र्‍यापिड परीक्षण विधि र मापदण्डबारे आज निर्णय हुने- समाचार - कान्तिपुर समाचार

र्‍यापिड परीक्षण विधि र मापदण्डबारे आज निर्णय हुने

चित्रांग थापा

धनगढी — कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसमेत बागलुङमा सुरु गरिने भनिएको र्‍यापिड परीक्षण सुरु गर्ने  विषयमा आइतबार विज्ञहरुको टोलीले विधि र मापदण्ड निर्धारण गर्ने भएको छ ।

‘अहिले स्वास्थ्य सेवा विभागमा यसबारे विज्ञहरुको उच्चस्तरिय बैठक बसिरहेको छ’ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘बैठकको सुझावअनुसार र्‍यापिड परीक्षण सुरु हुने विभागबाट जानकारी प्राप्त भएको हो ।’ यो प्रक्रियाअन्तर्गत विभिन्न जिल्लाका क्वारेन्टाइन र घरमै सेल्फ क्वारेन्टाइनमा रहेका शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षण गरिने उनले जानकारी दिए ।


दक्ष स्वास्थ्यकर्मीको टोली खटाएर शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी प्रयोगशाला भएको ठाउँमा पुर्‍याएर परीक्षण गरिने डा. अवस्थीले बताए । ‘भारतबाट आएका हजारौं व्यक्तिहरुको परीक्षण गर्न सम्भव देखिदैन, वर्ष दिन बढी लाग्न सक्छ’ उनले भने, ‘अहिलेको अवस्थामा पनि परीक्षण गर्न प्रयोगशाला प्रयाप्त छैन ।’


उनका अनुसार गत बिहीबारदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको प्रयोगशालामा दैनिक १० जनाको मात्र परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । ‘बिहानैदेखि साँझसम्म काम गर्दा पनि १० भन्दा बढीको परीक्षण हुन सक्दैन,’ उनले भने । उनले हाल सेती अस्पतालमा विशेषज्ञ ४ जनासहित अस्पतालका ल्याब टेक्निसियनहरुको टोली परीक्षणमा संलग्न रहेको उनले बताए ।


क्षेत्रीय निर्देशक डा. अवस्थीले २ साता क्वारेन्टाइनमा रहेका र कुनै प्रकारको कोरोना संक्रमणको लक्षण नदेखिएकाहरुलाइ घर फिर्ता पठाउने विश्वव्यापी मापदण्ड रहेको बताए । ‘विश्व स्वास्थ्य संगठनको गाइडलाइन पनि यही हो’ उनले भने ।

प्रकाशित : चैत्र २३, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

धनगढी पुग्यो कोरोना जाँच्ने मेसिन 

चित्रांग थापा

धनगढी — संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षणका लागि पठाएको उपकरण मंगलबार धनगढी आइपुगेको छ । उक्त उपकरण नेपाली सेनाको हेलिकप्टरमा ल्याइएको हो ।

अन्य उपकरण भने गाडीबाट ढुवानी भइरहेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

‘प्रयोगशालाका लागि आवश्यक अन्य मेसिनरी सामग्री आज मंगलबार काठमाडौंबाट लोड भएको छ, भोलि साँझ वा पर्सि बिहीबार दिउँसोसम्म आइपुग्छ,’ उनले भने, ‘मंगलबार यहाँ पुर्‍याइएको मेसिन अत्यन्त संवेदनशील भएकाले उक्त प्रमुख मेसिनसँगै रिएजेन्टहरू हेलिकप्टरबाट ल्याइएको हो ।’

अवस्थीका अनुसार कोरोना परीक्षण गर्ने उपकरण तीन दिनभित्रै जडान गरिनेछ । ‘७ देखि ९ दिनभित्र प्रयोगशाला स्थापना गरी सेती प्रादेशिक अस्पतालबाट कोरोना भाइरसको परीक्षण सेवा नियमित सञ्चालन हुनेछ,’ उनले भने । प्रयोगशालाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सकसहितका जनशक्तिसमेत पठाइसकेको अवस्थीले बताए ।
यसैबीच सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले कोरोना नियन्त्रणका लागि सोमबार स्वास्थ्य सेवा विभागबाट प्राप्त सामग्री मंगलबार नै प्रदेशका विभिन्न जिल्ला पठाउन सुरु गरेको छ । ‘बाजुराको मार्तडीमा त मंगलबार साँझै पुगिसक्यो,’ अवस्थीले भने, ‘बाँकी जिल्लामा बुधबारसम्म पुगिसक्छ ।’

प्रकाशित : चैत्र १८, २०७६ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×