कोरोनाको आशंकामा अस्पतालको गम्भीर लापरवाही : अस्पतालको ढोका चहार्दाचहार्दै गयो ज्यान 

मेसिनले खुट्टा काटिएका बिरामीलाई कोरोना संक्रमण देखिएको भन्दै वीरगन्जको नेसनल मेडिकल कलेजले रिफर गरिदिएपछि ६ वटा अस्पतालले उपचार गर्न मानेनन्, बिरामीको मृत्यु भयो तर कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ आयो ।
जनकराज सापकोटा

काठमाडौँ — चैत १४ गते शुक्रबार बाराको कलैया उपमहानगरपालिका २२, झोधा टोलका २५ वर्षीय विजय कुसवाह आँगनमा मुसुरो झार्दै थिए । दिउँसो त्यस्तै तीन बजेको थियो । थ्रेसरमा मुसुरो झार्दाझार्दै मेसिनको काँटीजस्ता दाँतीले उनका दुवै खुट्टा भेटिहाले । भलभल्ती रगत बग्यो ।

परिवारका सदस्यले उनलाई नजिकैको मेडिकलमा लगे । मेडिकलवालाले दुवै खुट्टामा ३३ वटा टाँका लगाइदिए ।


उक्त रात र भोलिपल्ट साँझसम्म उनलाई ठिकै थियो । साँझको खाना खाएपछि एक्कासि बान्ता भयो अनि चक्कर लागेजस्तो भयो । विजयको घरबाट दुई सय मिटरको दूरीमा बस्थे, उनका मामाका छोरा महेश कुसवाह । भाइलाई बिसन्चो भएको थाहा पाएपछि उनले एम्बुलेन्सको व्यवस्था गरे । उनी, विजयकी आमा र कान्छो भाइ राधा विजयलाई एम्बुलेन्समा राखेर वीरगन्जको नेसनल मेडिकल कलेज पुगे । बिरामीलाई इमर्जेन्सीमा भर्ना गराए ।


‘बाटोमा र अस्पताल पुर्‍याएको रातभर भाइलाई ठिकै थियो,’ महेशले सुनाए । उनका अनुसार भोलिपल्ट अर्थात् आइतबार बिहान विजयको ज्वरो ९९ थियो तर बिहानबाट सुक्खा खोकी र खकारमा रगतका थोप्ला पनि देखियो ।


उनले डाक्टरलाई यसबारे बताए । कफ सिरफ खुवाउनु भनेपछि त्यसै गरे । बिहान विजय आफैं उठेर दाँत माझे । भोक लाग्यो भनेपछि महेशले पाउरोटी, दूध र उसिनेको अण्डा किनेर खान थिए । अनि राधाले उनलाई एकैछिन वार्डभित्रै घुमाए । ९ बजेतिर राउन्डका डाक्टर आए । महेशले ती डाक्टरलाई पनि खोकीमा रगत देखिएको कुरा बताए । डाक्टरले छातीको एक्सरे गराउन भने ।


महेशका अनुसार एक्सरे गरेर फर्केपछि ९ बजेर ४५ मिनेटतिर विजयलाई श्वास फेर्न गाह्रो भयो । उनले स्टाफ नर्सलाई भनेर अक्सिजन लगाइदिए । ११ बजेतिर डाक्टरले एक्सरेको रिपोर्ट हेरेपछि रोगबारे केही भन्लान् र औषधि लेखिदेलान् भन्ने उनलाई लागेको थियो तर डाक्टरले उनीतिर हेर्दै हेरेनन् । महेशले सोधे, ‘के भएको हो डाक्टरसाप ?’ महेशका अनुसार डाक्टरले उल्टै सबै काम स्टाफ नर्सले गरिदिन्छन् भन्दै उनलाई फिर्ता पठाइदिए । धेरैबेरसम्म उपचारको कुनै प्रक्रिया सुरु नभएपछि उनले स्टाफ नर्सलाई सोधे । ती नर्सले त महेश नजिक पर्नेबित्तिकै पन्जा, मास्क र गाउन लगाउन थालिन् ।


