लकडाउन यता १ सय ८७ उडान 

सुरज कुँवर

काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेयता शनिबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ८७ वटा उडान भएका छन् । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार, लकडाउन सुरु भएको १२ औं दिनसम्म आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक उडान समेत गरी शनिबारसम्म काठमाडौंमा १ सय ८७ वटा उडान भएका हुन् ।


आन्तरिकतर्फ पोखरा, लुक्ला, नेपालगन्ज र ताप्लेजुङ लगायत पर्यटकीय सहरमा अलपत्र परेका विदेशीलाई आन्तरिक उडान गर्ने एयरलायन्सका जहाजले ९८ वटा उडान गरेर काठमाडौं ल्याएका थिए । त्यस्तै आन्तरिकतर्फ हेलिकप्टरले विदेशी तथा नेपाली बिरामी र पर्यटक उद्धार गर्न ५१ वटा उडान गरेको तथ्यांकमा देखिन्छ ।


त्यसैगरी नेपालमा अलपत्र परेका विदेशी पर्यटकलाई उद्धार गर्न १८ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाली सेनाले स्वास्थ्य सम्बन्धि सामाग्री ढुवानी उद्धार लगायतकालागि २१ वटा सैनिक विमानबाट आन्तरिक उडान गरेको तथ्यांकमा देखिन्छ ।


अन्तर्राष्ट्रियतर्फ सबैभन्दा धेरै काठमाडौं–दोहा उडान भएको देखिन्छ भने आन्तरिकमा सबैभन्दा धेरै काठमाडौंबाट लुक्ला र पोखराका लागि उडान भएको देखिन्छ ।


आउने र जानेगरी भएका १ सय ८७ उडानमध्ये अधिकाशं एकतर्फी खाली उडान हुन् । आन्तरिकमा बाहिर जाँदा खाली जहाज तथा हेलिकप्टर उडेका थिए भने फर्किदा विदेशीलाई काठमाडौं ल्याइएको थियो ।


अन्तर्राष्ट्रिय उडानतर्फ जेट विमानहरु आउँदा खाली आएका थिए भने, फर्किदा विदेशी पर्यटकलाई उद्धार गरिएका उडान भएका थिए । त्यस्तै नेपाल वायुसेवा निगमले काठमाडौंका लागि चीनबाट दुईटा कार्गो उडान गरेको थियो ।


लकडाउन भएपछि सर्वाधिक उडान चैत्र १५ गते शनिबार भए । त्यसदिन आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक उडान ४८ वटा भए ।


सरकारले चैत ११ गते मंगलबारदेखि एक साताका लागि लकडाउन सुरु गरेको थियो । तर, लकडाउन सुरु हुनुभन्दा दुई दिन अघि (चैत ९ गते) राति १२ बजेपछि अन्तर्राष्ट्रिय यात्रु आगमन रोक लगाएको थियो ।


उक्त रोकपछि सोमबार (चैत्र १० गते) ८ वटा अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान भएका थिए । तर लकडाउनको पहिलो दिन कुनै पनि गैरसैनिक उडान भएनन् । क्षत्रीका अनुसार, ७० वर्ष लामो हवाई इतिहास भएको नेपालमा लकडाउनको पहिलो दिन चैत ११ गते कुनै पनि उडान भएनन ।


तर, सैनिक उडान अर्न्तगत नेपाली सेनाको हेलिकप्टर त्यसदिन ओखलढुंगा पुगेर काठमाडौं फर्केको थियो ।

प्रकाशित : चैत्र २३, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

चीनले न्यूयोर्कका लागि १ हजार थान भेन्टिलेटर सहयोग

रासस/एपी

न्यूयोर्क — अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोना भाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका छन् ।

गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिएका छन् । अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो संख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गरे । उनले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिए । न्यूयोर्कका गभर्नर कुमो र आफूबीच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट गरे ।

यसैगरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दशलाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले एन९५ सुरक्षात्मक मास्क क्यानाडा र अन्य मुलुकमा निकासमा प्रतिबन्ध लगाउने बताएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या तीन लाख नाघेको छ भने ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ हजार ५०० न्यूयोर्क राज्यका रहेका छन् ।

चीन र ओरेगन राज्यबाट भेन्टिलेटर उपलब्ध भए पनि न्यूयोर्क राज्यका गभर्नर कुमोले राज्यका निजी स्वास्थ्य संस्थाहरुलाई आफूसँग रहेका भेन्टिलेटरहरु कोरोनाभाइरसका बिरामीका लागि पनि उपलब्ध गराउन आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले संघीय सरकारले न्यूयोर्कको जाभिट्स कन्भन्सन सेन्टरमा दुई हजार ५०० शय्याको फिल्ड अस्पताल निर्माण गर्न लागेको र त्यहाँ अमेरिकी सैनिकले सेवा दिने बताए । सेनाले सञ्चालन गर्नेगरी लुजियाना र डल्लासमा पनि यस्तै अस्पताल बनाइने राष्ट्रपति ट्रम्पले बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×