क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्ने

जगदीश्वर पण्डे

काठमाडौँ — कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न केन्द्रीय सरकारबाट एकपछि अर्को निर्णय हुने तर त्यसको कार्यान्वयन फितलो भएपछि अब एकीकृत रुपमा कोभिड–१९ म्यानेजमेन्ट सेन्टर–अपरेसनबाट सम्पूर्ण कार्यान्वयनका कामहरु हुने भएको छ । 

क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्ने

उक्त सेन्टरबाट केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म निजामति, सुरक्षा निकाय र सबै सरोकारवालाहरुको संयुक्त समूहहरुमार्फत कोरोना भाइरसविरुद्ध एकिकृत रुपमा सबै प्रकारका प्रतिकार्यहरु संचालन गरिने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कान्तिपुरलाई जानकारी दिए ।


मन्त्रिपरिषद्को चैत १६ को निर्णय अनुसार कोरोना भाइरसविरुद्धको प्रतिकार्य गर्नको लागि उच्च स्तरीय निर्देशक समिति गठन गरिएको थियो । उक्त समितिको निर्णयहरुलाई सहजिकरण समिति अन्तरगत रही प्रतिकार्यलाई प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्नको लागि सेन्टरको स्थापना गरिएको हो ।


छाउनीस्थित सेनाको महावीर गण (रेञ्जर) को हाताभित्र प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा नेपाली सेनाको प्रबन्ध रथी तथा स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रतिनिधिहरुको समन्वयकारी भूमिका रहने गरी सेन्टरको स्थापना गरिएको छ।


उपप्रधान एवं रक्षामन्त्री ईश्‍र पोखरेलले बुधबार उक्त सेन्टरको भ्रमण गरे । भ्रमणको दौरान पोखरेलले उक्त केन्द्रद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी गरिएको तयारी, प्रगती प्रतिवेदन लगायत भावी योजना सम्बन्धमा जानकारी दिएका थिए । सेन्टरले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि व्यक्तिहरुको ट्याक, ट्रेसिङ र टेष्टिङ गर्ने, क्वारेन्टाइन, आइसोलेसन र ट्रिटमेन्ट गर्ने गर्छ ।


यस्तै, आवश्यकता अनुसार मृतकको शव व्यवस्थापन गर्ने लगायत सेन्टरले केन्द्रदेखि स्थानीय स्तरसम्म एउटै चेन अफ कमान्ड स्थापना गरी प्रशासनिक चुस्तता हासिल गर्दै द्रूत गतिमा प्रतिकार्य गर्ने, स्रोत र साधनको सिमिततालाई मध्यनजर राख्नु सेन्टरको जिम्मेवारी हो ।


सेन्टरले केन्द्रीकृत नियन्त्रण र विकेन्द्रिकृत कार्यान्वयन मार्फत स्रोत साधनको अत्युतम उपयोग यकिन गर्ने, नेपालमा कोरोना भाइरसको अवस्था र स्टेजहरुको मुल्याकंन र सुक्ष्म अनुगमन गर्दै आवश्यक रणनीति र कार्यनीति तर्जुमा गर्ने जस्ता अवधारणा अनुरुप कार्य संचालन गरिने रहेको सेन्टरले जनाएको छ ।


उक्त सेन्टरद्वारा मूलभूत रुपमा स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ती सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य र सूचना तथा प्रविधि कार्य जस्ता चार स्ट्रिमहरुमा आफ्नो कार्य केन्द्रित गर्ने छ। साथै उक्त सेन्टरले केन्द्रद्धारा हालसम्म कोभिड–१९ सेन्टरको कार्यालय स्थापना, प्रारम्भीक सूचना प्रणालीको विकास, अत्यावश्यक जनशक्तिको व्यवस्थापन र स्थायी कार्यविधिहरुको मस्यौदा विकास गर्ने कार्य सम्पन्न भइसकेको केन्द्रले जनाएको छ

प्रकाशित : चैत्र १९, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?