उनले बारबार सोधेपछि ती नर्सले भनिन्, ‘तिम्रो बिरामीलाई कोरोना देखिएको छ । यहाँ उपचार हुँदैन । अन्तै लैजाऊ ।’ महेशका अनुसार यस्तो कुरा सुन्नेबित्तिकै विजय बेहोसजस्तो भए । भने, ‘त्यतिबेलै उसले तुरुक्क पिसाब पनि फेरेको थियो । पाइन्ट भिजेको देखिएको थियो । त्यसअघिसम्म विजय थोरै भए पनि बोल्थे । नर्सको कुरा सुनेपछि त उनको बोली र होस सँगै हरायो ।’


नर्सको कुरा सुनेर उनी पनि छक्क परे । विजय न वैदेशिक रोजगारीबाट फर्किएका थिए । न गाउँ छाडेर अन्यत्र कतै गएका थिए । उनी खेतीबारीको काममै व्यस्त थिए । थ्रेसरले खुट्टा काट्नुअघि कुनै बिमारी पनि भएका थिएनन् । नर्सले बिरामी तुरुन्तै लैजाऊ भनेर जबर्जस्ती गर्न थालेपछि उनी आत्तिए ।


उनले अस्पताललले निर्माण गरेको आइसोलेसन कक्षमा राखेर उपचार गर्न पनि अनुरोध गरे तर कसैले सुनेनन् । उनले आशा राखेर वीरगन्जका मेयर र अस्पतालका सुपरिन्टेन्डेन्टलाई पनि फोन गरे । आश्वासन पाए तर सुनवाइ भएन ।


नेसनल मेडिकल कलेजका मेडिकल सुपरिन्टेन्डेन प्रमोद सर्राफले कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएपछि डाक्टरहरूले सल्लाह गरेर जनस्वास्थ्य प्रयोगशाला टेकुमा रिफर गरिदिएको बताए । उनले तर्क गरे, ‘मैले त नारायणी अस्पतालमा राख्न सकिन्छ कि भनेर त्यहाँका मेडिकल सुपरिन्टेन्डेन्टलाई पनि फोन गरेको थिएँ तर उनीहरूले राख्दैनौं भने ।’


सर्राफले यस्तो बताए पनि बिरामीलाई च्याप्दै लगेको देखेपछि महेशले भाइलाई हतारहतार एम्बुलेन्समा राखेर नारायणी अस्पतालको इमर्जेन्सी कक्षभित्र पुर्‍याए । त्यतिखेर ५ बज्नै लागेको थियो । उनले नेसनल मेडिकल कलेजका डाक्टरले लेखिदिएको कागजात सबै देखाएपछि त्यहाँका डाक्टरहरूको अनुहारको रंग बदलियो । नेसनलले बिरामी पुर्जामा, कोरोको शंका देखिएको भन्दै टेकु अस्पतालमा रिफर भनेर लेखिदिएको थियो ।


त्यही पुर्जा हेरेपछि नारायणीका चिकित्सले पनि उनको उपचारमा आनाकानी देखाए । उनले आशाको त्यान्द्रो राखेर आफ्नो क्षेत्रका सांसद रामबाबु यादवसँग समस्या राखे । यादवले फोन पनि गरे तर अस्पतालले बिरामी राख्न मानेन । अस्पतालकै एक कर्मचारीले उनलाई वीरगन्ज हेल्थ केयर हस्पिटल लैजान सुझाए ।


महेशले हतारहतार भाइलाई हेल्थ केयर पुर्‍याए । त्यतिबेला ७ बजिसकेको थियो । एम्बुलेन्सबाट निकालेर इमर्जेन्सी वार्डको बेडमा विजयलाई सुताए । नर्ससँग भनेर अक्सिजन लगाइदिए । अनि नेसनलले दिएको पुर्जा देखाए । त्यसपछि त त्यहाँका नर्सहरूले पनि मुखामुख गर्न थाले । एकैछिनमा एक नर्सले भनिन्, ‘तपाईंको बिरामीको उपचार यहाँ हुन्न, लगिहाल्नुस् ।’ यस्तो भनेको केही बेरमा नर्सहरूले भाइको मुखबाट अक्सिजनको पाइप छुटाइदिए ।


उनले वीरगन्जकै गण्डक अस्पतालमा फोन घुमाए । आईसीयु छ कि छैन भनेर बुझे । अनि भाइलाई त्यतै दगुराए । त्यहाँ पुग्दा रातको साढे सात भइसकेको थियो । त्यहाँ पनि उनले बिरामी पुर्जा देखाए । अनि यसअघिका अस्पतालमा जस्तै नर्सहरूले एक–अर्काको मुख पल्याकपुलुक हेरे र उनको अनुहारतिर हेर्दै भने, ‘यहाँबाट लगिहाल्नुस् । यो बिमारीको उपचार यहाँ हुन्न ।’


