कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विश्‍वका १९३ पार्टीको संयुक्त अपिल- जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्‍न आग्रह

काठमाडौँ — नेकपालगायत विश्वका १९३ देशका राजनीतिक पार्टीले कोभिड–१९ विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि अपिल गरेका छन् । अपिलमा जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न सबै राष्ट्रलाई आग्रह गरिएको छ ।

विश्‍वका १९३ पार्टीको संयुक्त अपिल- जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्‍न आग्रह

नेकपाका विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालले शुक्रबार विज्ञप्तिमार्फत् चिनियाँ कम्युनिष्ट पार्टी लगायतका विश्वका १९३ राजनीति दलले १० बुँदे संयुक्त अपिल जारी गरेको जनाएका छन् ।


अपिलमा मानव जातिमाथि नै ठूलो संकटका रुपमा देखा परेको महामारीका विरुद्ध लड्न विश्वका सबै मुलुकले आ–आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेको उल्लेख छ । यस प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाएर मात्रै हामी कोभिडविरुद्धको लडाईंमा विजय हासिल गर्न सकिने अपिलमा छ ।


‘अ ज्वाइन्ट ओपन लेटर फ्रम वल्र्ड पोलिटिकल पार्टीज् कन्सर्निङ क्लोजर इन्टरनेसनल को– अपरेसनएगेन्स्ट कोभिड–नाइन्टिन’ नामक उक्त अपिललाई सम्प्रेषण गरेका छौं, समान चिन्ता, सरोकार र अपेक्षाका साथ तयार गरिएको उक्त दस्तावेजले संकटका बेला एकजुट भएर अघि बढ्न विश्वलाई प्रेरित गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं’ नेता नेपालले जारी गरेको विज्ञप्तिमा छ ।


अपिलमा सबै राष्ट्रलाई आर्थिक नीतिहरुको अन्तर्राष्ट्रिय समन्वयतिर कदम चाल्न आग्रह गरिएको छ । प्रभावकारी अन्तर्राष्ट्रिय रोकथाम र नियन्त्रणका लागि, जी–२० र अन्य अन्तर्राष्ट्रिय संयन्त्र अन्तर्गत समन्वय र सहकार्य बढाउनका पनि आह्वान गरिएको छ ।


यस्ता छन् अपिलका १० बुँदा

१.हामी सबै व्यक्ति, विशेषगरी स्वास्थ्यकर्मीहरु प्रति उच्च सम्मान अर्पण गर्दछौं, जसले मानिसहरुको स्वास्थ्यको ख्याल राख्न र जीवन बचाउन आफूलाई समर्पण गरेका छन् । कोभिड–१९ बाट पीडित, जीवन जोखिममा परेका तथा शोक सन्तप्त परिवारजनप्रति हामी हार्दिक सहानुभूति र एकता प्रकट गर्दछौं । साथै, यस प्रकोपमा दुर्भाग्यवश ज्यान गुमाउनेहरुप्रति हामी गहिरो शोक व्यक्त गर्दछौँ ।


२.हामी बुझ्दछौं, यदि कोभिड– १९ प्रकोप प्रभावकारी रुपमा शीघ्र रोकथाम गरिएन भने यसले धेरै व्यक्तिको ज्यान, सुरक्षा र स्वास्थ्य माथि ठूलो हानी पुर्‍याउने छ । अझ अधिकांश राष्ट्रहरूको आर्थिक र सामाजिक विकास तथा अन्तर्राष्ट्रिय आदान–प्रदान र सहयोगमा समेत गम्भीर प्रभाव पार्नेछ । हामी सबै राष्ट्रहरूलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड– १९ फैलिनबाट अन्त्य गर्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गर्दछौँ ।


३. कोभिड– १९ विरुद्ध लड्न आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाका आधारमा आकस्मिक योजना र रणनीतिहरू आवश्यक पर्दछन् । हामी राष्ट्रहरूलाई ती योजना र रणनीतिहरू तयार अवस्थामा राखी सहकार्यलाई सुदृढ गर्न सहयोग गर्नेछौँ । साथै समान जोड दिएर यसको रोकथाम र बिरामी उपचार गर्न प्रोत्साहित गर्दछौँ । यसैबीच, दूर्तगतिमा उत्तम परिणामहरू सुनिश्चित गर्न आधुनिक विज्ञान र प्रविधि पूर्ण रुपमा लागू गर्नुपर्दछ ।


