१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘सुरुको पोजिटिभ केस निको बनाएर पठाउँदा हामीमा आँट बढेको छ’

‘रोग आयो भनेर मनोबल घटाउने होइन, जुध्न सक्छु भनेर आफूलाई तयार राख्नुपर्छ ।’
बुनु थारु

काठमाडौँ — विश्वव्यापी महामारी कोभिड–१९ बाट नेपालमा हालसम्म छ जना संक्रमित भएका छन् । तीमध्ये एक जना निको भइसके भने पाँच जना उपचाररत छन् । पहिलो केस माघ १० मा देखिएको थियो । उपचारमा खटिने चिकित्सक तथा नर्सलाई संक्रामक रोगको जोखिम हुन्छ । यस्तो अवस्थामा सरकारले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पर्याप्त उपलब्ध नगराएको भन्दै आलोचनासमेत भइरहेको छ । 

‘सुरुको पोजिटिभ केस निको बनाएर पठाउँदा हामीमा आँट बढेको छ’

बालाजुकी ४५ वर्षीया सानुमैया नकर्मी पहिलो केसदेखि नै उपचारमा खटिएकी नर्स हुन् । कोभिड–१९ का बिरामीको स्याहारसुसारमा खटिएकी उनले इकान्तिपुरकी बुनु थारुसँग आफ्नो अनुभव यसरी सुनाइन् :


ग्यास्ट्रो वार्डबाट आइसोलेसनमा

मैले नर्सिङ पेसामा २० वर्ष बिताइसकेकी छु । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गर्न थालेको १३ वर्ष भयो । पहिले काठमाडौं मोडल अस्पतालमा काम गर्थें । लोकसेवा आयोगमा नाम निकालेपछि म रसुवा अस्पतालमा काम गर्न गएँ । त्यहाँबाट सरुवा भएर टेकु आएकी हुँ । सुरुमा ग्यास्ट्रो वार्डमा र त्यसपछि एआरटी सेन्टरमा दुई वर्ष काम गरेँ । जनरल वार्डमा हुँदै, स्पेसल क्याबिन र अहिले आइसोलेसन वार्डमा काम गरिरहेकी छु ।

भाग्यले भाइरस सरेन

पहिलो केस आउँदा बिरामीलाई स्पेसल क्याबिनमा राखेका थियौं । पछि पुष्टि भएपछि क्याबिन वार्डलाई आइसोलेसन वार्डमा छुट्याइयो । सुरुमा त चीनमा सार्सजस्तो रोग आएको छ रे, त्यस्तै खालको रोग हो भन्ने लागेको थियो । हामीलाई कोरोनाबारे धेरै जानकारी थिएन । नयाँ रोग थियो । यस्तो डरलाग्दो हुने रहेछ भन्ने हामीले त्यति बेला सोच्ने कुरा पनि भएन । मेरो नाइट ड्युटी परेको थियो । संक्रामक रोग हेर्ने नर्सहरूको मास्क र पन्जा कहिल्यै छुट्दैन । सुरुमा त ती बिरामीलाई अक्सिजन नपुग्ने, बेलुका एकदमै बढी ज्वरो हुने, घट्दै नघट्ने समस्या थियो । सावधानी अपनाउनुपर्छ भन्ने कुरा आयो । बिरामीबाट कम एक्सपोज हुन हामीलाई सिकाइयो । अक्सिजन दिँदा एक्सपोज हुने सम्भावना हुन्छ । पीपीपईको कुरा पनि निस्किएको थिएन । बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेका थियौं । उनको उपचारमा खटिएका धेरैले मास्क पनि लगाएका थिएनन् । उनी दुई–चार दिनमा निको भएपछि डिस्चार्ज भएर गए । उनको सुधार भइसकेको थियो । रिपोर्ट नआउँदासम्म हामीलाई डर थिएन । रिपोर्ट आएपछि ओहो भन्ने भयो । भाग्यवश हामीलाई कोरोना सरेन ।


मनोबल बढेको छ

म अविवाहित हो । ८० वर्षकी आमासँगै बस्छु । माइली दिदी क्यान्सरपीडित हुनुहुन्छ । उहाँहरुलाई केही नहोस् भन्ने चाहन्छु । बूढाबूढी र क्यान्सरपीडितमा हाम्रो जस्तो रोग प्रतिरोधात्मक क्षमता हुँदैन । त्यसैले म सजग छु । चिन्ता लिनुहुन्छ कि भनेर म मेरो काम उहाँहरूलाई धेरै सेयर गर्दिनँ । सुरुको पोजिटिभ केस निको बनाएर पठाउँदा हामीमा आँट बढेको छ ।

