कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दबाबपछि मात्रै बिरामी भर्ना

लुम्बिनी मेडिकल कलेजले ज्वरो र रुघाखोकी लागेका बिरामीलाई गेटबाटै फर्काउँदै आएको थियो
माधव अर्याल

पाल्पा — ज्वरो र रुघाखोकी लागेका बिरामीलाई गेटबाटै फर्काउँदै आएको लुम्बिनी मेडिकल कलेजले उच्च प्रशासक र राजनीतिक नेतृत्वको दबाबमा भर्ना लिन थालेको छ ।

दबाबपछि मात्रै बिरामी भर्ना

कोरोना भाइरसको जोखिम कम गर्न सरकारले गरेको लकडाउनसँगै कलेजले ज्वरो र रुघाखोकी लागेका बिरामीलाई गेटमै जाँच गरेर फर्काउने गरेको थियो ।


केही दिनअघि बगनासकाली–२ पोखराथोक र माथागढी–४ झडेवाका बिरामीका विषयमा टीकाटिप्पणी भएपछि कलेज दबाबमा परेको हो । कतिपय बिरामीलाई एम्बुलेन्सबाटै बाहिर ननिकाल्ने र निकालेर ज्वरो नाप्ने गर्छ । ज्वरो बढी देखिएमा घरमै गएर आराम गर्न बिरामीलाई दबाब दिने गरेको पीडितको गुनासो छ । ‘बिरामी फिर्ता गर्नु गलत र अमानवीय कार्य हो,’ माथागढीका राजकुमार पन्थीले भने, ‘यस्ता घटनामा प्रशासनले कारबाहीको दायरामा ल्याउनुपर्छ ।’


मेडिकल कलेजमा दैनिक ७ देखि १० जनासम्म ज्वरो, रुघाखोकीका बिरामी पुग्ने गरेका छन् तर उनीहरूलाई गेटबाटै फर्काउने गरेको छ । कलेजका सञ्चालक र निर्देशकले भने सुरक्षित रहनका लागि उनीहरूलाई घरकै आइसोलेसनमा आराम गर्न पठाएको दाबी गरेका छन् । कलेजले १० बेडको आइसोलेसन कक्ष राखेको जानकारी सरकारी अधिकारीलाई दिएको छ । बेड तयारी अवस्थामा नभएकाले पनि घरमै आराम गर्न पठाउनुपरेको कलेजका निर्देशक डा. राजु शाक्यले बताए । ‘हामीले सकेसम्म बिरामी अस्पतालसम्म नआउन नै भनेका छौं,’ उनले भने, ‘आएका कतिपय बिरामीलाई घरमै बस्न भनेको हो ।’ तर भर्ना गर्नुपर्ने बिरामीलाई भने आफूहरूले नफर्काएको उनले बताए ।


प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा सहजीकरण कमान्ड पोस्टको टोलीले मेडिकल कलेज पुगेर अनुगमन गरेको छ । सुवेदीका अनुसार कलेजले बगनासकाली, पोखराथोकका बिरामी फिर्ता गरेको विषयमा गल्ती भएको स्विकारेको छ । झडेवाबाट आएका बिरामीका विषयमा पुन: हेर्न सकिने भएकाले बोलाइएको उनले बताए ।


लुम्बिनी मेडिकल कलेज मात्र होइन, मिसन अस्पताल, रामपुर, पाल्पा अस्पताल र निजी मेडिकलमा समेत रुघाखोकी र ज्वरोका बिरामीले आफैं एक्लै आएर वा आफन्तसँग आएर मात्रै सहज तरिकाले उपचार पाउन नसकेको गुनासो आइरहेको छ । राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका जिल्ला अध्यक्ष दिवाकर पाण्डेले निजी अस्पताल कर्तव्यप्रति विमुख भएको बताए । उनले सरोकारवाला पक्षलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।


स्वास्थ्यकर्मीमा त्रास

पूर्वखोला गाउँपालिका–१ सिलुवाको जनमार्ग मावि क्वारेन्टाइनमा २१ जना बस्छन् । उनीहरू भारतबाट फर्केका हुन् । हतारहतार निर्माण गरेको क्वारेन्टाइनमा उनीहरूलाई लगेर राखिएको हो । एक जना भान्छेको व्यवस्थापन गरेर खाना खुवाइएको छ । गाउँपालिकाले सबैलाई एक–एक थर्मोमिटर (ज्वरो नाप्ने यन्त्र) दिएको छ । कुनै पनि स्वास्थ्यकर्मीले जाँच गर्न नमानेपछि प्रत्येकलाई दिइएको हो । ‘हाम्रो आफ्नै सुरक्षा नभएपछि कसरी जाँच गर्न जाउँm भन्ने भयो,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भने, ‘व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) छैन, त्यसैले अहिले काम चलाउनका लागि थर्मोमिटर दिएका हौं ।’


गाउँपालिकाको वीरकोटका दुई स्थानमा ज्वरोका बिरामी भेटिएका छन् । कर्नेडाँडाका ज्वरोका बिरामीलाई तानसेनको मिसन अस्पतालले गेटबाट ज्वरो नापेर फिर्ता पठाएको छ । अर्का पोखरीछापका बिरामीलाई पनि लुम्बिनी मेडिकल कलेजले गेटमै ज्वरो नापेर फिर्ता पठाएपछि घरमै बसेका छन् । लुम्बिनी मेडिकल कलेजका कार्यकारी निर्देशक गोपालबहादुर पोखरेलले फिजिसियनले हेरेर फिर्ता पठाएको बताए । रैनादेवी छहराको भुवनपोखरीमा रहेको क्वारेन्टाइनमा पनि चार दिनदेखि स्वास्थ्य जाँच हुन सकेन । गाउँपालिकाले व्यक्तिगत सुरक्षा उपकरण नभएकाले अहिलेसम्म स्वास्थ्यकर्मी पठाउन नसकेको जनायो । प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीका अनुसार पीपीई जुगाड गरेर भए पनि हेल्थ असिस्टेन्टको नेतृत्वमा त्यहाँ स्वास्थ्यकर्मी पुगेका छन् ।


‘हतियारबिनाका सुरक्षाकर्मीलाई लडाइँमा पठाउनेजस्तो भयो,’ उनले भने, ‘त्यसैले जुगाड गरेर भए पनि पीपीई लगाउने र औषधिसहित ज्वरो नापिएको छ ।’ रामपुर नगरपालिकाले भने रामपुर अस्पतालबाट क्वारेन्टाइनमा बसेका बिरामी हेर्न जानका लागि सामान्य पीपीईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए ।


उनले दुई घुम्ती टोली पनि खटाएका छन् । उनीहरूलाई सुरुमा बेड व्यवस्थापन गर्न नसकेको तर अहिले भने बेड पनि व्यवस्थापन भइसकेको थापाले बताए । जिल्लामा कुनै पनि स्थानीय तहमा पीपीई व्यवस्थापन नहुँदै थापाले प्रदान गरिसकेका थिए । एम्बुलेन्स चालकलाई पनि पीपीई व्यवस्थापन गरिएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?