कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टेकुका १६ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

कोभिड–१९ का बिरामी हेर्ने स्वास्थ्यकर्मी संक्रमित हुने र परिवारमा सार्ने सम्भावना रहने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।
फातिमा बानु

काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जना अस्पतालकै क्वारेन्टाइनमा बसिरहेका छन् । प्रत्यक्ष रूपमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचार र हेरचाह गर्ने स्वास्थ्यकर्मी एक सातादेखि क्वारेन्टाइनमा बसेका हुन् ।

टेकुका १६ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

कोभिड–१९ का बिरामी हेर्ने स्वास्थ्यकर्मी संक्रमित हुने र परिवारमा सार्ने सम्भावना रहने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले बताए । ‘केही स्वास्थ्यकर्मीका घरमा मधुमेह, मिर्गौलाजस्ता दीर्घरोगी, बालबच्चा र वृद्धवृद्धा भएकाले घर नगएका हुन्,’ उनले भने, ‘केहीलाई घरबेटी र समुदायले राम्रो व्यवहार गरेनन् ।’

कोभिडका बिरामी अस्पतालमा भर्ना भएसम्म ती स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था गरिने उनले बताए । घरमा जोखिम सदस्य नभएका चिकित्सक भने ड्युटी सकेर घरै फर्किरहेका छन् ।

उनका अनुसार कोभिड संक्रमित बिरामी उपचार गर्नेलाई क्वारेन्टाइनमा राखिने अन्तर्राष्ट्रिय अभ्यास हो । ‘आइसोलेसन वार्ड छिर्ने स्वास्थ्यकर्मीलाई सक्दो जोगाएका छौं, अनिवार्य रूपमा पीपीई लगाउँछन्,’ उनले भने, ‘यसो गर्दा बिरामीबाट संक्रमण सर्ने सम्भावना न्यून हुन्छ, तैपनि समुदाय त्रासमा नहोस् भनेर क्वारेन्टाइनमा राखेका छौं ।’ स्वास्थ्यकर्मी नै बढी जोखिममा भएकाले सकभर सबैलाई आइसोलेसनमा नखटाइएको उनले बताए ।

स्वास्थ्यकर्मी बस्नका लागि टेकुकै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा व्यवस्था गरिएको छ । तालिम लिने सबै कर्मचारी घर फर्केपछि केन्द्रको भवन पूरै क्वारेन्टाइन प्रायोजनका लागि तयार पारिएको छ । अस्पतालमा कोभिड पोजेटिभ बिरामी फेला परेपछि खानाको ठेक्का लिएको चमेना गृहका सञ्चालकसमेत भागेको डा. राजभण्डारीले बताए । ‘स्वास्थ्यकर्मीका लागि खाना समस्या भएपछि स्वास्थ्य मन्त्रालयले खुवाउने वाचा गरे पनि पूरा गरेन,’ उनले भने, ‘लकडाउनले गर्दा कतै बाहिरबाट खाना ल्याउन पनि सम्भव भएन, अनि अस्पतालमै खानाखाजा पकाइरहेका छौं ।’

भोलि महामारी फैलिएर सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थिति आयो भने अस्पतालमा ठाउँ नभएको र खुवाउनका लागि आर्थिक क्षमता पनि नभएकाले मन्त्रालयले सघाउनुपर्ने उनले बताए । आईसीयूमा खटिने एनेस्थिसिया विशेषज्ञ, श्वासप्रश्वास विशेषज्ञ र नर्सिङ कर्मचारी अभाव भएको उनको भनाइ छ ।

अस्पतालमै अक्सिजन प्लान्ट
कोभिडका गम्भीर बिरामी राख्नका लागि अस्पतालमा २० बेडको आईसीयू कक्ष छ । तर, आईसीयूमा चाहिने अक्सिजनको व्यवस्था गर्न मुस्किल भएपछि अस्पतालमै अक्सिजन प्लान्ट राख्ने तयारी भइरहेको छ ।

‘भोलि आईसीयूमा बिरामी भर्ना भइहाले भने एउटा अक्सिजन सिलिन्डरले एक घण्टा पनि धान्दैन,’ डा.राजभण्डारीले भने, ‘एक वर्षलाई पुग्ने अक्सिजन हामी आफैं उत्पादन गर्छौं, मेसिनचाहिँ आउन बाँकी छ ।’ पुरुष उपचार कक्ष भत्काएर आईसीयू बिस्तार गर्न थालिएको छ ।

आईसीयूमा भर्ना भएका एचआईभी र श्वासप्रश्वासका बिरामीलाई पाटन र वीर अस्पताल पठाइएको छ । ‘कुनै पनि सरुवारोगका बिरामी हामी लिँदैनौं,’ उनले भने, ‘केही समयका लागि कोरोनामै लक्षित हुन्छौं ।’ संक्रमण नफैलियोस् भनेर बिरामी लैजाने र स्वास्थ्यकर्मी हिँड्ने बाटोसमेत अलग बनाइएको छ । संक्रमण समुदायमा नपुगोस् भनेर बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गरेका कपडा अस्पतालमै धोइन्छ । अस्पतालजन्य फोहोर संक्रमणमुक्त बनाउन अटोक्लेभ उपकरणसमेत ल्याइने डा. राजभण्डारीले बताए ।

‘अस्पतालका फोहोर बाहिर लगिएको छैन,’ उनले भने, ‘उपकरण आएपछि संक्रमणमुक्त बनाएर मात्रै पठाउँछौं ।’

दैनिक डिसइन्फेक्सन
भाइरस संक्रमण कम गर्न अस्पताललाई दैनिक डिसइन्फेक्ट गर्ने गरिएको छ । अस्पतालवरपर क्लोरिन पाउडर छर्किइएको छ । काठमाडौं महानगर पालिकाले स्प्रे छर्ने गरेको छ । दिनको एकपटक अस्पतालका सबै वार्डका सामग्री डिटोल पानीले पुछ्ने गरिएको छ ।

‘केमिकलको धूवाँ बनाएर सबै वार्डलाई संक्रमणमुक्त बनाउँछौं,’ डा.राजभण्डारीले भने, ‘एउटा बिरामी निस्कनेबित्तिकै आइसोलेसन वार्डलाई संक्रमणमुक्त बनाउँछौं ।’ अस्पताललाई थप तयारी गर्ने तयारीसमेत भएको उनले बताए ।

प्रकाशित : चैत्र २२, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?