४.हामी सबै राष्ट्रका नागरिकलाई सामाजिक जिम्मेवारीको भाव बुझेर रोकथामका उपायहरूको अनुपालन गर्न आग्रह गर्दछौं । कोभिड– १९ बिरुद्ध लड्न नागरिक समाज र स्वयंसेवकहरूको आवश्यकता पर्दछ । हामी राष्ट्रहरूलाई उक्त क्षमताको लाभ लिएर सम्पूर्ण सामाजिक क्षेत्रको शक्ति उपयोग गर्नका लागि प्रोत्साहित गर्दछौँ ।


५.महामारी नियन्त्रण गरिरहँदा, एकीकृत दृष्टिकोण अपनाएर आर्थिक र सामाजिक सुनिश्चितता तथा लक्षित उपायहरू प्रयोग गरेर कमजोर समूह र एसएमईहरूको रक्षा गर्नुपर्दछ । जनताको जीवनस्तर र सामाजिक प्रगतिप्रति उनीहरूको प्रतिबद्धतालाई सम्मान गर्न हामी सबै राष्ट्रहरूलाई प्रोत्साहित गर्दछौँ । अहिले विश्व वित्तीयबजार र आपूर्ति स्थिर राख्नुपर्ने आवश्यकता छ । हामी सबै राष्ट्रहरुलाई आर्थिक नीतिहरुको अन्तर्रा्ष्टि्रय समन्वयतिर कदम चाल्न आग्रह गर्दछौँ । विश्वव्यापी आर्थिक मन्दी रोक्न व्यापार सुविधाको लागि सीमाशुल्क घटाउन वा छुट दिन पनि आग्रह गर्दछौँ । साथै, हामी तत्काल आवश्यक पर्ने मेडिकल उपकरण र सुरक्षात्मक सामाग्रीको सीमापार आदान प्रदानको उचित स्तर कायम राख्न राष्ट्रहरूलाई प्रोत्साहित गर्दछौँ ।


६.हामी सचेत छौँ– यो भाइरसले कुनै सीमानाको सम्मान गर्दैन र प्रकोपको समय कुनै राष्ट्रले एकल रुपमा यसका चुनौतीहरूको सामना गर्न सक्दैन । यस कठिन परिस्थितिमा राष्ट्रहरूले सक्रिय रूपमा परस्पर सहयोग प्रदर्शन गरी मानव जातिको साझा भविष्यका निम्ति सामुदायिक चेतना विकास गर्नुपर्दछ । नजिकको अन्तर्राष्ट्रिय सहकार्य, समन्वय भएका नीतिहरू, संयुक्त कार्यहरू र विश्वव्यापी रूपमा स्रोत र शक्तिको परिचालनले हामीलाई यस मानवताको साझा दुश्मन भाइरसलाई हराउन सक्षम बनाउने छ ।


७.चीन र अन्य केही राष्ट्रहरूमा कोभिड– १९ विरूद्ध भएको महत्वपूर्ण प्रगतिले हाम्रो ध्यानाकर्षण गरेको छ । उक्त लडाइँले अन्तर्राष्ट्रिय समुदायलाई समय र अनुभव प्रदान गरेको छ । हामी चीन लगायत देशहरूको उच्च प्रशंसा गर्दछौँ जसले खुला, पारदर्शी र उत्तरदायी प्रवृत्ति अपनाएर समयमै सम्बन्धित जानकारी प्रकाशन गरे तथा बिरामी उपचारको अनुभव बाँडे । विशेषत: अन्य प्रभावित देशहरूलाई उनीहरूको क्षमताका आधारमा मेडिकल र अन्य आपूर्तिहरू प्रदान गरे । यसले कोभिड– १९ विरूद्धको विश्वव्यापी लडाइँमा ठूलो योगदान पुर्‍याउनुका साथै अन्य देशहरूको यो लडाइँ जित्न सक्ने आशा र विश्वासमा बढावा दिएको छ ।


