२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ: परीक्षा बोर्ड

गणेश राई

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ: परीक्षा बोर्ड

त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ ।


‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ । लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ ।’


यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।


त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन् । ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भने, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ ।’


कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।

प्रकाशित : चैत्र २३, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?