२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पीपीईको नाममा गाउन बाँड्दै सरकार

भूषण यादव

वीरगन्ज — प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बिहीबार आफैं नारायणी अस्पताल पुगेर कोभिड १९ रोकथाम उपचारका लागि पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट(पीपीई) लगायतका सामग्री हस्तान्तरण गर्ने जानकारी पाएर यहाँका चिकित्सक हर्षित थिए । 

पीपीईको नाममा गाउन बाँड्दै सरकार

कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको नारायणी अस्पतालका चिकित्सक स्थानीय स्तरमै बनाइएको रेनकोट, गमबुट, टोपी, मास्क, ग्लोभ्स लगाएर सामान्य बिरामीलाई उपचार गरिरहेका छन् । किन कि शंकास्पद बिरामीको उपचारका लागि अस्पतालले खरिद गरेको एक सय ४० थान पीपीई सेट मध्ये अब ७० थान मात्र बाँकी छ ।


अपरान्ह मन्त्री सोनल, जिल्ला समन्वय समितिका अध्यक्ष नेक महम्मद अन्सारी लगायतको टोलीले अस्पतालको सभाकक्षमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायलाई संघीय सरकार मार्फत् प्रदेशमा आएका सामग्री हस्तान्तरण गरे ।


त्यसपछि वीरगन्ज चिनी कारखानास्थित सिदार्थ माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन अवलोकन गर्न पुगेका मन्त्री सोनलले सञ्चारकर्मीसँग कुरा गर्दै नारायणी अस्पताललाई ५० थान पीपीई सेट, २ सय थान ग्लोभ्स लगायतका सामान हस्तान्तरण गरेको बताए । कलैया अस्पताल, पर्सा र बारा जिल्लाका जनस्वास्थ्य कार्यालयलाई पनि पीपीई सेट लगायतका सामग्री हस्तान्तरण गरेको मन्त्री सोनलले जनाएका थिए ।


मन्त्री सोनलले पीपीई सेट हस्तान्तरण गरेको दाबी गरेपनि अस्पतालको हस्तान्तरण फारममा गाउन ४९ वटा, ४ सय ग्लोभ्स (२ सय थान), क्वारेन्टाइनमा प्रयोग हुने फर्म/फ्याबरिक २ सय थान लगायतका सामग्री मात्र छन् ।


अस्पतालका मेसु डा.उपाध्यायले पीपीई सेट हस्तान्तरण नगरिएको बताए । ‘गाउन, ग्लोभ्स, क्वारेन्टाइनमा प्रयोग हुने फर्म/फ्याबरिक लगायतका सामग्री प्रदेश सरकारले हस्तान्तरण गरेको छ,’ मेसु डा.उपाध्यायले भने, ‘पीपीई सेट हस्तान्तरण भएको हैन् ।’


पीपीई सेट लगायतका सामग्री बिहीवार मन्त्रीबाटै हस्तान्तरण हुने सूचना पाएर बिहान हर्षित भएका चिकित्सक अपरान्ह झुक्याइएको महसुस गरे । नेपाल चिकित्सक संघका केन्द्रीय सहसचिव निरज सिंहले पीपीईका नाममा सरकारले गाउन मात्र हस्तान्तरण गरेर भ्रम छरेको आरोप लगाए ।


‘फ्रन्ट लाइनमा काम गर्ने चिकित्सकले हो,’ नारायणी अस्पतालमा कार्यरत डा.सिंहले भने, ‘स्वास्थ्यकर्मीको मनोबल बढाउन सहि सामान दिनुको सट्टा सरकारले भ्रम छरेर स्वास्थ्यकर्मीलाई जोखिममा पार्न खोजेको छ ।’ उनका अनुसार उपचारको क्रममा चिकित्सकलाई कोभिड १९ सर्ने भनेको मूख्य रुपमा मुख र नाकबाट हो । ‘तर, सरकारले हस्तान्तरण गरेको सामग्रीमा एउटा पनि मास्क छैन् । सरकारले पीपीईको नाममा गाउन दिन्छ भनेर सोचेकै थिएनौँ,’ डा.सिंहले भने ।


नारायणी अस्पतालको हस्तान्तरण फारम ।


संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपूर्ति व्यवस्थापनको सम्बन्धमा १८ गते प्रकाशित गरेको विज्ञप्तिमा प्रत्येक प्रदेशका लागि एक हजार पीपीई सेट र अन्य स्वास्थ्य सामाग्रीहरु जस्तै मास्क, ग्लोभ्स, स्यानिटाइजर, चस्मा, भाइजरहरु वितरण गरि सकिएको उल्लेख गरेको छ ।


प्रदेशहरुले सम्बन्धित स्वास्थ्य संस्थाहरुको आवश्यकता बमोजिम यी सामाग्रीहरुको वितरण कार्य सुरु गरिसकेको विज्ञप्तिमा जनाइएको छ । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आपूर्ति प्रमुख डा.प्रमोद यादवले केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयले गाउन मात्र पठाएको खुलाए । ‘पीपीईको एउटा पार्ट मात्र हो गाउन,’ कान्तिपुरसँग फोनमा कुरा गर्दै डा.यादवले भने, ‘केन्द्र सरकारले गाउन पठाएको हो, पीपीई सेट पठाएको छैन् ।’


चिकित्सकका अनुसार पीपीई सेटमा शरीरलाई तलदेखि माथिसम्म ढाक्ने सेट, त्यसमाथि लगाउने गाउन, चश्मा, बुट, बुट कभर, एन९५ मास्क, ग्लोभ्स, टोपी, बायो हजार्ड ब्याग लगायतका सामान हुन्छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?