले भने, ‘जुन सम्भव भएन तैपनि छलफल जारी छ ।’ सोमबारसम्ममा शव उठाउने गरी छलफल भइरहेको उनले बताए ।


मृतककी श्रीमती रीताले पनि दुई छोराको पालनपोषण र शिक्षाका लागि भरपर्दो व्यवस्थापनको आग्रह गरिन् । ‘मर्ने मरेर जानुभयो, बाँचेकालाई केही आधार हुनुपर्‍यो,’ उनले भनिन्, ‘अब जसरी हुन्छ लास उठाइदिनुपर्‍यो ।’

आशंकाकै भरमा गलत उपचारले श्रीमान्को मृत्यु भए पनि अहिलेसम्म शव उठाउने वातावरण नबनेको उनले बताइन् । थापाको जन्मघर पाल्पा भएकाले त्यहाँबाट घरकै दाजु विमल र वडाध्यक्ष कृष्णबहादुर थापाबाहेक अन्यले चासो देखाएका छैनन् । दाजु विमलले दाजुभाइ र छिमेकमा कोरोनाको हल्ला फैलिएकाले अहिले पनि छिमेकी र अन्य दाजुभाइ त्रासमै रहेको बताए ।


प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने थापाको उपचारमा लापरबाहीभन्दा पनि कम्युनिकेसन ग्याप भएको देखिएको बताए । ‘तत्काल हामी महामारीको व्यवस्थापनमै छौं,’ उनले भने, ‘आफन्तले उठाएको क्षतिपूर्ति र छानबिनको कुरा जायज होला तर छलफलपछि गर्न सक्छौं अहिले केही गर्न सक्ने अवस्था छैन ।’ डाक्टरको लापरबाही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

यो पनि पढ्नुहोस्ः

‘ज्वरोको उपचार नपाएर श्रीमान्‌को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’

प्रकाशित : चैत्र २४, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?