२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लकडाउनपछि २ सय ८६ कैदीबन्दी रिहा, ६६ जनाको सजाय मिनाहा गर्ने प्रस्ताव गृह मन्त्रालयमा

मातृका दाहाल

काठमाडौँ — सरकारले २ सय ८६ जना कैदीबन्दीलाई रिहा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन देशभर लकडाउन घोषणा भएपछि उनीहरूलाई विभिन्न कारागारबाट धरौटी लिएर रिहा गर्नुका साथै बालबन्दीलाई अदालतको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो । 

लकडाउनपछि २ सय ८६ कैदीबन्दी रिहा, ६६ जनाको सजाय मिनाहा गर्ने प्रस्ताव गृह मन्त्रालयमा

कारागार व्यवस्थापन विभागका अनुसार रिहा हुनेमा १ सय ७४ जना बालबन्दी र १ सय १२ जना एक वर्षभन्दा कम सजाय पाएका कैदी छन् । कैद मिनाहा हुनसक्ने बन्दीको विवरण पेस गर्न गत साता नै गृह मन्त्रालयले विभागलाई निर्देशन दिएको थियो ।


विभागका सूचना अधिकारी देवर्षी सापकोटाले ६५ वर्ष नाघेका ६६ जना कैदीलाई रिहा गर्न सकिने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाइएको बताए । कैद मिनाहा हुन मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ । देशभरका कारागारमा भएका बन्दीमध्ये रिहा गर्न मिल्नेहरूको विवरण संकलन हुने क्रममा रहेको उनले बताए । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बालसुधार गृहमा रहेका एक वर्षभन्दा कम सजाय बाँकी भएकाहरू अदालतको आदेशमा रिहा भएको र अन्य पनि त्यस्तै प्रकृतिका रहे आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छाडिने बताए ।


‘कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न कारागारमा बन्दीको चाप घटाउँदै लैजाने नीतिअनुसार १ सय ७४ बालबन्दीलाई अदालतकै रोहवरमा आफन्तको जिम्मा लगाइएको छ, एक वर्षभन्दा कम सजाय भएका १ सय १२ जना तोकिएको धरौटी बुझाएर छुटेका छन्,’ सापकोटाले कान्तिपुरसँग भने । बालसुधार गृहमा रहेका १८ वर्षमुनिका बन्दीलाई अदालतले बोलाएका बेला उपस्थित गराउने सर्तमा अविभावकको जिम्मा लगाइएको हो । अभिभावकले निवेदन दिएमा अदालतले धरौटी वा तारेखमा रिहा गर्नसक्छ ।


लागूऔषध, बलात्कार, मानव बेचविखन, भ्रष्टाचारलगायत कसुरमा जेल परेका बन्दीको सजाय छुट हुँदैन । त्यस्तै विदेशी नागरिकलाई पनि सजाय छुट गर्न नमिल्ने व्यवस्था छ । यद्यपि लकडाउनपछि छुटेका कैदी तथा बालबन्दी सुरक्षा र कारागार प्रशासनको निगरानीमै रहने उनले बताए ।

कैदकट्टा नियमावली २०७६, जेष्ठ नागरिकसम्बन्धी ऐन र कारागार ऐनअनुसार रिहा गर्न मिल्नेहरूको विवरण संकलन हुने क्रममा रहेको सापकोटाले बताए । देशभरका ७४ वटा कारागारमा २२ हजार ५ सय ६४ र ८ वटा बालसुधार गृहमा ८ सय ४७ बालबन्दी थिए । यीमध्येबाटै अभिभावकको निवेदनपछि केही बालबन्दी रिहा भएका हुन् ।


प्रकाशित : चैत्र २०, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?