सञ्‍चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्‍चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल

रासस

काठमाडौँ — प्रेस काउन्सिल नेपालले कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्‍चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

काउन्सिलको आइतबार बसेको बैठकले कोभिड–१९ नियन्त्रणका लागि सबै प्रकारका सञ्‍चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन/प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, सङ्घ/प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।


सङ्क्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्‍चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गर्दै विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्‍चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ को सङ्क्रमण र रोकथामका लागि राज्य नै बन्दाबन्दी ‘लकडाउन’ रहेको अवस्थामा अहोरात्र खटिएर चेतनामूलक सूचना सामग्री सम्प्रेषण गर्न देशैभरका सञ्‍चारमाध्यमले निर्वाह गरेको भूमिको प्रशंसा गरेको छ ।


कोभिड–१९ को जोखिमबाट सुरक्षित रही विश्वसनीय, सन्तुलित र सत्यतथ्यपूर्ण सूचना एवं समाचार–सामग्री सम्प्रेषण गर्न आमसञ्‍चारमाध्यमलाई अपिल पनि गरेको छ । सार्वजनिक आवतजावत बन्द हुनाका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अङ्क नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय गर्न पनि सरकारसँग आग्रह गरेको छ ।


काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता÷सेवा प्रदायकबाट नै अनलाइन सञ्‍चारमाध्यममा प्रवेश गरी ‘कन्टेन्ट’समेत हटाइएउपर ध्यानाकर्षण भएको जनाउँदै बैठकले उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावनाविपरीत भएको ठहर गरेको छ । बैठकले सोको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित सबैमा आग्रह गर्ने निर्णय पनि गरेको छ ।


काउन्सिलले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अध्यक्षको सात, अधिकृत कर्मचारीको पाँच र सहायकस्तरका कर्मचारी सबैको तीन दिनको तलब बराबरको रकम जम्मा गर्ने गरी निर्णय गरेको सूचना अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र २३, २०७६ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन उल्लंघन गर्ने एक हजार ८०० लाई कारवाही

रासस

काठमाडौँ — काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४५२ महिलासहित  एक हजार ८०७  जनालाई आइतबार कारवाही गरिएको छ । आइतबार दिनभर  २४० दुईपाङ्ग्रे र नौ चारपाङ्ग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

काठमाडौंबाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको हो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

कोषमा राहत जम्मा गर्न कीर्तिपुरको आह्वान
काठमाडौँको कीर्तिपुर नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका व्यक्तिलाई राहत दिन आइतबार ५० लाखको राहत कोष स्थापना गरेको छ । यहाँका दैनिक ज्यालामा काम गर्ने श्रमिक तथा स्थानीयवासीलाई दैनिक जीवनयापनमा सहज पार्न नेपाल सरकारको योजनाअनुसार नगरपालिकाले कोष स्थापना गरेको हो ।

नेपाल सरकारले कोही पनि भोको नहोस् भन्ने अपेक्षासहित राहतको कार्यक्रम घोषणा गरिसकेको सन्दर्भमा उक्त कोषमार्फत आवश्यक पर्ने परिवारलाई खाद्यान्न र राहतको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । कोषमा जम्मा हुने रकमको खर्च गर्ने कार्यविधि तयार भइरहेको नगरपालिका प्रमुख रमेश महर्जनले जानकारी दिए । उक्त कोषमा सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्था, गैरआवासीय नेपाली, स्वदेशी विदेशी दाता, निकाय, उद्योग व्यवसायी, पेशाकर्मी, नागरिक समाजलगायत सबैमा नगरपालिकाले अपिल गरेको छ ।

विश्वव्यापी विपत्तिको यस घडीमा आर्थिक र नगद सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संस्थाले नगरपालिकाका नाममा राष्ट्रिय वाणिज्य बैंक, कीर्तिपुर शाखाको खाता नं १७००३०४०३८३०३ मा नगद जम्मा गर्न र खाद्यलगायत सामग्री सहयोग गर्न चाहनेले नगरपालिकाको विपद् व्यवस्थापन शाखामा सम्पर्क गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×