८.हामी कोभिड– १९ का बारेमा बसेको जी–२० नेताहरूको असाधारण शिखर सम्मेलन वक्तव्यको स्वागत गर्दछौँ । प्रकोप रोक्न अनुभवको साझेदारी, चिकित्सा सहकार्य तथा विशेष औषधी, खोप र परीक्षणको संयुक्त अनुसन्धान र विकास आवश्यक पर्दछ । हामी यस कार्यमा सहयोग पुर्‍याउने राष्ट्रहरूलाई समर्थन गर्दछौँ । हामी विकासशील र कमजोर जनस्वास्थ्य प्रणाली भएका राष्ट्रहरूलाई सामग्री, प्राविधिक र अन्य सहयोगका लागि आग्रह गर्दछौँ । सहकार्य रुपी सूर्यको किरणले महामारीको अन्धकार फैलिनबाट रोकोस् ।


९. हामी रोकथामका उपाय र भाइरसको उत्पत्ति जस्ता मुद्दाहरूमा विज्ञानमा आधारित व्यावसायिक छलफलका लागि आह्वान गर्दछौँ । हामी सार्वजनिक स्वास्थ्यका मुद्दाहरूको राजनीतिकरण र कोभिड– १९ को बाहनामा अन्य राष्ट्रहरूप्रति कलंकित व्यवहारको कडाइका साथ विरोध गर्दछौँ । हामी कुनै पनि राष्ट्र, क्षेत्र वा जातीय समूह माथि हुने भेदभावपूर्ण टिप्पणी र अभ्यासका विरूद्ध दृढ अडान लिन्छौँ । हामी सबै राष्ट्रका सरकारलाई विदेशी नागरिक र विद्यार्थीको स्वास्थ्य, सुरक्षा र वैधानिक हितको रक्षा गर्न आवश्यक सक्रिय कदम चाल्न आह्वान गर्दछौँ ।


१०.कोभिड– १९ को प्रकोपले विश्वव्यापी शासनको दृष्टिकोणलाई बढावा दिन अझ बढी आवश्यक देखिएको छ । राष्ट्रहरूले छलफल र सहकार्यबाट साझा वृद्धि हासिल गर्न संयुक्त राष्ट्रसंघ र सार्वजनिक स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिका आवश्यक देखिएको छ । हामी आम जनस्वास्थ्यको साझा भविष्य बोकेको विश्व समुदाय निर्माण गर्ने प्रयास गरिरहेका छौँ । तसर्थ, हामी प्रभावकारी अन्तर्रा्ष्टि्रय रोकथाम र नियन्त्रणका लागि, जी–२० र अन्य अन्तर्राष्ट्रिय संयन्त्र अन्तर्गत समन्वय र सहकार्य बढाउनका लागि आह्वान गर्दछौँ ।


हामी विश्वभरिका मुलुकका प्रमुख राजनीतिक दलहरूको हैसियतले असामान्य परिस्थितिमा नजिकबाट सञ्चार कायम गर्ने र कोभिड– १९ विरूद्धको विश्वव्यापी लडाइँमा राजनीतिक ऊर्जा दिने सुनिश्चित गर्दछौँ । हामी दृढ विश्वास गर्छौं, हाम्रो वर्तमान कठिनाइहरू अस्थायी हुन् र प्रत्येक आँधीबेहरी पछि सूर्यको किरण देखा पर्नेछ । अहिले विज्ञानमा आधारित लक्षित दृष्टिकोण लिएर आत्मविश्वास र संकल्पका साथ ठोस प्रयास गर्ने बेला हो । अन्तर्राष्ट्रिय समुदायले त्यसो गरेमा कोभिड– १९ विरूद्धको विश्वव्यापी अवरोधमा निश्चित रूपले अन्तिम विजय हासिल गर्नेछ । हाम्रो विश्वास छ, महामारी पछि मानव जातिको साझा भविष्य बोकेको समुदाय बलियो हुनेछ र मानवतालाई उज्यालोले अँगाल्नेछ ।

प्रकाशित : चैत्र २१, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?