गाडी चढ्न ठेलमठेल गर्छन् वीरका कर्मचारी 

एउटै गाडीमा ५० जनासम्म कोचिन्छ, कोरोना संक्रमणबाट बच्न कम्तीमा एक मिटरको दूरी बनाउनुपर्ने भनिए पनि सिट पाउन तँछाडमछाड हुन्छ
फातिमा बानु

काठमाडौँ — भीड गर्दा कोराना भाइरसको उच्च जोखिम हुन्छ भनिरहँदा वीर अस्पतालले एउटै गाडीमा ५० जनासम्म कर्मचारी कोचेर ओसारपसार गरिरहेको छ । बिरामीको आवतजावत कम हुँदा पनि अस्पतालले सबै कर्मचारीलाई बोलाएर जोखिम बढाइरहेको छ । 

गाडी चढ्न ठेलमठेल गर्छन् वीरका कर्मचारी 

बुधबार दिउँसो तीन बजे वीर अस्पताल पुग्दा बिहानको सिफ्टका कर्मचारी झोला बोकेर घर जान तम्तयार थिए । एकैछिनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सको) बस कर्मचारी लिन मूलगेटतिर आइपुग्यो । सिट पाइँदैन भन्दै कर्मचारी बसको ढोकातिर थुप्रिन थाले । संक्रमणको जोखिम कम गर्न कम्तीमा एक मिटर दूरी कायम गरौं भन्ने विज्ञको सल्लाह त्यहाँ स्वास्थ्यकर्मीले नै पालना गरेनन् ।

सबैजना बसको ढोका कतिखेर खुल्छ र भित्र पसेर सिट कब्जा गरौंला भन्ने मुडमा थिए । उनीहरू निकैबेर एकआपसमा टाँसिएर होहल्ला गरे । यसैबीच वीर अस्पतालको आईसीयूमा खटिने एक स्वास्थ्यकर्मीले भनिन्, ‘बिरामी नै नआउने अस्पतालमा किन यति धेरै कर्मचारी बोलाएर दुःख दिएको होला ? अस्पताल आएर न कुनै काम गरियो, बेकारको सास्ती मात्रै ।’




आफू अस्पताल आएर जाखिम मोल्नुपरेकोमा भन्दा पनि संक्रमित भएर परिवारका सदस्यलाई सारिन्छ कि भन्ने उनको चिन्ता थियो । जोखिमको बेला काम गर्ने कर्मचारीलाई घर पठाउनुभन्दा अस्पतालमै बस्ने व्यवस्था मिलाइदिए हुने उनले बताइन् ।

त्यही भीडबाट अर्का स्वास्थ्यकर्मीले भनिन्, ‘इमर्जेन्सीमा खटिनुपर्छ, सुरक्षा सामग्री पनि दिँदैनन्, एउटा मास्क तीन दिन पुर्‍याउनु भनेका छन् ।’ घरमा भएका बालबालिकालाई भाइरस सार्छु कि भन्ने चिन्ता लाग्ने उनले बताइन् ।


घरमा किन आइसोलेट भएर नबसेको त भन्ने प्रश्नमा उनले भनिन्, ‘पकाउने मान्छे छैन, बच्चा स्याहार्ने मान्छे छैन । अलग्गै बसेँ भने उनीहरू भोकै हुन्छन् । के गर्नु ?’

घुइँचो लाग्ने बसमा चढ्नुभन्दा हिँडेरै घर पुग्ने गरेको अर्का स्वास्थ्यकर्मीले बताए । ‘हिँडेर जाँदा पनि काँ सुख छ र ? बाटोमा प्रहरीले किचिकिच गर्छन्, अस्पतालको कार्ड देखाउँदा पनि मान्दैनन् ।’ दैनिक अस्पताल प्रशासनमा गएर केही दिनको बिदा माग्ने गरे पनि आउनैपर्ने बाध्यकारी भनिएको उनले बताए । उनी अस्पतालको ज्वरो क्लिनिकमा खटिन्छन् ।




‘भाइरस सर्‍यो कि भनेर मनमा डर पसिरहन्छ,’ उनले भने, ‘कि सुरक्षित ढंगले घर पुर्‍याए हुन्थ्यो, कि अस्पतालमै राखे हुन्थ्यो हामीलाई ।’ सरकारले लकडाउन घोषणा गरेदेखि वीर अस्पतालको ओपीडीमा न्यून बिरामी आउँछन् । आकस्मिकबाहेक शल्यक्रिया हुँदैन । बिरामीको आवतजावत न्यून छ ।


लकडाउनको पहिलो दिन ३३ जना आएको अस्पतालमा नवौं दिन बुधबार २५ जना आए । न्यून बिरामी आइरहेको बेला सबै स्वास्थ्यकर्मीलाई अस्पताल बोलाएर संक्रमणको जोखिम मोल्न नहुने उनीहरूले बताए । ‘अस्पतालमा कोही स्वास्थ्यकर्मी संक्रमित भैहाल्यो भने भोलि सबै स्वास्थ्यकर्मी जोखिममा पर्छन्,’ एक कर्मचारीले भने, ‘ती सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ला, त्यतिबेला काम गर्नुपर्ने कर्मचारीको खडेरी हुन सक्छ ।’ आधा कर्मचारी बिदामा राखेर संक्रमणको जोखिम कम गर्नुपर्ने उनले बताए ।


मन्त्रालयले कुनै पनि कर्मचारी बिदामा नराख्न निर्देशन दिएकाले सबै कर्मचारी बोलाउनुपरेको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । ‘बिरामी आउँदैनन्, तैपनि स्वास्थ्यकर्मी आइरहेका छन्,’ उनले भने, ‘अत्यावश्यक बाहेक अन्य कुनै बिदा छैन ।’ अस्पतालमा तीनवटा मात्रै स्टफ बस भएकले कोचेरै ओसार्नुपरेको उनले बताए । त्यो भीडमा कुनै एक जना मात्रै कर्मचारी संक्रमित भए बर्बादै हुने स्थिति भएको उनले स्वीकारे ।


‘सुरक्षा सामग्री सीमित छ, कसलाई दिऊँ, कसलाई नदिऊँ,’ उनले भने, ‘चीनबाट आएको पीपीई हाम्रो हातमा परेको छैन, कहिले कता, कहिले कता मागेर काम चलाइरहेका छौं ।’

प्रकाशित : चैत्र १९, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?