कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कसरी सफाइ पाए महराले  ? 

जिल्ला अदालत काठमाडौंले तयार पारेको फैसलाको पूर्णपाठ । विभिन्न सात आधारमा महराले आरोपबाट सफाइ पाउने उल्लेख छ । 
कृष्ण ज्ञवाली

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले विभिन्न सातवटा आधार र कारण औल्याउँदै पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको आरोपबाट सफाई दिएको भेटिएको छ ।

कसरी सफाइ पाए महराले  ? 

के-के छन् सफाइका आधार ?

–अनुसन्धानका दौरान अनि अदालतमा पीडितको इन्‍कारी बयान

–जाहेरी खण्डन हुनेगरी अनुसन्धानका क्रममा दिएको निवेदन

–पीडितले बकपत्रमा महरा आफ्नो कोठामा नआएको बताएको

–गिलास र चस्माको औंठाछाप भिडान हुन नसकेको

–तीनकुने गए पनि रक्सी नबोकेको र सेवन नगरेको बयान

–मादक पदार्थ सेवन गरी पीडितले प्रहरीमा उजुरी गरेको


न्यायाधीश अम्बरराज पौडेलको इजलासले तयार पारेको फैसलामा कुनै पनि आधार र दृष्टिकोणबाट हेर्दा महरालाई दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको उल्लेख छ । गत फागुन ५ गते भएको फैसलाको पूर्णपाठ तयार गरेर न्यायाधीश पौडेल अवकास पाइसकेका छन् ।

जिल्ला अदालतबाट कान्तिपुरलाई प्राप्त फैसलामा विभिन्न सात कारण र आधारहरुको विश्लेषण गरेर महरा निर्दोष रहेको ठहर गरिएको छ । पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्‍कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएको लगायतका कारणहरुको विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फैसला छ ।


‘कृष्णबहादुर महरा पीडितको डेरा कोठामा गई रक्सी सेवन गरी हातपात गरी पीडितउपर जबजर्जस्ती करणीको उद्योग गरेका हुन् भनी बिनाआधार कसूर कायम गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘प्रमाणको अभावमा प्रतिवादी महराले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ ।’ जिल्ला अदालत काठमाडौंको फैसलामा महराले सफाई पाउनुमा विभिन्न सातवटा आधारहरु उल्लेख छ ।

पीडितले अनुसन्धानका क्रममा अनि पछि जिल्ला अदालतमा समेत बकपत्र गर्दा महराले आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् । जिल्ला अदालतले उनको भनाइलाई महत्वपूर्ण आधार मान्दै बलात्कारको प्रयास ठम्याउन नसकिने जनाएको हो ।

‘एउटा वयस्‍क उमेरको महिलाले अदालतमा आई आफूले दिएको जाहेरीको बेहोरालाई पूर्णत खण्डन गरी प्रतिवादी निर्दोष रहेको भनी लेखाएको व्यहोरालाई अदालतले अन्यथा भन्न मिल्ने ठाउँ रहँदैन’ फैसलामा भनिएको छ, ‘बलात्कारका मुद्दामा प्रत्यक्ष साक्षी भनेको केवल पीडित महिला नै हो । त्यस्तो महिलाले अदालतमा स्वतन्त्ररुपमा बकपत्र गर्दा लेखाएको विषयमा न्याय निरुपण गर्ने महत्वपूर्ण प्रमाण हुन्छ ।’

गत असोज १२ गते महरा ‘नयाँ बानेश्वर २६’को कोठामा पुगेको र दुवै पक्षबीच छिनाझम्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो । सिसासहितको एउटा फ्रेम महराले आफूले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा ‘नयाँ बानेश्वर २६’को कोठामा छुटेको थियो । आरोपपत्रको दाबीअनुसार, ‘घटनास्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डण्डी महराको नै हो भन्ने तथ्य स्थापित भएको देखिन्छ ।’

महरामाथि सभामुखको पद दुरुपयोग गरेको आरोपसहित सरकारी वकिलले ‘निवासबाट बाहिर निस्कँदासमेत आफ्ना वरिष्ठ सुरक्षाकर्मीलाई यकिन जानकारी नदिएको’ आरोप लगाएको थियो । पीडितलाई मादक पदार्थ सेवन गर्न कर लगाएको अनि सार्वजनिक पदको लाभ लगाएको आरोप पनि अभियोगपत्रमा थियो ।

सुरुमा प्रहरीमा पूर्वसभामुख महराविरुद्ध किटानी जाहेरी दिएकी पीडितले पछि भने आफूमाथि बलात्कारको प्रयास नभएको बरु प्रहरीले दबाबमा आफूलाई जाहेरी लेख्न लगाएको बयान दिएकी थिइन् । उनले अनुसन्धानकै दौरान प्रहरीमा निवेदन दिँदै आफ्नो कोठामा महरा नआएको र बलात्कार प्रयास पनि नगरेकाले छानबिन अघि नबढाउन भन्दै निवेदन दिएकी थिइन् । जिल्ला अदालतले उनको निवेदनलाई समेत प्रमाण मान्दै त्यसले पनि महराले बलात्कारको प्रयास गरेको पुष्टि नहुने फैसला गरेको हो ।

