कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चीनले नेपाललाई सामग्री उपलब्ध गराउँछ: राजदूत होउ

जगदीश्वर पण्डे

काठमाडौँ — चीनले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाललाई आवश्यक सामग्री उपलब्ध गराउने बताएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार सञ्चारकर्मीहरूलाई लिखित अन्तर्वार्ता दिँदै चीनको केन्द्रीय सरकारले नेपाललाई साम्रगी उपलब्ध गराउने बताएकी हुन् ।

चीनले नेपाललाई सामग्री उपलब्ध गराउँछ: राजदूत होउ

उनले सुरुवातमा चीनलाई समस्या पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीनले पनि नेपाललाई सहयोग गर्ने जनाइन् । चीनले कोरोना भाइरस नियन्त्रण र रोकथामबारे पाएका जानकारीहरू नेपाली पक्षलाई दिँदै आइरहेको उनले बताइन् ।


चीन सरकारले सहयोग गरेको पहिलो लटको स्वास्थ्य सामग्री चैत १६ मा नेपाल आइपुगेको उल्लेख गर्दै उनले चीनका केही स्थानीय सरकार र नागरिक समाजहरूले पनि नेपाललाई अत्यावश्यक सामग्री सहयोग गर्न काम थालिसकेको बताइन् । ‘मैले थाहा पाएसम्म सिचाङ स्वायत्त क्षेत्र, युनान प्रान्त र केही चिनियाँ व्यवसायीले पनि नेपाललाई स्वास्थ्य सामग्री दिने आशयको धारणा व्यक्त गरेका छन्,’ उनले भनिन् ।


राजदूत होउले अहिलेको समयमा सबैभन्दा कठिन कुरा यातायात भएको बताइन् । त्यसका लागि चिनियाँ दूतावासले सबै पक्षसँग कुरा गरेर सहज रूपमा भन्सारको प्रक्रिया र यातायातको विषयमा कुरा गर्ने उनले जनाइन् । उनले नेपालको आवश्यकताअनुसार विज्ञहरूसँग भिडियोमा छलफल तथा अन्य अनुभव र प्राविधिक कुरा साटासाट गरी संयुक्त रूपमा भाइरस रोकथाम र नियन्त्रण गर्ने बताइन् । राजदूत होउले आवश्यक सामग्री खरिद गर्दा कुनै पनि मुलुकले कूटनीतिक माध्यमबाट अगाडि बढाउँछ भने दूतावासले केन्द्र (चीन सरकार) सँग सहकार्य गरेर उचित बिक्रीकर्ताको सूची उपलब्ध गराउने बताइन् ।


नेपाली पक्षले चैत २० मा कूटनीतिक प्रक्रियामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि पत्र पठाएको छ । ‘नेपाली पक्षले खरिदका लागि बेइजिङस्थित नेपाली दूतावासमार्फत चीन सरकारसँग माग गरेको छ । चीनको वाणिज्य मन्त्रालयले सहकार्य गरेर त्यसमा काम गरिरहेको छ,’ उनले भनिन् ।


उनले विभिन्न मुलुकमा विभिन्न स्तरका स्वास्थ्य सामग्री उत्पादन हुने गरेको उल्लेख गर्दै चीनले उच्च गुणस्तर भएको स्वास्थ्य सामग्री मात्र निर्यात गर्ने बताइन् । राजदूत होउले चीन दक्षिण एसियाली सहयोग संगठन (सार्क) को पर्यवेक्षक राष्ट्र भएको उल्लेख गर्दै सार्क मुलुकलाई यो संकटको घडीमा सहयोग गरिरहने बताइन् ।

प्रकाशित : चैत्र २३, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?