खरिपाटी क्‍वारेन्टाइनमा रहेका ९६ जनाको स्वाब परीक्षण 

भक्तपुर — चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९६ जनाको घाँटीको र्‍याल र ‘नेजल स्वाब’ को नमूना संकलन गरिएको छ ।

खरिपाटी क्‍वारेन्टाइनमा रहेका ९६ जनाको स्वाब परीक्षण 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सकलगायत प्राविधिकले करिब ३ घण्टा लगाएर र्‍याल तथा ‘नेजल स्वाब’को नमूना संकलन गरेका हुन् ।


सरकारले प्रतिबन्ध गरेको मूलुकबाट हवाई तथा खुला सीमा नाका भएर भित्रिएका ९६ नागरिकलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको देशबाट थाई एयरवेज र एयर इन्डियाबाट चैत ८ गते आएका र त्यसपछि बंगलादेश, भारतहुँदै उनीहरु नेपाल आएका हुन् । क्वारेन्टाइनमा राखिएको १४ दिनपछि मात्र उनीहरुको र्‍याल तथा ‘नेजल’ को नमूना परिक्षण गरिएको हो । परीक्षणको रिपोर्ट तीन दिनभित्र आउने प्रयोगशालाका चिकित्सिकले जनाएका छन् ।


कोभिड–१९ को उद्गम स्थान चीनको वुहानबाट उद्धार गरेर गत फागुन ४ मा ल्याइएका १ सय ७५ जना नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएको हो । उद्धार भएर आएका सबैको रिपोर्ट नेगेटिभ आएपछि १७ दिनमा उनीहरुलाई घर पठाइएको थियो ।


सोही क्वारेन्टाइनमा चैत्र ८ गते पछि २० महिला सहित ९६ जनालाई राखिएको क्वारेन्टाइनको व्यवस्थापनको नेतृत्व सम्हालेका वीर दल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताए ।


नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले क्वारेन्टाइनको निगरानी गरिरहेको छ । नेपाली सेनाका चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मी सहितको ‘कन्ट्रोल रुम’ स्थापना गरिएको छ । ‘कन्ट्रोल रुम’ बाटै क्वारेन्टाइनमा बसेकाहरुको निगरानी गर्ने पौडेल बताउँछन् ।


क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई प्राधिकरणको क्यान्टिनबाट सेनाले खाना प्याकिङ्ग गरेर प्रत्येक दिन बिहान नास्ता, खाना, दिउासो खाजा र सााझ खानाको व्यवस्थापन मिलाएको छ । क्वारेन्टाइनमा बसेकाहरुले आफैंले खर्च गर्नुपर्ने बताइएपनि सेनाले व्यवस्थापन गरिरहेको छ । के–कति खर्च भएको भन्ने एकीन तथ्यांक आउन भने बाँकी छ ।

प्रकाशित : चैत्र २१, २०७६ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?