अस्पतालका १९ जना सदस्य हामी ती बिरामीसँग सम्पर्कमा रहेका थियौं । तिनको रिपोर्ट पोजिटिभ आउँदा चीनमा थुप्रै मानिस मरिसकेका थिए । त्यो सुनेपछि यस्तो बिरामीसँग डिल गरेका रहेछौं भनेर एक प्रकारको डर महसुस भयो । त्यति बेला खोकी लाग्यो कि सर्‍यो होला भन्ने डर हुन्थ्यो । १४ दिनभित्र हामी कसैलाई त्यस्तो लक्षण देखिएन । एकदुई जना दिदीहरूले खोकी लाग्दा कोरोना परीक्षण गराए तर नेगेटिभ देखियो । त्यसपछि मनोबल बढ्यो ।

ती व्यक्तिको आफन्तलाई पनि सरेको रहेनछ । ‘इम्युनिटी पावर’ बढी भएर हो कि हामीले भाइरस पचायौं । हामीले जित्यौं । त्यसपछि आइसोलेसन वार्ड व्यवस्थित बन्यो । अहिले हामी आठ जना नर्स खटिरहेका छौं र चार जना हेल्पर छन् । दुई जना हेल्पर स्टेन्डबाई हुन्छन् ।

काममा भिज्दै गए डर हराउँछ

संक्रामक रोगसँग प्रत्यक्ष काम गर्दा सर्ने सम्भावना रहन्छ तर हामी सावधानी अपनाएरै काम गरिरहेका हुन्छौं । सुरुमा यहाँ सरुवा भएर आएको सुन्दा अरू अस्पतालका साथीहरूले तिमीलाई रोग सर्ने भयो है भनेर डर देखाउँथे । काममा भिज्दै गएपछि डर हराउने रहेछ ।

जोखिम टीबीको बिरामीको उपचारमा हुन्छ । मास्क लगाएरै काम गर्छौं । अहिले आइसोलेसन व्यवस्थित बनाएका छौं । सुरुमा त क्याबिन वार्डलाई आइसोलेसन बनाएका थियौं । कुनै पनि बिरामीलाई एक्लै बस्दा थुनिएको जस्तो हुन्छ । मनोबल घट्छ । एयरपोर्टबाट सीधै अस्पताल आएका हुन्थे, एयरपोर्टबाट आएको मान्छेलाई भोक लागेका बेला राति खाना दिन समस्या हुन्थ्यो । अहिले त्यस्तो समस्या छैन । बिस्कुट, चाउचाउ उपलब्ध हुन्छ ।

वार्डमा एउटा बाउन्ड्री छ । धेरै एक्सपोज नहुँदा हामी पीपीई लगाउँदैनौं । भित्र छिर्नुपर्ने अवस्था छ भने पीपीई लगाउनुपर्छ । धेरै एक्सपोज नहुने भन्ने हो । ज्वरो नाप्ने, अक्सिजन नाप्ने सिकाइदिन्छौं । औषधि वा खाना दिँदा राखिदिएर टेलिफोन मार्फत जानकारी गराउछौं । समय–समयमा केमिकल छर्किन्छौं ।


बिरामीलाई सम्झाउन गाह्रो

रिपोर्ट आउन समय लाग्छ । त्यति बेलासम्म बिरामी आत्तिने र रिसाउने गर्छन् । त्यति बेला हामी डिल गर्न सक्दैनौं । रिपोर्ट कुर्दा कुनै एकोहोरो भइसकेका हुन्छन्, डिप्रेसनमा गएको जस्तो । म यहाँ बस्दिनँ जान्छु भन्छन् । भित्र बसिराख्न गाह्रो छ उनीहरूलाई । रिपोर्ट के आउँछ भन्ने प्रेसर पनि भइराख्छ । वाइफाई पासवर्ड दिँदा न्युज हेर्छन् । अनेक भ्रामक समाचारले उनीहरूमा डर हुन्छ । जति केयर गर्दा पनि बुझ्नेले हामीले पालना गर्नुपर्छ भन्छन् । नबुझ्नेले हामीलाई थुनेर राख्नुभएको छ भनेर गुनासो गर्छन् ।

