अदालतको अतिआवश्यक सेवा चैत २८ सम्म सञ्‍चालन हुने- समाचार - कान्तिपुर समाचार

अदालतको अतिआवश्यक सेवा चैत २८ सम्म सञ्‍चालन हुने

रासस

काठमाडौँ — सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । 

सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अदालतको यसअघिको पूर्ण बैठकले आजसम्मका लागि अतिअवाश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको थियो ।


सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले १५ दिनको तलब उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । बैठकले मातहतका अदालत तथा न्यायाधीकरणका न्यायाधीशलाई कोषमा सहयोगस्वरुप रकम उपलब्ध गराउने बारेमा लेखी पढाउने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र २१, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्

दोर्दी गाउॅपालिकामा १ करोडको कोरोना राहत कोष स्थापना

आश गुरुङ

लमजुङ — लमजुङको दोर्दी गाउॅपालिकाले कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । कोषबाट कोरोना संक्रमण हुन नदिन गरिने सवै काम गर्ने गाउॅपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए । 

उनका अनुसार गाउॅपालिकाभित्र कोरोना संक्रमण हुन नदिन अपनाइने सतर्कता, आवश्यक तयारी र व्यवस्थापनमा कोषको रकम खर्च गरिने भएको छ ।

त्यस्तै गाउॅपालिकाले कोरोनाको उपचारमा सम्लग्न प्रत्येक स्वास्थ्यकर्मीको १० लाख रुपैयाा बराबरको जीवन बिमा गर्ने भएको छ । उपाचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र सवारी चालकका लागि यो बिमा लागू हुने गाउॅपालिका अध्यक्ष गुरुङले बताए । ‘कोरोना संक्रमित विरामीको उपचारका क्रममा स्वास्थ्यका कर्मचारीका लागि १० लाखको जीवन बीमा गरिदिने भएका छौं । बिमा गाउॅपालिकाभित्रका स्वास्थ्यकर्मीका लागि हो,’ उनले भने ।

गाउॅपालिका उपाध्यक्ष दिलबहादुर घलेले संक्रमण सम्भावित विरामी अस्पताल लैजान गाउॅपालिकाले २ एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिए । उॅपालिकाले भाडामा लिएर एम्बुलेन्सको व्यवस्था गरेको हो ।

त्यस्तै गाउॅपालिकाले लकडाउनको समयमा अपरिचित व्यक्तिलाई गाउॅपालिका क्षेत्रभित्र प्रवेश गर्न रोक लगाएको छ । गाउापालिकाका बासिन्दालाई अन्यत्र जान पनि रोक लगाएको उपाध्यक्ष घलेले बताए । गाउॅपालिकाले ज्याला मजदुरी गर्दै आएकालाई आवश्यकता अनुसार खाद्यान्य उपलब्ध गराउने निर्णय गरेको उपाध्यक्ष घलेले जानकारी दिए ।

प्रकाशित : चैत्र २१, २०७६ २१:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×