कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मेडिकल किट लिन वायुसेवाको वाइडबडी चीन उड्यो

राति नै काठमाडौं आइपुग्ने
देवेन्द्र भट्टराई

काठमाडौँ — नेपाल वायुसेवा निगमको चार्टर्ड वाइडबडी ‘आरएनए ४१७१’ मेडिकल उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्री लिन चीनको ग्वान्जाओ उडेको छ।

मेडिकल किट लिन वायुसेवाको वाइडबडी चीन उड्यो

फैलँदो कोरोना संक्रमणमाझ तत्काल आवश्यक मेडिकल उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्री लिन निजी क्षेत्रका व्यवसायीको तत्परतामा विमान चीनतर्फ लागेको हो। अन्तर्राष्ट्रिय कार्गो व्यवसायमा चिनिएको फ्ल्यास फ्रेइट लजिष्टिक प्राइभेट लिमिटेडको संयोजनमा काठमाडौंका अस्पताल ट्रेडिङ सेन्टर, मेडिकल पसलसहित २० भन्दा बढी समूहले मेडिकल सामग्री मगाएका छन्। यो चार्टर्ड उडानमा मेडिकल किट्स, पन्जा, टेस्टिङ किट्स, आईआर थर्मोमिटर, मास्क, पीपीईसहित ३० टनभन्दा बढी सामान बिहीबार राति नै काठमाडौं आइपुग्नेछ।


चीनबाट आउने मेडिकल सामग्री, परीक्षण उपकरण आदि गुणस्तरीय नभएको भन्दै स्पेन, चेक गणतन्त्र जस्ता मुलुकमा चिनियाँ सामग्री बहिष्कार गरिएको हालैको घटनालगत्तै नेपाल सरकारले पनि बुधबार मात्रै ‘यस्ता गुणस्तरहीन मेडिकल सामग्रीको उपयोग गर्न नसकिने’ जनाइसकेको छ। नेपाल सरकारले चीनबाट सोमबार मात्रै किनेर ल्याएको १० टनभन्दा बढी मेडिकल सामग्री गुणस्तरहीन भनेर प्रमाणित भएपछि ओम्नी समूहसँगको खरिद सम्झौता रद्द भइसकेको छ।


‘हामीले लजिष्टिक, कार्गो संयोजन गर्ने मात्रै हो,’ फ्ल्यास फ्रेइट लजिष्टिककी महाप्रबन्धक अरुणा सिग्देलले भनिन्, ‘स्वास्थ्य सेवाको संवेदनशील विषयमा आवश्यक सामग्री खरिद गर्ने पार्टीले यसको गुणस्तर र उपयोगिता आफैं पहिल्याउनुपर्ने हुन्छ, हामीले गुणस्तर मापन गर्न मिल्दैन।’


महाप्रबन्धक सिग्देलका अनुसार, बिहीबार आउन लागेको मेडिकल सामग्रीमा तत्काल आवश्यक देखिएको स्वास्थ्य सुरक्षा एवं मेडिकल उपकरण रहेका छन्। ‘हामीले कुनै नाफाघाटाभन्दा पनि हाम्रो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो काम गर्न लागेका हौं, राज्यलाई आइपरेको कठिनाइको घडीमा सकेको सहयोग गर्न चाहेका हौं,' उनले थपिन्।


निगमको बजार प्रबन्ध शाखाका अनुसार, यसरी चार्टर्ड सेवा उपलब्ध गराउँदा प्रतिघन्टा १७ हजार डलर शुल्क बुझाउनुपर्ने हुन्छ। यो हिसाबमा दोहोरो उडानमा चार्टर्ड सेवा लिन चाहनेले काठमाडौं–ग्वान्जाओ उडानमा झन्डै २ करोड रुपैंया तिर्नुपर्ने हुन्छ। नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको वायुसेवाको चार्टर्ड उडान अनुमतिपत्रअनुसार क्याप्टेन समजकुमार श्रेष्ठ उडानमा गएका छन्।

यो पनि पढ्नुहोस्ः

निजी क्षेत्रको चार्टरमा मेडिकल किट ल्याइँदै

प्रकाशित : चैत्र २०, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?