आशंका लागेकाहरूलाई एयरपोर्टबाट सीधै ल्याइएको हुन्छ । घरमा सम्पर्क गर्न कसैसँग सिम हुँदैन । सम्पर्क गर्न सक्दैनन् । एक्लै बस्नुपर्दा झ्याउ पनि लागिराखेको हुन्छ । कोही त विदेशबाट निश्चित समयका लागि आएका हुन्छन् । समय छैन, कतिसम्म यहीँ बस्ने भनेर कराउँछन् । ठीक भइसके जान दिनुस् भन्छन् तर रिपोर्ट नआईकन जान दिन मिल्दैन । एक जना भागे पनि । उनी मानसिक रोगी रहेछन् ।

खानेकुराको समस्या छ उनीहरूलाई । बिहान नास्ता तथा बिहान र रातिको खाना अस्तालले दिन्छ । दिउँसोको खाजाको समस्या छ । अस्पतालको खाना मीठो हुँदैन भनेर कतिपयले खानै खाँदैनन् । बोल्न खोज्दा डिस्टर्ब नगर भन्ने पनि हुन्छन् । घरमा खाएको जस्तो त कहाँ हुन्छ र !

संक्रामक भनेपछि प्रयोग गरिएको सामान फाल्नुपर्ने हुन्छ । कतिपयले यस्तोमा पनि खाने भनेर गुनासो गर्छन् । बाहिरबाट केही सामान किनेर ल्याइदिनुस् भन्छन् । ल्याइदिने पनि गरेको हो । अहिले त लकडाउनले सबैतिर बन्द हुन्छ । अस्पतालमा केही उपलब्ध भएको खानेकुरा दिन्छौं ।


जिम्मेवारी तोकिएपछि हट्न पाइन्न

हामी होस्टलमा बस्न थालेको एक साता भयो । अस्पताल परिसरको क्वार्टरमा हामी स्वास्थ्यकर्मी बस्छौं । घरमा कुराकानी गरिरहेकी हुन्छु । त्यसअघि घरै जान्थेँ तर कोठामा छुट्टै बस्थेँ । आइसोलेसनमा काम गरेर बाहिर आउँदा अरूलाई सारिएला कि भन्ने डरचाहिँ लाग्ने रहेछ । अरू कर्मचारी पनि सारिदेला कि भनेर डराउँछन् ।

हुन त सबैलाई त्यस्तै लाग्ने हो । बिरामीलाई खाना र औषधि दिँदा एकदेखि दुई घण्टासम्म लाग्छ । त्यति बेला पीपीई तथा मास्क लगाएर काम गर्दा उकुसमुकुस हुन्छ । बिरामी त्यति सिरियस अवस्थामा छैनन् । बार बनाइएको छ । त्यहीँबाट उनीहरूसँग कुरा गर्छौं ।

भित्र काम गरुन्जेल मनमा डरको कुरा आउँदैन । बाहिर निस्किएपछि समाचार हेर्दा भने अलि डर लाग्छ । मिलेसम्म नुहाएरै निस्किन्छौं । पीपीई दुरुपयोग गर्नु हुँदैन । पछि एकदम आवश्यक पर्न सक्छ ।

म कोरोनाबारे समाचार धेरै हेर्दिनँ । एकचोटि टेकुका बारेमा फेक न्युज पनि आयो । मलाई दिनभर तारन्तार फोन आयो । एकदुई जनालाई फेक हो पनि भनियो । तर कतिलाई भन्नु ! त्यो दिन त फोन नै उठाइनँ । त्यति बेला त मेन्टल टर्चर नै भयो । यस्तो समाचार पढ्दा तनावमै हुन्छौं । आइसोलेसन वार्डमा टेकुमा काम गर्छे भनेर कोहीले छुट्याएर पनि हेर्छन् । हामीले त आफ्नो कर्तव्य पूरा गरेको हो नि ।

हामी दिनमा छ घण्टा खटिनुपर्छ । संक्रमितलाई निको पार्ने भूमिकामा हामी पनि छौं । उनीहरू निको भएर जाँदा खुसी लाग्छ । काम र जिम्मेवारी तोकिएपछि हट्न पाइन्न । रोग आयो भनेर मनोबल घटाउने होइन, जुध्न सक्छु भनेर आफूलाई तयार राख्नुपर्छ ।

प्रकाशित : चैत्र २१, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?