एम्बुलेन्सबाट भाइलाई निकाल्नै नपाई अस्पतालले फर्काइदिएपछि उनले अनेकतिर फोन घुमाए । कसैले सल्लाह दियो, वीरगन्जकै बयोधा अस्पताल लानु । एम्बुलेन्स त्यतैतिर कुद्यो । रातिको ८ बजे उनले इमर्जेन्सी वार्डको बेडमा भाइलाई राखे र अक्सिजन लगाइदिए । जब नर्सहरू आएर नेसनलको पुर्जा हेरे, तब त्यहाँ पनि समस्या सुरु भइहाल्यो । महेशले भने, ‘पुर्जी हेरेको पाँच मिनेटमै बिरामीको अक्सिजन थुतिदिए र अन्तै लान दबाब दिए ।’


त्यतिबेलासम्म उनीहरूलाई ल्याएको एम्बुलेन्स फर्किसकेको थियो । अक्सिजनको समेत व्यवस्था भएको अर्को एम्बुलेन्स खोज्दाखोज्दै रातिको ८ बजेर ४० मिनेट गयो । काठमाडौं लगेर भए पनि छोरालाई बचाउनेमा उनीहरू दृढ थिए । साइरन बजाउँदै एम्बुलेन्स पथलैया, हेटौंडा भएर अगाडि बढ्यो । महेशले सुनाए, ‘फर्पिङ पुगेजस्तो लाग्छ । भाइको शरीर शिथिल भएर सासै फेर्न छोडेजस्तो देखियो । तैपनि आस मरेको थिएन ।’ उनको अनुमानमा त्यतिबेला रातको ११ बजिसकेको हुनुपर्छ । आसैआसमा महाराजगन्जको त्रिवि शिक्षण अस्पताल छिर्दा राति एक बजेको थियो । बिसेक बनाएर भाइलाई ल्याउँछौं भनी सम्झाएर महेश र राधाले आमालाई सोही एम्बुलेन्समा घर फर्काइदिए ।


महेशका अनुसार उनीहरू सिधै इर्मजेन्सी वार्डमा छिरे र नर्सलाई भने, ‘लौन यो बिमारीको सास छ कि छैन हेर्दिनुस् ।’ अस्पतालमा अलमलमै एक घण्टाजति बित्यो । त्यसपछि भने अस्पतालले विजयको ईसीजी गर्‍यो र ३ बजेतिर डाक्टरले मृत घोषणा गरिदिए । महेशले लख काटे, ‘पक्कै पनि बिरामीको सास फर्पिङतिरै गइसकेको हुनुपर्छ ।’ शिक्षण अस्पतालले दिएको पुर्जीमा पनि बाटोमै बिरामीको मृत्यु भएको उल्लेख छ ।


मृत्युपछि पनि समस्या भने चलिरह्यो । महेशका अनुसार कोरोना संक्रमण भएको भन्दै अस्पतालका कर्मचारीले शव छुन मानेनन् । सुनाए, ‘पाले दाइले चाबी दिएपछि मैले आफैं एउटा कोठाको ढोका खोलें । त्यो शव राख्ने कोठा रहेछ । पालेले भनेअनुसार मैले फ्रिज खोलेर भाइको शव राखें ।’ त्यसपछिका करिब तीन घण्टा महेश र राधा अस्पतालकै प्रागणमै टुक्रुक्क बसिरहे ।

६ बजेपछि अस्पतालका कर्मचारी आएर उनीहरू सम्भावित कोरोना संक्रमतिसँग आएको भन्दै अस्पतालकै क्वारेन्टनाइनमा बस्न भने । उनले भने, ‘भाइको मृत्युको दुःख छ । त्यही माथि हामीलाई पनि क्वारेन्टाइनमा हुलिदिए ।’ अघिल्लो साँझदेखिको अनिन्द्रा र भोकले उनीहरूलाई गालेको थियो । महेशले क्वारेन्टाइनमा बस्दा आफूले पानी पनि खान नपाएको सुनाए ।