घटनास्थल मुचुल्कामा ‘नयाँ बानेश्वर २६’ भनी सांकेतिक नाम दिइएकी पीडितको जाहेरीअनुसार, महराले फोन गरेपछि उनले मदिरा सेवन गरेको भए नआउनु भनी जवाफ दिएकी थिइन् ।

तर, डेरामा आइसकेपछि महराले ‘केही हुँदैन तिमी र मसँगै भई रक्सी खाएर दशैं मनाउने हो भनेको’ मुचुल्काको ब्यहोरामा उल्लेख छ । त्यसपछि महराले पीडितको कोठामा भएको मुला, काक्रो, बदाम छुट्टाछुट्टै प्लेनमा राखी दुईवटा ग्लास समेतको व्यवस्था गरी ‘एउटै ग्लासमा खानुपर्छ’ भनी आफूलाई जबर्जस्ती खुवाए । पीडितकै शब्दमा, ‘त्यसपछि महराले जबर्जस्ती करणी (बलात्कार) गर्ने मनसाय राखी दुर्व्यवहार गरे । मैले प्रतिकार गर्दा निजले मलाई निर्घात कुटपिट गरेपछि म कराएकोमा निज मेरो डेरा कोठाबाट भागी गएको’ मुचुल्कामा भनिएको छ ।

पीडितले पछि भने बकपत्रमा त्यो दिन महरा आफ्नो डेरामा नआएको बताएकी थिएन् । त्यसलाई समेत आधार मान्दै जिल्ला अदालतले पीडितको कोठाबाट बरामद भएको गिलास र चस्माको औंठाछापसँग महराको हातको औंठाछाप परीक्षण गर्दा भिडान हुन नसकेको नतिजा आएको भन्दै त्यसबाट पनि उनी पीडितको कोठामा गएको पुष्टि नहुने राय दिएको हो ।

जिल्ला अदालतले अनुसन्धानकै क्रममा पीडितले आफूमाथिको कसुर इन्‍कार गरेकाले त्यसलाई मान्यता दिनुपर्ने फैसला गरेको छ । अदालतमा आएर बयान फेरेको (होस्टाइल) नभई पीडित स्वयंले मुद्दाको अनुसन्धानको चरणदेखि नै प्रतिवादी निर्दोष रहेको, वारदात मितिमा प्रतिवादी आफ्नो डेरा कोठामा नआएको र मउपर प्रतिवादीबाट कुनै कसुर नै नभएकोले अनुसन्धानका क्रममा हिरासतमा राख्दासमेत म्याद थप्न हुँदैन भनेको भन्दै त्यस्तो अवस्थामा महरालाई दोषी ठहर गर्न नहुने उल्लेख छ ।

महराका सुरक्षाकर्मीहरुले बयानका क्रममा उनी बालुवटारदेखि गाडी लिएर तीनकुने आएको र ‘यही बस्नु×’ भनेर आफूमात्रै कतै गएको बताएका थिए । तर, फैसलामा तीनकुने आएको भए पनि रक्सी सेवन गरेको अनि रक्सी बोकेर पीडितको कोठामा गएको भनी सुरक्षाकर्मीले नभनेका कारण उनीमाथिको आरोप सही नहुने फैसलामा राय छ ।

महानगरिय प्रहरी वृत्त नयाँ बानेश्वारका डीएसपी दुर्गाराज रेग्मीको प्रतिवेदनमा ‘प्रहरी कन्ट्रोलबाट आएको सूचनाअनुसार पीडितको घरमा जाँदा महराले आफूले मदिरा सेवन गरी जबर्जस्ती सेवन गर्न लगाई करणी गर्ने प्रयाससमेत गरेकाले प्रतिकार गरेर चिच्याउने चेतावनी दिएपछि भागी गएको’ भनी लेखाइकी थिइन् । पछि उनले घटनाको उजुरी गर्न जाउँ भन्दा श्रीमान् काम विशेषले बाहिर गएकाले मानिन् अनि घटनास्थल मुचुल्कामा मात्रै सही गरिन् ।

बयानका क्रममा संसद् सचिवालयकी ती कर्मचारीले आफूले नियमित रुपमा डिप्रेसनको औषधि खाएको, औषधि खाएपछि आफैं अचेत भई पहिले पनि विभिन्न व्यक्तिलाई फोन गर्ने गरेको बताउँदै त्यो दिन पनि कांग्रेस सांसद उमा रेग्मी र प्रहरी कन्ट्रोलको १०० मा फोन गरेको हुनसक्ने बताएकी थिइन् । उनले बयान फेरेर मदिरा आफैंले किनेको भनिन् । उनले भनेकी छन्, ‘कोठाको रक्सी मेरो व्यक्तिगत प्रयोजनका लागि किनेर ल्याएको हो । त्यसको ६ सय रुपैयाँ अझै तिर्न बाँकी छ ।’ फैसलामा ‘डिप्रेसनको औषधि र मादक पदार्थ सेवन गरेकाले म बेहोस भएको’ भन्ने लेखाएको हुनाले उनले सांसद रेग्मी र प्रहरीलाई बताएको सूचना विश्वसनीय हुन नसक्ने निष्कर्ष निकालेको हो ।

प्रकाशित : चैत्र २३, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?