हुम्लामा खाद्यान्‍न ढुवानी थालियो

बुधबार मात्रै चार वटा उडानबाट ५६ क्विन्टल चामल सिमकोट लगिएको छ । बिहीबारदेखि नियमितरुपमा खाद्यान्न ढुवानी हुनेछ ।
छपाल लामा

हुम्ला — कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ का कारण खाद्यान्न अभाव हुन थालेपछि ढुवानी थालिएको छ । सीता एयरले बुधबारदेखि ढुवानी गर्न सुरु गरेको हो ।

हुम्लामा खाद्यान्‍न ढुवानी थालियो

बुधबार चार वटा उडानबाट ५६ क्विन्टल चामल हुम्ला सदरमुकाम सिमकोट लगिएको छ । नेपाल खाद्य संस्थानका जिल्ला शाखा प्रमुख रामबहादुर विष्टले बिहीबारदेखि नियमितरुपमा खाद्यान्न ढुवानी गरिने बताए । उनका अनुसार अहिले सिमकोटस्थित संस्थानको गोदाममा दुई हजार नौ सय क्विन्टल चामल मौज्दात छ ।


त्यस्तै, सर्केगाडस्थित डिपोमा दुई सय १० क्विन्टल, श्रीनगरस्थित गोदाममा तीन सय २० क्विन्टल चामल मौज्दात राखिएको छ । चंखेलीको देउलीस्थित डिपोको लागि तीन सय ५० क्विन्टल चामल केही दिनमा खच्चडबाट ल्याइने उनले बताए ।


राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लामा खाद्यान्न, औषधि र अन्य उपभोग्य सामग्री जहाजबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले आपूर्ति मन्त्रीको निर्देशनमा ढुवानी सुरु गरिएको जानकारी दिइन् ।


यसपटक आपूर्ति गरिएको खाद्यान्न जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका बासिन्दाले उपभोग गर्नेछन् । दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोटको लागि हेलिकोप्टर प्रयोग गरेर खाद्यान्न ढुवानी गर्ने तयारी भइरहेको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?