९ बजेतिर अस्पतालका एक डाक्टर आएर उनीहरूसँग विस्तृतमा कुरा सोधे । त्यतिबेलासम्म अस्पतालले मृतकमा कोरोना संक्रमण भए–नभएको पुष्टि गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइसकेको थियो । महेशले भने, ‘ती डाक्टरले सबै कुरा सुनेपछि हामीलाई क्वारेन्टाइनबाट निकालिदिए ।’


शोक र भोकले गलेका उनीहरू नयाँ बसपार्कमा डेरा गरी बस्ने एक आफन्तको डेरामा गएर सुस्ताए । भोलिपल्ट अर्थात् १८ गते बिहानै उनीहरू अस्पताल पुगे । त्यस्तै आठ बजेतिर डाक्टरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मृतकको परीक्षणको नतिजा सुनाउँदै भने, ‘मृतकमा कोरोना पुष्टि भएन ।’


कोरोना पुष्टि नभएको खबरले भन्दा अस्पताललले छिछि र दूरदूर गरेकोमा उनीहरूको चित्त कुँडिएको थियो । त्योभन्दा पनि धेरै त त्यतिबेला मन कुँडियो, जतिबेला आमा फर्केको एम्बुलेन्सलाई हेटौंडाको भैंसेमा प्रहरीले रोकेको खबर सुने । कोरोना संक्रमण भएको बिरामी बोकेको एम्बुलेन्स हो भन्ने सूचना पाएर आमा चढेको एम्बुलेन्स प्रहरीले रोकेको रहेछ । महेशका अनुसार त्यहाँका प्रहरीले कतै पनि नओर्लिने सर्तमा गाडी छोडिदिछ । उक्त एम्बुलेन्स सोझै नारायणी उपक्षेत्रीय अस्पतालको आँगनमा पुगेर रोकियो तर कोरोना संक्रमितसँगै यात्रा गरेको भन्दा आमालाई एम्बुलेन्सबाट बाहिर निस्किनै दिएनछ । महेशले भने, ‘चार/पाँच घण्टा एम्बुलेन्समै थुनेर राखेछन् ।’


सोही दिउँसो अस्पतालका कर्मचारीले भनेअनुसार उनीहरूले महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट मृत्यु पुष्टि हुने पुलिस रिपोर्ट तयार पारे । एम्बुलेन्स खोजेर फर्किन आँट्दा ३ बजेको थियो । महेशले भने, ‘मंगलबार राति साढे ८ बजेतिर बजेतिर घर पुग्यौं ।’ सोही रात उनीहरूले नजिकैको टेङगर खोलामा विजयको दाहसंस्कार गरे ।


गत वर्षको जेठमा बिहे गरेका विजयकी श्रीमती अन्तिमा अहिले सात महिनाको गर्भवती छिन् । चार छोरामध्यको माइलो छोरा गुमाउँदा परिवार शोकमा छ । महेशले सुनाए, ‘कोही बोल्नसक्ने अवस्थामा छैनन् ।’


नेसनल मेडिकल कलेजले गरेको परीक्षण र त्रिवि शिक्षण अस्पताललले लेखिदिएको रिपोर्ट कान्तिपुरले केही चिकित्सकलाई देखाएको थियो । कान्तिपुरको सम्पर्कमा आएका ती चिकित्सकहरूले बिरामीमा खोकी देखिए पनि कोरोनाको संक्रमण हुने पुष्ट आधारहरू नेसनल मेडिकल कलेजले पुर्जीमा लेखेको देखिन्न । अस्पतालले गरेको जाँचमा बिरामीको सोडियम, पोटासियम र क्रेटेनिनको मात्रा पनि अस्वाभाविक देखिन्न । नेसनलले बिरामी पुर्जीको एक ठाउँमा चोटपटक लागेको उल्लेख गरेको छ । तर चोटका कारण स्थानीय मेडिकलमा टाँका मारिएको ठाउँबाट संक्रमण फैलिएको हो कि होइन भन्नेबारे उल्लेख नगरी कोरोनाको शंका गर्दै रिफर गर्ने काम गरेको छ ।


कान्तिपुरले विभिन्न डाक्टरसँग गरेको परामर्शमा सबैले घाउको संक्रमण फैलिएपछि हुने अवस्था ‘सेप्सिस’का कारण विजयको स्वास्थ्य अवस्था गम्भीर बनेको र समयमै उपचार नहुँदा मृत्यु भएको बताए ।


