सरकारलाई साथ दिनु भ्रष्टाचारलाई समर्थन गर्नु होइन : कांग्रेस प्रवक्ता शर्मा



काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको ढिलासुस्ती, लापरबाही, अनियमितता र भ्रष्टाचारलाई समर्थन गर्नु नरहेको प्रष्ट्याएका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शर्माले बिहीबार सार्वजनिक गरेको खुला पत्रमा भनेका छन, ‘सबै कमजोरीबारे प्रश्न उठाएर, तिनको निदान खोज्न घच्घच्याएर फेरिपनि सघाउनु संकटमुक्ति प्रतिको इमानदारिता हो ।’
मेडिकल सामाग्री खरिद प्रकृयामा भएको अनियमिताका विषयमा प्रतिपक्ष दल मौन रहेको टिकाटिप्पणी हुन थालेपछि शर्माले बिहीबार ‘प्रधानमन्त्रीलाई प्रतिपक्षी प्रवक्ताको प्रेमपत्र, समाधान कोरौ समाधी नखनौं’ शीर्षक दिएर खुला पत्र सार्वजनिक गरेका हुन् ।
उनले परीक्षण र उपचारमा गम्भीर लापरबाही भएको, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, परीक्षण कीट, भेन्टिलेटरलगायत अत्याआवश्यक सामाग्रीको प्रयाप्त जोहो नगरिनु सरकारको गैर जिम्मेवारी रहेको बताएका छन् ।
उनले बजार मूल्य भन्दा अत्याधिक रकम निकासा गराएर राज्य कोषको दुरुपयोग गरिनु, लकडाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी प्रकृया अवलम्बन नगरिने, विश्व स्वास्थ्य संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु गल्ती रहेको औंल्याएका छन् ।
‘सरकार, प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउॅमा उभिनु भनेको राजनीतिप्रति नागरिकको असन्तोषलाई न्यून गर्ने अवसर पनि हो’ उनले प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेका छन, ‘तर नागरिक पंतिबाट जब कात्रोमा पनि कमिसन भनेर प्रश्न आउॅछ, तब हामी नाजवाफ बन्छौं ।’
उनले प्रधानमन्त्रीसामु अहिले भएको अनियमिताबारे ढाकछोप गर्ने र त्यसको छिटा व्यहोर्ने वा देशको आग्रह सुेनर आरोपीहरुलाई पदमुक्त गर्दै अनुसन्धानलाई सघाउने गरी दुई विकल्प रहेको बताएका छन् ।
प्रकाशित : चैत्र २०, २०७६ १९:१७