नेसनल मेडिकल कलेजले जिम्मेवारीबाट पन्छिँदै रिफर नगरिदिएको भए सायद विजयको मृत्यु हुने थिएन । अस्पतालको मेडिकल सुपरिन्टेन्डेन प्रमोद सरार्फले अस्पताल आउँदा बिरामीको अवस्था जोखिमयुक्त नरहेको स्विकारे । उनले भने, ‘हामीसँग आइसोलेसन वार्ड भए पनि स्वाब निकाल्ने प्रविधि नहुँदा र कोरोना संक्रमणको लक्षण मिल्दा चिकित्सकहरूले रिफर गर्ने निर्णय गरे ।’ रिफर गर्ने निर्णयको बचाउ गरेका सर्राफले बिरामीको मृत्यु भएपछि चौतर्फी कुरा उठेको भन्दै इमर्जेन्सी विभागका इन्चार्ज डा. मोहम्मद इस्लाम अन्सुरीसँग स्पष्टीकरण सोधिएको बताए ।


नेसनल मेडिकल कलेज विवादमा जोडिएका अनेकन घटनाको लामो इतिहास छ । गत मंसिर १ मा सम्पत्ति शुद्दीकरण विभागले भरतपुर र विराटनगरको सहित वीरगन्जको नेसनल मेडिकल कलेजमा पनि सम्पत्ति विवरण लुकाएको भन्दै छापा मारेको थियो । विद्यार्थीसँग सरकारले तोकभन्दा धेरै रकम असुलेको आरोप पनि यस अस्पतालमाथि लाग्दै आएको छ ।


विजयको मृत्युको घटनालगत्तै प्रदेश २ सरकारले १८ गते प्रदेशका आठै प्रमुख जिल्ला अधिकारीलाई निजी अस्पताल तथा नर्सिङ होमले सामान्य जाँच पनि नगरी बिरामी फर्काउनेलाई कार्वाही गर्न निर्देशन दिएको छ । उक्त निर्देशनमा भनिएको छ, ‘न्यूनतम व्यावसायिक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्वसमेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ होमलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कारवाही गर्नु ।’ प्रकाशित : चैत्र २०, २०७६ १९:०८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रहेनन् डकवर्थ लेविस नियमका एक जन्मदाता

एजेन्सी

एएफपी — ‘डकवर्थ लेविस नियम’ का जन्मदातामध्ये एक टोनी लेविसको बिहीबार निधन भएको छ । उनी ७८ वर्षका थिए । वर्षाले प्रभावित हुने वान डे खेलमा ‘डकवर्थ लेविस नियम’ लागू हुन्छ ।

लेविसले अर्का साथी गणितज्ञ फ्रायन्‍च डवकर्थसँग लिमेर सन् १९९७ मा यो नियमको विकास गरेका थिए । सन् १९९९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो नियम लागू गरेको थियो ।

यो नियम अहिलेसम्म पनि कायम छ । वेल्समा जन्मेका लेविस प्राज्ञिक गणितज्ञ थिए र सन् २०१० मा विश्व क्रिकेटमा उनले पुर्‍याएको सम्मानका लागि एबीई अवार्ड प्रदान गरिएको थियो ।

सन् १९९२ को विश्वकपको सिड्नीमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच भएको सेमिफाइनल वर्षाले प्रभावित भएपछि त्यति बेला असाधारण स्थिति तयार भएको थियो । त्यति बेलासम्म सबैभन्दा कम रन बनेको ओभर काटेर नयाँ जितको लक्ष्य तयार पार्ने नियम थियो ।

त्यस आधारमा एक समय १३ बलमा जितका लागि २२ रन बनाउनु पर्ने दक्षिण अफ्रिकाले खेल वर्षाले प्रभावित भएपछि एक बलमा २१ रन बनाउनु पर्ने नयाँ असम्भव लक्ष्य पाएको थियो ।

त्यही खेलपछि वान डे क्रिकेटमा खेल वर्षाले प्रभावित भएयता नयाँ नियमको आवश्यकता महसुस भएको थियो । त्यसै अनुसार लेविसले डकवर्थसँ मिलेर नयाँ शूत्र विकास गरे र यो नै पछि ‘डकवर्थ लेविस नियम’ नामले प्रसिद्ध भयो ।

प्रकाशित : चैत्र २०, २०७६ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×